२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

देवदहमा विभिन्न कार्यक्रम गरी बुद्धजयन्ती मनाइँदै

शनिवार , जेठ ५, २०८१

लुम्बिनी, ५ जेठ ।
२५६८ औं बुद्धजयन्ती देवदहमा सप्ताहव्यापी रुपमा मनाउने निर्णय गरिएको छ । लुम्बिनी विकास कोषसहित देवदहमा रहेका विभिन्न बुद्धसँग सम्बन्धित संघसंस्थाहरुले संयुक्त रुपमा बुद्धजयन्तीलाई उत्सवका रुपमा मनाउने भएका हुन् ।

लुम्बिनी विकास कोषद्वारा गठित रामग्राम देवदह समन्वय उपसमितिको देवदहमा बसेको बैठकले सरसफाई, नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता, यशोधरा उत्सव एवं दीप्रज्वलन गर्ने निर्णय गरेको हो । कोषका कोषाध्यक्ष एंव उपसमितिका संयोजक सिद्धिचरण भट्टराईले बौद्ध संघ–संस्थाहरुसहितको बैठकले देवदहमा बुद्ध जयन्तीलाई उत्सवमय बनाउने निर्णय गरिएको जानकारी दिए ।

बैठकले जेठ ८ गते बिहान ७ बजे देवदहका बुद्धसँग जोडिएका क्षेत्रहरुमा सरसफाई, बिहान ११ बजेदेखि नगरस्तरीय बुद्ध मावली र देवदह विषयक वक्तृत्वकला प्रतियोगिता गर्ने निर्णय गरिएको उनले बताए । बुद्धको मावलीका रुपमा चिनिएको देवदहमा बुद्ध जयन्तीका दिन बौद्ध स्थल र घरघरमा दीप प्रज्वलन गर्ने समेत निर्णय भएको कोषाध्यक्ष भट्टराईले बताए ।

त्यस्तै जेठ ९ गते देवदह नगरपालिका, लुम्बिनी बौद्ध विश्वविद्यालय लगायतका संस्थाहरुसँग सहकार्यमा देवदहमा बुद्ध जयन्ती समारोहमा सहकार्य र सहभागी हुने एवं जेठ १० गते लुम्बिनीमा हुने मूल समारोहमा देवदहबाट प्रतिनिधित्व गर्ने निर्णय भएको लुम्बिनी विकास कोष देवदह सम्पर्क कार्यालयका प्रमुख दामोदर सापकोटाले बताए । 

बैठकमा लुम्बिनी विकास कोषका बरिष्ठ पुरातत्व अधिकृत हिमाल कुमार उप्रेती, देवदह नगरपालिका वडा न. ८ का वडाअध्यक्ष हरि पाण्डे, देवदह धर्मोदय सभाका अध्यक्ष टेकबहादुर थापा लगायतको उपस्थिती रहेको थियो ।