
शुक्रवार , जेठ ४, २०८१
पठाओ नेपालको स्थापना किन र कहिले गर्नुभयो ?
पठाओ नेपालको स्थापना सन् २०१८ मा स्थापना भएको हो । नेपालमा गुणस्तरीय र सुरक्षित यात्राका लागि हामीले पठाओ नेपालको स्थापना गरेका हौं । हामीले विकासलाई प्रविधिसँग जोडेर नेपालको विकास गर्नका लागि पठाओलाई नेपालमा भित्राएका हौं । प्रविधिको माध्यमबाट विकास गर्ने सोच बनाउँदै गर्दा यातायातको क्षेत्रमा निकै समस्याहरु थिए । त्यही समस्यालाई समाधान गर्न सकिन्छ कि भनेर पठाओको सुरुवात गरेका हौ । अहिले राम्रो हुँदै गएको छ ।
पठाओ नै किन रोज्नु भएको हो त ?
म लामो समय विदेश बसेर आएको हु । मसहित पाँचजना मिलेर पठाओको सुरुवात गरेका हौं । म विदेशमा बसेर काम गरिरहदा नेपालमै बसेर केही गर्नुपर्छ भन्ने हुटहुटीले १२ वर्षको विदेश बसाईलाई बिट मार्दै नेपालमा आएर व्यवसाय सुरु गरेका हौं । नेपाल, त्यसमा पनि काठमाण्डौमा आफ्नो निजी सवारीसाधन नभएकाहरुलाई नजिकको यात्राका लागि बस, ट्याक्सी र टेम्पोमा यात्रा गर्न निकै अप्ठ्यारो थियो । महंगो तथा मनपरी भाडा, असहज यात्राले गर्दा आम नागरिकले निकै दुःख पाएका थिए । सहज यात्राका लागि सर्वसुलभ दरमा सेवा प्रदान गर्नका लागि पठाओलाई शुरुवात गरेका हौं । ट्याक्सीको मनपरी भाडाको विकल्पमा पठाओ सुरु गरेका हौं । अहिले सातवटै प्रदेशमा यो सेवा विस्तार गरिएको छ ।
पठाओले सुरुमा कुन गाडीबाट सेवा प्रारम्भ गरेको हो ?
२०१८ मा काठमाडौंबाट मसहित पाँचजना साथीहरु मिलेर पठाऔ सेवा प्रारम्भ गरेका थियौं । सुरुमा हामीले दुईपांग्रे सवारीबाट सेवा सुरु गरेका थियौं । सेवा सुरु गरेको पहिलो हप्तामा नै ५० जना हामीसँग जोडिन पुगेका थिए । काठमाडौंमा दुई पांग्रे सवारीसाधन भएका व्यक्ति धेरै थिए । उनीहरुलाई रोजगारीको अभाव थियो । हामीले प्रविधिसँग जोडेर युवालाई रोजगारी प्रदान गर्ने उद्देश्यले सुरु गरेका गर्दैगर्दा थुप्रै जना हामीसँग जोडिन पुगे, हामीलाई त्यसपछि थप उर्जा मिल्यो । दुई पांग्रेका साथै विस्तारै चारपांग्रे ट्याक्सी पनि सुरु गर्यौं । अहिले पठाओले बागमती प्रदेशमा मात्र १ सय जना बढी मोटरसाइकल चालक र यो प्रदेशमा रहेका १२ हजार ट्याक्सीमध्ये ९ हजार पठाओमा दर्ता भएर आम जनतालाई सेवा दिइरहेका छन् । जसले आफू र आफ्नो परिवार पाल्न सहयोग गरेको छ ।
उनीहरुको आम्दानीको श्रोतको अवस्था कस्तो छ ?
पठाओको सेवा लिएका सवैजसो राईडरहरुको आर्थिक अवस्था राम्रो छ । उनीहरुले राम्रैसँग कमाई गरेका छन् । साइकल प्रयोग गरेर विभिन्न खालको मार्केटिङ गर्नेले महिनाको ५२ हजारसम्म कमाउने गरेका छन् भने मोटरसाइकल चलाउने राईडरले मासिक ७० देखि ८० हजारसम्म कमाउने गरेका छन् । कुनै कुनै ट्याक्सी चालकले त मासिक रुपमा १ लाख ३८ हजार रुपैयाँसम्म आम्दानी गरेका छन् । नेपालमा युवाहरुलाई निजी क्षेत्रबाट युवाहरुलाई रोजगारी प्रदान गर्ने ठूलो संस्था हो ।
नेपालमा युवाहरुलाई रोजगार प्रदान गर्ने ठूलो संस्था हो भन्नुभयो, कहिलेसम्म कति जनालाई रोजगारी दिनुभएकोे छ ?
निजी क्षेत्रबाट नेपालमा रोजगार दिने ठूलो संस्थामा रुपमा हामी चिनिएका छौं । हामीले ३०÷४० हजार व्यक्तिलाई रोजगारी दिएका छौं । देशका ७ वटै प्रदेशमा सेवा विस्तार गरेका छौं । हाम्रो प्रमुख उदेश्य भनेकै यूवाहरुलाई स्वरोजगार बनाउने र विदेश पलायन हुन लागेका युवालाई नेपालमै रोक्नु हो ।
यो एउटा प्रविधिमा आधारित व्यवसाय हो ? प्रविधिमा कसरी काम गरिरहनुभएको छ ?
हो, यो विशुद्ध प्रविधिमा आधारित व्यवसाय हो । हामीले सुरुदेखि अहिलेसम्म सम्पूर्ण लगानी प्रविधिमा गरेका छौं । ६ वर्ष भयो अहिलेसम्म लगानीकै चरणमा रहेका छौ । सुरुमा नेपाल सरकारबाट २० करोडको स्वीकृति लिएर काम सुरु गरेका थियौं । अहिलेसम्म १ सय करोड लगानी भएको छ । अहिलेसम्म प्रविधिको विकास गर्दै सुरक्षित यात्राका लागि काम गरिरहेका छौं ।
यात्रुको सुरक्षाका लागि के के काम गर्नु भएको छ ?
हामीले सुरक्षित यात्राको लागि हरेक सवारी, त्यसका चालक र यात्रुका लागि बीमाको व्यवस्था गरेका छौं । कुनै कारणले दुघर्टना भएको खण्डमा तुरुन्त दुर्घटनास्थल पुग्ने गरेका छौं । यात्रुको सहजताका लागि हामीले २४ ओटा त कल सेन्टर मात्र चलाएका छौ । त्यसबाट एकातर्फ धेरै नागरिकले रोजगारी पाएका छन् भने आरामदायी र छिटोछरितो यात्राको सुविधा पाउनुभएको छ ।
अहिले बजारमा निकै प्रतिष्पर्धा छ ? कसरी काम गर्नु भएको छ ?
प्रतिष्पर्धा गर्न पाउँदा हामीलाई निकै खुसी लागेको छ । प्रतिष्पर्धाले सबैलाई सहज बनाउँछ भने एकाधिकार हट्दै जान्छ् । हामी प्रविधि, दक्ष जनशक्ति, राईडरमा गरेको लगानीका कारण हामीले कसैसँग प्रतिष्पर्धा गर्नुपर्दैन् । पठाओ आफैमा एउटा ब्राण्ड बनिसकेको छ । हामीले यात्रुको यात्रा र सुरक्षालाई आफ्नो ठानेर अघि बढेका छौं । क्वालिटी सर्भिसका लागि हामीले कसैसँग प्रतिष्पर्धा नै गर्नुपर्दैन । यसमा हामी ढुक्क छौं ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij