२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

'साई ग्लोबल एकेडेमी विद्यार्थी तथा अभिभावकको आकर्षणको केन्द्र बनेको छ'

आइतवार , जेठ ६, २०८१

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ मा अवस्थित साई ग्लोबल एकेडेमी यस क्षेत्रको उत्कृष्ट शैक्षिक संस्थाको रुपमा स्थापित भएको छ । कुशल नेतृत्व, उत्कृष्ट व्यवस्थापन र गुणस्तरीय शिक्षाका कारण माध्यमिक, उच्च माध्यमिक र उच्च शिक्षाको लागि आकर्षण बनिरहेको साई ग्लोबल एकेडेमीको प्रबन्ध निर्देशकको जिम्मेवारीमा मोतीप्रसाद पौडेल हुनुहुन्छ ।

वि.सं. २०३८ सालमा सिद्धार्थ विश्वज्योति बोर्डिङ्ग स्कूलको नामबाट सुरु भएको र पछि नाम परिवर्तन भइ साई ग्लोबल एकेडेमी बनेको यस शैक्षिक संस्थाले २०६५ सालदेखि व्यवस्थापनमा स्नातक तह सुरु गरेर उच्च शिक्षा प्रारम्भ गरेको थियो । नर्सरीदेखि स्नातकसम्म गरी करिब १ हजार ५ सय विद्यार्थी अध्ययन गर्ने साई ग्लोबलको प्रबन्ध निर्देशक पौडेल वि.सं. २०४८ सालदेखि यसै शैक्षिक संस्थामा आबद्ध हुनुभएको हो । २०२८ साल मंसिर २८ गते स्याङ्जा जिल्लाको बाङसिंह देउरालीमा रमाकान्त र गुमा पौडेलका जेठो छोराको रुपमा जन्मिएका पौडेलले भारतको अरुणाचलबाट एसएलसी र दश जोड दुई तथा भैरहवा बहुमुखी क्याम्पसबाट स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ । २०४८ सालदेखि शिक्षण पेशामा संलग्न भइ कक्षा शिक्षक, सहायक प्राचार्य हुँदै संस्थाको प्रबन्ध निर्देशकको भूमिकामा रहँदासम्म पौडेलले शिक्षाको गुणस्तर बढाउन हरसम्भव प्रयास गरिरहनु भएको छ । प्रस्तुत छ, साई ग्लोबल एकेडेमीका प्रबन्ध निर्देशक पौडेलसँग शैक्षिक गतिविधिमा केन्द्रित रहेर गरिएको कुराकानीको सारसंक्षेप :

साई ग्लोबल एकेडेमीको प्रबन्ध निर्देशकको नेतृत्वमा रहेर नर्सरीदेखि स्नातक तहसम्मको शैक्षिक कार्यक्रम चलाइरहनु भएको छ । कस्तो छ संस्थाको अवस्था ?

यो शैक्षिक संस्था स्थापना भएको ४२ वर्ष पुग्यो । गुणस्तरीय शिक्षा प्रदान गरी समाजमा योगदान पुर्याउने उद्देश्यले शैक्षिक विकासमा दत्तचित्त व्यक्तित्वहरुको पहलमा सुरु भएको संस्था हो यो । तपाईहरुले देख्नु भएकै छ आज यो संस्था यस क्षेत्रको नमूना र स्तरीय संस्थाको रुपमा स्थापित भएको छ । हामीले २०७९ र २०८० सालमा लगातार उत्कृष्ट माध्यमिक विद्यालय पुरस्कार प्राप्त गरेका छौं । यो पुरस्कार हाम्रो गुणस्तरीय शिक्षाको प्रतिफल हो । यस संस्थामा पढेका छात्रछात्राहरु सबै क्षेत्रमा उत्कृष्ट बनेर नेतृत्व पनि गरिरहेका छन् । विद्यार्थी तथा अभिभावकको आकर्षणको केन्द्र बन्न सफल भएका छौं ।

यहाँहरु यस क्षेत्रको अब्बल शैक्षिक संस्था बनाउन प्रयत्न गरिरहनुभएको छ । अन्तभन्दा यहाँ सुविधाहरु के छन् र ?

उत्कृष्ट टीम र गुणस्तरीय शिक्षा हाम्रो प्रतिवद्धता हो । पूर्वाधारको हिसाबले पनि हामी उत्कृष्ट नै छौं । आधुनिक सुविधासम्पन्न विद्यालय, क्याम्पस भवन, उत्कृष्ट र नमूना प्रयोगशाला लगायतका पूर्वाधार छन् भने शिक्षकहरु पनि क्षमतावान हुनुहुन्छ । टीम स्पीरिट छ । समन्वय छ । विद्यार्थीहरुको मनोभावना बुझ्न, रुची बुझ्न शिक्षकहरुलाई तालिम दिने, अभिभावकसँग अन्तरक्रिया गर्ने गरिएको छ । शिक्षण विधिलाई स्तरीय बनाउन समय अनुकुल परिमार्जन गर्ने गरिएको छ । कहीतै समस्या देखा परे टीम स्पीरिटको आधारमा समाधान गर्ने गरिएको छ । नतिजासँगै विद्यार्थीहरुको दक्षतालाई पनि ख्याल गरिएको छ ।

यस क्षेत्रबाट क्याम्पस मात्र होइन, स्कूल पढ्न पनि उत्तरतिर जाने प्रचलन त रोकिएको छैन नि ?

हो, यो ज्यादै गम्भिर कुरा हो । पाठ्यक्रम उही हो, शिक्षकको गुणस्तर उस्तै छ । तर घरदैलोको विद्यालय, क्याम्पस छाडेर भैरहवा बाहिर जाने प्रवृत्ति रोकिन सकेको छैन । यो प्रवृत्तिलाई रोक्नैपर्ने देखिन्छ । किनभने यहाँबाट उत्तरतर्फका विद्यालय जान पढ्न दैनिक दुई अढाई घण्टा त बाटोमा खर्चिनु पर्छ । बस भाडाले यहाँ झण्डै सबै शुल्क तिर्न पुग्ने देखिन्छ । तर, पनि अभिभावक र विद्यार्थीमा यहाँ भन्दा बाहिर राम्रो पढाइ हुन्छ भन्ने सोच छ । यो भ्रम मात्रै हो । यो प्रवृत्ति रोक्नका लागि चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन, रुपन्देही) र सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले गत वर्ष पहल पनि गरेका हुन् । विस्तारै विद्यार्थी स्वयं, उनीहरुका अभिभावक र आम समुदायमा यो भ्रम हट्दै जानेछ । टाढाको आरन भन्दा नजिकको उदिनढुंगा राम्रो भन्ने उखानलाई भैरहवामा शिक्षण संस्थाहरुमा लागू गर्न सक्नुपर्छ ।

विद्यार्थीहरुलाई भैरहवामै आकर्षित गर्न अरु के गर्नुपर्ला ?

यो भ्रम विस्तारै चिरिदै गएको छ । टाढा जानुपर्दा लाग्ने समय, बाटोको रिश्क (जोखिम), लागत सबै हिसावले टाढा पठाउनुलाई मनासिव मान्न सकिन्न । यहाँ सुधार गर्नुपर्ने कुनै कुरा भए हार्मी समयानुकुल सुधार गर्दै जान्छौं । हाम्रो प्रतिवद्धता के हो भने भैरहवाका शिक्षण संस्थामा उत्तरतिरबाट पनि विद्यार्थी आउने अवस्था बनाउँदै जाने हो । शिक्षाको स्तर, शिक्षकको क्वालिटी राम्रो छ, समस्या भनेको अभिभावकमा भएको भ्रम हो, त्यो पनि अब घट्दै गइरहेको देखिन्छ । त्यसका लागि संस्थागत विद्यालय, सरकारी निकाय, सामाजक संघ–संस्था र नागरिक अगुवाहरुको समेत पहल हुनु आवश्यक देखिन्छ ।

आर्थिक मन्दीको शिक्षण संस्थाहरुमा के कस्तो असर परिरहेको छ ?

