२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

२५६८ औं बुद्धजयन्ती एवं लुम्बिनी दिवसका लागि प्रधानमन्त्रीलाई निम्तो

शुक्रवार , बैशाख २८, २०८१

लुम्बिनी, २८ वैशाख । 
लुम्बिनी विकास कोषले २५६८ औं बुद्धजयन्ती एवं लुम्बिनी दिवस मनाउन तयारी सुरु गरेको छ । जेठ १० गते परेको बुद्धजयन्ती एवं लुम्बिनी दिवस समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा गर्ने गरी तयारी तीव्र पारिएको छ । 

कोषका उपाध्यक्ष संविधानसभा सदस्य डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले प्रधानमन्त्री प्रचण्डलाई भेट गरी औपचारीक रुपमा निम्ता दिएका छन् । उपाध्यक्ष लामाले प्रधानमन्त्रीसहित उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई समेत भेट गरी बुद्धजयन्तीका लागि निमन्त्रणा गरेको कोषका कार्यकारी सदस्य श्याम रोक्काले जानकारी दिए । उक्त अवसरमा कोषका कार्यकारिणी सदस्य श्याम रोक्का, वरिष्ठ निर्देशक ज्ञानिन राई, प्रशासन शाखाका नमराज अधिकारीको उपस्थिति रहेको थियो ।  

WhatsApp Image 2024-05-10 at 9.56.32 AM.jpeg

बुद्धजयन्ती एवं लुम्बिनी दिवसलाई व्यवस्थित बनाउनका लागि कोषले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री हितबहादुर तामाङको अध्यक्षतामा ५६८ सदस्यीय मूल आयोजक समिति गठन गरिएको कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए । उनले कोषले बुद्धजयन्तीलाई उत्सवका रुपमा मनाउनका लागि ९ वटा विभिन्न उपसमितिहरु गठन गरिएको बताए । 

दिवसका अवसरमा प्रधानमन्त्रीसहित, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रवि लामिछाने, संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री हितबहादुर तामाङ एवं लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, विभिन्न देशका राजदुत लगायतका उच्च ओहोदा व्यक्तिहरुलाई निम्ता गरिएको कोषले जनाएको छ ।  

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन बुद्धजयन्ती एवं लुम्बिनी दिवस मनाउने गरिन्छ । बृहत्तर लुम्बिनी क्षेत्र अन्तर्गत तिलौराकोट, रामग्राम र देवहदमा पनि विभिन्न कार्यक्रम गरी बुद्धजयन्ती मनाइँदैछ । 

बुद्ध पूर्णिमालाई नेपालसहित बौद्ध राष्ट्रहरू भुटान, थाइल्याण्ड, म्यानमार, मंगोलिया, कम्बोडिया, श्रीलङका, लाओसमा राजकीय सम्मानका साथ मनाउँछन् । त्यस्तै नेपालसहित चीन भारत युरोप लगायतका देशहरूमा सम्मानको साथ मनाउने गरिएको छ । नेपालमा तत्कालिन राजा त्रिभुवनले वि.सं.२००६ साल जेठ ८ गतेदेखि सरकारी तवरबाट मान्यता दिएपछि नेपालमा रहेको लाखौ बौद्धमार्गी नेपालीले बुद्धजयन्ती मनाउन थालेका हुन् । 

लुम्बिनीमा वि.स. २०५५ मा ऐतिहासिक प्रथम विश्व बौद्ध शिखर सम्मेलन भएपछि बुद्धजयन्तीकै दिन सरकारले लुम्बिनी दिवश पनि मानाउन थालेको हो । 
विभिन्न बौद्ध मुलुकहरूको विशेष पहलमा १९९९ देखि संयुक्त राष्ट्र संघले समेत अन्तर्राष्ट्रिय रुपमै बुद्ध जयन्तीलाई मान्यता प्रदान गरी ‘बैशाख डे’ का रुपमा विश्वभर रहेका आफ्ना सबै कार्यालयहरूमा बुद्धजयन्ती मनाउन बिदा दिदै आएको छ ।