images

मंगलवार, बैशाख १८ गते २०८१

भैरहवा : सुन्दर सपनाको शहर

भैरहवा : सुन्दर सपनाको शहर

images
images
images
सोमवार, बैशाख ३ २०८१
सोमवार, बैशाख ३ २०८१
  • भैरहवा : सुन्दर सपनाको शहर

    एउटा इतिहास बोकेको शहर भैरहवा, भगवान गौतमबुद्धको बाल्यकालको नाम सिद्धार्थबाट नामाकरण भएको सिद्धार्थनगर यानि कि भैरहवा, रुपन्देही जिल्लाको सदरमुकाम भैरहवा । भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वारको रुपमा परिचित भैरहवा, देशको प्रमुख नाका बेलहिया भएको भैरहवा, सानो चिटिक्क परेको सरलक्क मिलेको, गाउँ, बजार हुँदै शहर बनेको भैरहवा ।

    images

    कुनै समय थियो शहरीयाहरुले भैरहवालाई हेर्ने नजरिया देहाती एरिया, मच्छरको शहर, अत्याधिक गर्मी हुने ठाउँ, सुन्दै नाक खुम्चने तर आज बल्ल भैरहवा : भैरहवा बन्दैछ, सबैको हेर्ने नजरिया फेर्दैछ । नाक खुम्च्याउनेहरु पनि यतै झर्दै छन्, घडेरी किन्दैछन्, रोजगार खोज्न यहाँ आउँदैछन् । एक रात भैरहवामा पनि बिताउ न भन्दैछन् । आहा १ कति राम्रो भएको भन्दैछन् । भैरहवा शिक्षा, स्वास्थ्य, रोजगारका क्षेत्रमा, सडक विस्तार र स्तरउन्नतिको क्षेत्रमा निरन्तर अगाडी बढिरहेको छ । मधेशी, पहाडी समुदाय, विभिन्न जातजाती, धर्म संस्कृति र परम्परा भएका व्यक्तिहरुको बसोबास भएको यो भैरहवामा कुनै खालको आपसी द्वन्द्व छैन, कुनै बैरभाव छैन, कुनै लडाई झगडा छैन । यसलाई सबैले राम्रो मानेका छन् । कुनै बेला आफ्ना मागहरु राख्दै आन्दोलन गरिदा र देशले नाकाबन्दीको सामना गर्दा पनि देशलाई अत्यावश्यक वस्तुहरुको सहज तरिकाबाट पु¥याउन यहाँका सबै समुदाय मिलेर गरेको कार्य नै भैरहवाको उदाहरण हो ।

    नेपालको दक्षिणी क्षेत्रमा रहेको यो भैरहवा (सिद्धार्थनगर नगरपालिका) सानो छ, यसका आन्तरिक आम्दानीका स्रोतहरु पनि कम नै छ, यहाँ खोला, वनजंगल जस्ता क्षेत्रहरु करिब करिब छैन नै भन्दा हुन्छ । यी सबै कुराहरुका बाबजुद अब भैरहवा सुन्दर, सफा र फूलैफूलको शहर बन्दैछ भन्ने हामी सबै भैरहवाबासीलाई लागेको नै छ । यहाँका सबै राजनीतिक दल, पालिका, वडाअध्यक्ष, र सदस्यहरु दत्तचित्त भएर यो नगर विकासमा लागेको देखिन्छ । आज भन्दा १० वर्ष पहिलेको भैरहवा र अहिलेको भैरहवा धेरै सकारात्मक परिवर्तनहरु देख्न सकिन्छ ।

    विकास गर्दै जाँदा अवश्य पनि त्यहाँ चुनौतिहरु पनि एकपछि अर्को गरी आइरहेका छन्, जस्तो फोहरको समस्या । भैरहवाको सवैभन्दा चुनौति भनेको फोहर हो जस्तो लाग्छ, नगरभित्र प्रयाप्त जमिन छैन, बाहिर फाल्न अरुले दिँदैनन्, दैनिक करिब २०–३० टन फोहर संकलन हुने गरको छ । तर, त्यसको व्यवस्थापन अस्थायी तरिकाले गरिदै आएको छ । जसले गर्दा त्यस वरपरका वस्तीहरुमा स्वास्थ्य समस्याहरु देखिन थालेका छन् । फोहरहरु डण्डाका पानीमा मिसिदा समग्र डण्डा नदी नै दुषित हुने देखिएको छ । सँगै रहेको पक्लिहवा कृषि क्याम्पसमा समेत त्यसका असरहरु नदेखिएला भन्न सकिदैन । त्यसैले यसमा संघीय सरकारसँगकै समन्वयमा भए पनि फोहरलाई व्यवस्थित गर्न पहिलो पहल कदम चाल्नुपर्नेछ । सिद्धार्थनगरको विकासको आधारलाई पूरा गर्ने महत्वपूर्ण भुमिका भनेको एसियाली विकास बैंक (एडीबी) ले गरेको छ । नगरसँगको सहकार्यमा नगरका भित्री सडकहरुलाई मापदण्ड पूरा गरी पीच गर्ने काम हुँदैछ, अब त्यसको दुवैतर्फको नालाहरुको व्यवस्थापन गरी उचित निकास गर्न सकियो भने अझ राम्रो देखिने कुरामा दुईमत छैन ।

