भैरहवा, १५ वैशाख ।
नेपाल पत्रकार महासंघ रुपन्देहीले प्रदान गर्दै आइरहेको ‘सिद्धार्थ श्रमजीवि पत्रकारिता पुरस्कार’–२०७९ खबरपात्रो डटकमका प्रधानसम्पादक दीपक घिमिरेले प्राप्त गरेका छन् । सिद्धार्थनगर नगरपालिकाको सहकार्यमा स्थापित यो पुरस्कार शनिबार बुटवलमा आयोजित महासंघ रुपन्देहीको १२ औं अधिवेशन तथा साधारण सभामा प्रदान गरिएको हो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, केन्द्रीय सदस्य भवानी प्रसाद पाण्डे र रुपन्देही अध्यक्ष रामराज पोख्रेलले पत्रकार घिमिरेलाई नगद ५ हजार रुपैयाँ र सम्मान-पत्रले पुरस्कृत गरेका हुन् ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व कार्यसमिति सदस्य समेत रहेका घिमिरे विगत २ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । उनी नेपाल टेलिभिजनमा रुपन्देही संवाददाताको जिम्मेवारीमा समेत छन् ।