समाजमा हुने हरेक घटनाको शिकार समुदायसँग जोडिएका हामीले भोग्नैपर्दो रैछ । कोरोना महामारी संकट टरेको भए पनि त्यसले निम्तिएका दीर्घकालीन असरहरु अझै कायमै छन् । आर्थिक मन्दी हुनुको मुख्य कारण कोरोना महामारीकै असर हो । आर्थिक मन्दीका कारण समस्या परेको भन्दै अभिभावकहरु शिक्षण शुल्क बुझाउन गाह्रो भएको बताउने गर्नुहुन्छ । हामीलाई फि असुलीमा मन्दीको प्रभाव परेको छ । तर यहाँका अभिभावकहरुले हाम्रो समस्या बुझ्नुहुन्छ ।  

एकातिर जनसंख्या वृद्धिदर रोकिएको छ भने अर्कातिर देश छाड्नेहरु दिनहुँ बढिरहेका छन्, यसले यो शैक्षिक संस्थाको भविष्यलाई असर पर्ला नि ?

हो, अहिले एउटै सन्तानमा चित्त बुझाउने दम्पत्ति बढिरहेका छन् । दुई भन्दा बढी सन्तान जन्माउनेको संख्या घटेको छ । अर्कातिर रोजगारीको लागि होस् या अध्ययन विदेश जाने नेपालीको संख्या उच्च छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण हुनासाथ विदेश जानेहरु धेरै छन् । १० जोड २ सम्म त अहिलेसम्म विद्यार्थी संख्या घटेका छैनन्, तर स्नातक तहपछि भने चुनौति देखिएको छ । यसमा राज्यको नीति, अभिभावकको मनस्थिति र स्वयं विद्यार्थीको निर्णयले काम गर्ने हो ।  युवाहरुलाई युरोप, अमेरिकातिर अध्ययनका लागि जान सहज प्रक्रिया, बैंक तथा वित्तीय संस्थाले सजिलै कर्जा दिने, विदेश गएपछि राम्रो पैसा कमाउन सकिने तर, देशभित्र केही गर्न नसकिने अवस्थाले यस्तो परिस्थिति निर्माण भएको हो । यही रोजगारीका अवसर हुने हो भने विदेश गएर पढ्ने शिक्षा र यहाँको शिक्षा उस्तै उस्तै हुन् । विदेशमा काम गर्दै पढ्दै गरेर पढेको शिक्षा भन्दा नेपालकै गुणस्तरीय हुन्छ । तर, एउटा युवाले नेपालमै केही गर्छु भन्दा उसले श्रोत जुटाउन दुःख हुने, विदेश जाने भन्नासाथ बैंकहरुले सजिलै कर्जा दिने अवस्था छ अहिले । देशभित्रै युवाहरुलाई प्रोत्साहन गर्नुपर्छ, यही रोजगारीका अवसर प्रदान गरिनुपर्छ । अहिले गाउँ वस्ती रित्तिरहेका छन्, दक्ष जनशक्ति पाउन मुस्किल छ । यसले मुलुकको विकासलाई पनि असर पर्छ । राज्यले पनि यसमा ध्यान दिनुपर्छ ।

राज्यले संस्थागत शिक्षण संस्थाहरुलाई प्रोत्साहन नगरेर हो कि ?

संस्थागत विद्यालयहरुको शैक्षिक क्षेत्रमा कस्तो योगदान छ भन्ने कुरा त यहाँहरुले मूल्यांकन गर्नुभएकै छ । आज निजी विद्यालयहरु कलेजहरु नहुँदा हुन् त हाम्रो अवस्था कस्तो हुँदो हो कल्पना पनि गर्न सकिदैन । तर, हाम्रो योगदान राज्यले बुझ्न सकेन । सरकारलाई कर तिरिरहेका छौं, गुणस्तरीय शिक्षा प्रदान गरेका छौं । सरकारले ठूलै लगानी गर्नुपर्नेमा हामीले उल्टै सरकारलाई कर तिरेर गुन लगाएका छौं, यसको उचित मूल्यांकन हुनुपर्छ । अहिले छात्रवृत्तितर्फ भने निजी विद्यालयका विद्यार्थीलाई पनि सहभागी बनाउने निर्णय भएको छ । वर्षौदेखिको यो विभेद हटेको छ । यस्ता धेरै विभेद छन्, जसलाई हटाउन आवश्यक छ ।

प्रस्तावित शिक्षा विधेयकमा त निजी विद्यालयहरु गुठीमा जानुपर्ने बाध्यता छ नि ?

राज्यले हाम्रो लगानी फिर्ता देओस् हामी कहाँ जानुपर्ने हो जाउँला । बैंक वित्तीय संस्थाबाट कर्जा लिएर, जग्गा विक्री गरेर, गरगहना बेचेर, परिवारको खुशी बेचेर हामीले शैक्षिक क्षेत्रमा लगानी गरेका छौं । त्यसको क्षतिपुर्ति नदिइकन कसैको सम्पत्ति राज्यले हडप्न मिल्दैन । हामीलाई राज्यले सडकमा निस्कन बाध्य नपारोस् अहिले म यत्ति भन्न चाहान्छु । प्रस्तावित विधेयकबाट यो व्यवस्था हटाइनुपर्छ । हाम्रो योगदानको कदर हुने गरी र निजी शिक्षण संस्थाको संरक्षण हुने गरी ऐन बन्नुपर्छ भन्ने हाम्रो माग छ ।

यहाँको शैक्षिक विकासमा के कस्ता बाधा देख्नुभएको छ ?

हेर्नुस, निजी क्षेत्रलाई राज्यको प्रोत्साहनको खाँचो छ । समाजमा यत्रो योगदान दिइरहेका निजी विद्यालयहरुलाई राज्यले संरक्षण गर्नुपर्दैन ? निजी विद्यालय नभएको भए आज शिक्षाको स्तर कस्तो हुन्थ्यो भन्ने कुरा मैले भन्नु त पर्दैन नि । हो, पछिल्ला दिनहरुमा सामुदायिक विद्यालयहरुमा सुधार भइरहेको छ तर त्यसका लागि निजी विद्यालयको योगदान छ । तीनै तहका सरकारले निजी विद्यालयहरुको उचित मूल्यांकन गरी प्रोत्साहित गर्नुपर्छ । राजनीतिक दलहरुले पनि आफ्ना एजेण्डामा निजी शिक्षण संस्थाहरुलाई संरक्षण गर्ने विषय समेट्नुपर्छ । शिक्षण संस्थामा कमीकमजोरी छन् भने हामी सुधार गर्न तयार छौं, राज्य, राजनीतिक दल, नागरिक समाजले हाम्रो उचित मूल्यांकन गरिदिनुपर्छ । शैक्षिक विकासका लागि सबै क्षेत्रबाट सकारात्मक धारणाको खाँचो छ ।

अन्त्यमा केही भन्नुहुन्छ कि ?

हामीले अहिले नर्सरीदेखि ब्याचलरसम्म गुणस्तरीय शिक्षा प्रदान गरिरहेका छौं । ४२ वर्षको संघर्षपूर्ण यात्रापछि अहिलेको अवस्थामा आइपुगेका हौं । अझै पनि हामीले शैक्षिक सुधार गरी गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेछ । आगामी दिनमा स्नातकतर्फ अन्य प्रोग्रामहरु थप्ने, स्नातकोत्तर डिग्री लेबलसम्म पढाउने योजना रहेको छ । शैक्षिकस्तर सुधार गर्न, गुणस्तरीय शिक्षा प्रदान गर्न हामीले हरमग्दुर प्रयास गरेका छौं । विद्यार्थी, अभिभावक, राजनीतिक दल, नागरिक समाज र राज्यको सकारात्मक दृष्टिकोण तथा सहयोगको अपेक्षा गर्दछौं । भैरहवा सिद्धार्थनगरको आकर्षक शैक्षिक संस्था बनाउने उद्देश्यका साथ स्थापना भएको यो एकेडेमीको लक्ष्य प्राप्तिका लागि हाम्रा प्रयासमा सबैको साथ सहयोग र समर्थनको अपेक्षा गर्दछौं ।