रुपन्देही, १२ वैशाख ।
लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले सिद्धबाबा मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न गुरुयोजना आवश्यक रहेको बताएका छन् । तिनाउ नदीमा जलासय निर्माण गरी जलासयमा आरतीको व्यवस्था मिलाउन सकिने सम्भावना रहेको उनले बताए ।
सिद्धबाबा मन्दिर बिकास समितिको आयोजनामा सामूहिक चौरासी पूजा महोत्सवको शुभारम्भ गर्दै उनले भने, ‘यहाँ धार्मिक पर्यटक भित्र्याउन सकिने आधार तयार भएको छ । सिद्धबाबा धाम क्षेत्रको बिकासले पाल्पाको मात्र होइन्, सिंगो प्रदेशकै विकासमा टेवा पुर्याउने छ ।’ उनले नजिकैको रामापिथेकस, तिनाउ ड्याम झरना, तिनाउ नदी किनारमा ट्रेकिङ रुट जोडेर बृहत गुरुयोजना बनाउन आवश्यक रहेको जनाए ।
समितिले मन्दिर परिसरमा शिशु स्तनपान कक्ष सञ्चालन गरेको छ । त्यसै गरी कालीगण्डकीबाट ल्याइएको शालिग्राम दर्शनको लागि व्यवस्था गरिएको समितिका अध्यक्ष सन्तोषलाल शेरचनले जानकारी दिए । सन्तानेश्व धामका संरक्षक एवं धर्मगुरु किशोर गौतमले कालीगण्डकीको शालिग्राम सिद्धबाबा मन्दिरमा प्राणप्रतिष्ठा गरे । उनले चिल्ड्रेन पार्क, सिद्ध गुफामा जाने सिढीं निर्माण, भक्तजन आश्रम स्थल आदि गुरुयोजना बनाएर काम गर्ने बताए ।
तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले सिद्धबाबा पाल्पाको हरि गुरुद्वार नै रहेको जनाए । समितिका सदस्य एवं चौरासी पुजा कार्यक्रम संयोजक गोपाल बस्यालले समितिले नै खर्च गरी चौरासी पूजा गरिएको जानकारी दिए । आर्थिक अभावमा उमेर पुगेका कोही पनि चौरासी पूजा गर्नबाट वञ्चित हुन नपरोस् भनेर सामूहिक चौरासी पूजालाई निरन्तरता दिने योजना रहेको धामका प्रमुख पण्डित लक्ष्मी सापकोटाले जानकारी दिए ।
यसैबीच सिद्धबाबा धामको गुरुयोजना तयार गर्नका लागि सरोकारवालासँग छलफल गरिएको छ । भेटी दानबाट वार्षिक १ करोड भन्दा बढी आम्दानी हुने समितिले जनाएको छ । इञ्जिनियर विनोद खड्काले गुरुयोजना बनाएर काम गर्दा व्यवस्थित हुने बताए ।