
आइतवार , बैशाख ३०, २०८१
रुपन्देही, ३० वैशाख ।
रुपन्देहीको देवदहमा सञ्चालित दुईदिने क्यानभासमा ऐतिहासिक देवदह कार्यशाला शनिबार सकिएको छ । कार्यशालाको एक समारोहकाबीच लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा सहकारी मन्त्री खड्ग बस्नेतले समापन गरेका हुन् । समापन समारोहमा बोल्दै मन्त्री बस्नेतले कार्यशालाले पर्यटन प्रबर्द्धनमा ठूलो टेवा दिने बताए । उनले कलाकारहरुले निकै मिहिनेतका साथ बुद्ध र देवदहको इतिहास उतारेको बताउँदै यसका लागि प्रदेश सरकार सहकार्य गर्न इच्छुक रहेको बताए । २५६८ औं बुद्ध जयन्तीको पूर्व सन्ध्यामा ड्रिम देवदह यूनिटि फर चेञ्जको आयोजनामा दुईदिने कार्यशाला गरिएको हो ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य जानकी न्यौपानेले देवदह बुद्धको मावली स्थल भएकाले यहाँको विकासका लागि कार्यशालाले ठूलो सहयोग गर्ने बताइन ।
त्यस्तै देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङले खयरडाँडा जस्ता पुरातात्विक स्थलमा गरिएको कार्यशालाले देवदहको प्रवर्द्धनमा ठूलो टेवा दिने बताउँदै स्थानीय सरकारका तर्फबाट यसको संरक्षणमा ध्यान दिने बताइन ।
त्यसै गरी लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले देवदहको इतिहासलाई क्यानभासमा उतार्ने कार्यले देवदहको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने बताए । आयोजक ड्रिम देवदह यूनिटि फर चेञ्जका अध्यक्ष समेत रहेका भट्टराईले कलाकारहरुले उतारेका ऐतिहासिक चित्रहरुले देवदह र बुद्धको जीवनलाई उतारेको उनले बताए ।
समापन कार्यक्रममा देवदह नगरपालिकाका पूर्व नगरप्रमुख हिराबहादुर खत्री, वडाअध्यक्ष मोहन बहादुर जि.सी., नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका प्रज्ञा गोविन्द चौधरी, खयरडाँडा संरक्षण समिति देवदह–९ का सल्लाहकार पिताम्बर खराल, सचिव दिपेश बस्याल, पवन पौडेललगायतले बोलेका थिए ।
२४ जना कलाकारले क्यानभासमा उतारेका चित्रहरुमा देवदहको इतिहास कोरिएको छ । कार्यशालाबाट बनेका २४ वटा चित्रहरुलाई व्यवस्थित रुपमा राख्ने ड्रिम देवदह यूनिटि फर चेञ्जका सचिव दिपेश बस्यालले जानकारी दिए ।
ड्रिम देवदहको आयोजना, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा भएको कार्यशालाको देवदह नगरपालिका संरक्षक, पर्यटन डिभिजन कार्यालय रूपन्देही सह–आयोजक र लुम्बिनी विकास कोष प्रर्वद्धक हुन । कार्यशालाको शुक्रबार लुम्बिनी प्रदेशका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती अधिकारीले उद्घाटन गरेकी थिइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij