२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनी केबलकारसँग पर्यटन प्रवद्र्धन सम्झौता

शनिवार , चैत्र २४, २०८०

बुटवल, २४ चैत । 
लुम्बिनी केबलकार लि. र कबिर अटोमोबाइल्सबीच पर्यटन प्रवद्र्धनसम्बन्धी सम्झौता भएको छ । कबिर अटोमाइल्सले लिभगार्ड इन्भर्टर ब्याट्री खरिद गर्ने आफ्ना ग्राहकलाई लुम्बिनी केबलकारको दुईतर्फी टिकट र बसन्तपुरको रेष्टुरेण्टको खाजा कुपन दिने गरी सम्झौता भएको हो ।

शनिबार केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ र कबिर अटोमाइल्सका सञ्चालक सरदार भोला सिंहले सम्झौतापत्र आदानप्रदान गरेका छन् ।

सो अवसरमा बोल्दै केबलकारका अपरेसन म्यानेजर कायस्थले कम्पनीले होटेल तथा पर्यटन व्यवसायीसँग मात्र नभइ अन्य क्षेत्रका व्यवसायीसँग पनि यस्तो सम्झौता गरिरहेको बताए । यसले दुवै पक्षको व्यवसाय प्रवद्र्धनमा टेवा पुग्ने कायस्थले बताए । कबिर अटोमाइल्सका सञ्चालक सिंहले आफ्ना ग्राहकलाई इन्भर्टर ब्याट्री खरिदमा नियम अनुसार पाउने छुटसहित केबलकारको टिकट उपहारको रुपमा दिने गरी २०८१ वैशाख १ गतेदेखि असार मसान्तसम्मका लागि यो सम्झौता गरेको बताए ।

सम्झौता अनुसार कबिरमा इन्भर्टर ब्याट्री खरिद गरेका ग्राहकले केबलकारको दुईतर्फी यात्रा र टप स्टेशन बसन्तपुरमा रहेको रेष्टुरेण्टमा कोल्ड ड्रिङक तथा कम्बो खाजा सेट निःशुल्क पाउनेछन् ।

प्रदेशको पहिलो लुम्बिनी केबलकारको प्रवद्र्धन गर्नु यहाँका हरेक क्षेत्रका व्यवसायीको दायित्व भएकाले आफूले यो अफर ल्याएको सिंहले बताए । कबिर अटोमाइल्सका बुटवल, भैरहवा, चन्द्रौटा, तौलिहवा, चितवन लगायतका सबै शाखामा इन्भर्टर खरिद गर्ने ग्राहका लागि यो अफर लागू हुने उनले बताए ।

इन्भर्टर ब्याट्रीको व्यवसायमा कबिर अटोमोबाइल्स नेपालको टप थ्री व्यवसायिक प्रतिष्ठान भएको सिंहले बताए । सो अवसरमा केबलकार कम्पनीका म्यानेजर प्रज्ज्वल घिमिरे, विभागीय प्रमुखहरु नवराज अधिकारी, रुपेश पौडेल, देउबहादुर चन्द, गायक बसन्त श्रेष्ठ लगायतले बोल्दै केबलकारको दीगो सञ्चालनले बुटवल र आसपासको क्षेत्रको अर्थतन्त्र र व्यवसाय चलायमान बनाउन टेवा पुग्ने धारणा राखे ।