    बुटवल–भैरहवा सडकको दाँयाबाँया रहेका हरियाली बोटविरुवाहरुको संरक्षण, बुद्धचोकमा जस्तै देवकोटा चोक, आँखा अस्पताल, बेलहिया तथा भित्रतर्फका बाटाहरु, गल्लामण्डी हुँदै एयरपोर्ट, नारायणपथ, मिलनचोक, विद्रोहीचोक जस्ता ठाउँहरुमा पनि सार्वजनिक शौचालयको व्यवस्थापन गर्नुपर्ने देखिन्छ । विशेष आर्थिक क्षेत्र (सेज) मा देखिएको समस्या जस्तै विद्युत लगायतका कुराहरुलाई सम्बन्धित निकायमा पहल गरी समाधान गर्दा र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, एकीकृत भन्सार जाँच चौकी (आईसीपी) तथा सिद्धार्थ क्रिकेट रंगशालामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरु छिटो भन्दा छिटो सञ्चालन गर्न सकिएको खण्डमा यस क्षेत्रको आर्थिक गतिविधि बढ्न गई नगरको विकासमा त्यसले महत्वपूर्ण कडीको रुपमा काम गर्ने देखिन्छ । नगर र नगरबासीले कल्पना गरेको डण्डा खोला करिडोर निर्माण र त्यसका क्षेत्रमा बनाइने पार्क, व्यवस्थित मेडिटेशन सेन्टर, साईकल लेन आदिले भैरहवाको सुन्दरतालाई निखार ल्याउने कुरामा कुनै दुविधा रहदैन ।

    अन्त्यमा, जिल्लाको सदरमुकाम भएकाले पनि भैरहवा (सिद्धार्थनगर) एउटा नमूना शहर बन्नुपर्छ । यसका लागि सिद्धार्थनगर नगरपालिकाको महत्वपूर्ण भूमिका हुन्छ । नगरसँग प्रयाप्त स्थानीय स्रोत छैन । तर, दृढ इच्छाशक्ति भएमा भैरहवालाई सुन्दर बनाउनका लागि त्यति नयाँ गर्नुपर्ने पनि देखिदैन । भएका भवनको संरचनाहरुको उचित प्रयोग, भएका पार्कहरुको व्यवस्थापन, बाटाघाटाहरुको सही उपयोग, बजारको निश्चित क्षेत्रहरुमा पार्किङ्ग, डण्डा नदीको लागि देखिएको सपना र त्यसको गुरुयोजनासहितको निर्माण कार्य, हरेक सडकमा दुवैपट्टी फूलहरु, सीमा क्षेत्र बेलहियालाई व्यवस्थित, दैनिक हुने फोहोरको उचित व्यवस्थापन, सार्वजनिक सम्पत्तिहरुको उचित रेखदेख, शिक्षा र स्वास्थ्यका लागि नियामक निकायको उचित निरीक्षण गर्न सके भैरहवा साँच्चै सुन्दर सपनाको शहर हुन पक्कै पनि कसैले पनि रोक्न सक्दैन ।

    नगरको विकासका लागि नगरभित्रका दक्ष व्यक्तिहरुसँग सल्लाह–सुझावहरु संकलन गर्ने, पुराना, अनुभवी र नयाँ जोस र प्रविधिमा सक्षम भएका सबैको उचित सल्लाहले योजनालाई अगाडी बढाउँदा पक्कै पनि केही सकारात्मक लक्षणहरु देखा पर्छन् । कुन पार्टी, कुन समुदाय, कुन धर्म, कुन जातको ? भन्ने भावलाई सकारात्मक तरिकाले मेरो भैरहवा, हाम्रो भैरहवा राम्रो भैरहवा भनी सबै यसको विकासमा हातेमालो गर्ने गरेमा यो ऐतिहासिक भैरहवा सधै सबैको सपना बन्न सक्छ । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij