२०८२, भाद्र ९ गते

Aug 25 2025 | २०८२, भाद्र ९ गते

सिद्धार्थनगरमा शुद्ध पठन, द्रुत पठनका लागि कार्यशाला

बिहिवार , जेठ ३, २०८१

  • 652
    Shares
  • 652
    Shares
  • भैरहवा, ३ जेठ ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले विद्यार्थीको शुद्ध पठन, द्रुत पठनका लागि शिक्षकहरुका लागि तालिम कार्यशाला सञ्चालन गरेको छ । कार्यालयले आधारभुत तहदेखि नै विद्यार्थीको पठनमा शुद्धता र द्रुतता ल्याउनका लागि मेरो सेरोफेरो र अनिवार्य नेपाली विषयका शिक्षकहरुका लागि तालिम कार्यशाला सञ्चालन गरेको हो । दुई दिनसम्म सञ्चालन कार्यशालामा नगरभरका सामूदायिक, संस्थागत र धार्मिक विद्यालयका कक्षा १ देखि ३ सम्मका शिक्षकहरु सहभागी छन् ।

    सन्था विधि अनुसार संन्थामा विधार्थीले शिक्षकले कुनै वर्ण, शब्द, वाक्य र छन्दको उच्चारण गरेको प्रत्यक्ष सुन्छ्, हेर्छ, अनुभूति गर्छ र शिक्षकले जस्तै गरी दोहोर्याउँछ । विद्यार्थीले कुनै वर्ण, शब्द, वाक्य र छन्दको सही उच्चारण गर्न नसकेमा शिक्षकले तुरुन्तै सुधार गरी शुद्ध उच्चारणका लागि अभ्यास गराउँछन् ।

    विद्यालयमा विद्यार्थीहरुको पठनको अनुगमनको क्रममा शुद्धता र द्रुततामा कमजोरी पाइएपछि आधारभूत तहदेखि नै विद्यार्थीहरुमा शुद्धता र द्रुतता ल्याउनका लागि तालिमको आयोजना गरिएको सिद्धार्थनगर नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख चेतनशील लम्सालले जानकारी दिए । ‘यो तालिमले विधार्थीहरुले पढाइ र बुझाइमा कहाँ गलत गर्छन् , ठ्याक्कै त्यसलाई सुधार गर्नका लागि हामीले शिक्षकहरुलाई तालिम दिएका छौँ’ उनले भने, ‘तालिमले विद्यार्थीहरुको पढाइ र बुझाइ दुवैमा शुद्धता तथा द्रुतता आउनेमा विश्वस्त छौँ ।’

    उदाहरणका लागि कक्षा १ का विद्यार्थीहरुको शुद्ध र द्रुत पठनका लागि शिक्षकले पठनसीप परीक्षण गर्नेछन् । जसमा विद्यार्थीले पाठ÷परिच्छेदको कथा पढ्नु्पर्ने हुन्छ । यदि एक मिनेटमा ३५ वा सो भन्दा माथि शब्द शुद्ध उच्चारण र ६० प्रतिशत बुझाइ भएमा त्यस विद्यार्थीलाई एडभान्सको रुपमा वर्गीकरण गरी उत्कृष्ट मानिनेछ । ६० प्रतिशत बुझाइका लागि पनि विद्यार्थीले पढेको कथाबाट बनाइएको १० वटा प्रश्नको सही उत्तर दिएको हुनुपर्छ । 

    त्यसै गरी कक्षा २ र ३ का विद्यार्थीहरुका लागि पनि पठनसीप जाँच फाराममार्फत परीक्षण गरिनेछ । विद्यार्थीले परीक्षणमा गरेको गल्तीलाई सच्याउनका लागि विद्यार्थीको विवरणसहित डायरी बनाइ राख्नका लागि तालिममा शिक्षकहरुलाई सिकाइएको प्रशिक्षक उत्तर कुमार पराजुलीले बताए ।

    ‘विद्यार्थीहरुको आधारभूत तहबाटै शुद्ध र द्रुत पठनका लागि हामीले आधारभूत तह (कक्षा १–३) का शिक्षकहरुलाई नै तालिम दिएका छौँ’ सिद्धार्थनगर नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत जानह्वी पाण्डेले भनिन्, ‘यसले माथिल्लो कक्षामा विधार्थीहरुको पठनमा शुद्ध र द्रुत हुने विश्वास लिएका छौं ।’

    शिक्षकहरुले लिएको तालिमको बिहीबार विद्यालयमा अभ्यास समेत गरेका छन् । तालिममा प्राप्त ज्ञान अनुसार श्री रुपन्देही लिलाराम न्यौपाने माविका शिक्षकहरुले विद्यालयका १२० जना विद्यार्थीहरुको पठनसीपको जाँच र प्राप्त नतिजाको कार्यशालामा विश्लेषण समेत गरेको सिद्धार्थनगर नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका नायब सुब्बा कृष्ण पोखरेलले बताए ।