
सोमवार , जेठ ७, २०८१
भैरहवा, ७ जेठ ।
शैक्षिक क्षेत्रको सुधारका लागि सामूहिक प्रयास आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । उनले यो क्षेत्र सुधारका लागि एक–अर्कालाई दोष दिनु भन्दा सबै मिलेर अघि बढ्नुपर्ने धारणा राखे ।
चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन, रुपन्देही) ले भैरहवामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रम सहभागीहरुले यस्तो बताएका हुन् । सहभागीहरुले पछिल्लो समय विशेष गरी उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीहरुको संख्या बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । अभिभावक, विद्यार्थीहरुलाई परामर्शको आवश्यकता रहेको उनीहरुको भनाइ थियो ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिका रहेका सामूदायिक तथा संस्थागत विद्यालयहरुमा शिक्षाको गुणस्तरलाई थप सुधार कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको चेम्बर अफ कमर्श, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले बताए । उनले भने, ‘विगतमा पनि संगठनले शिक्षा क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट पहल गर्दै आएको छ । आगामी दिनमा पनि निरन्तरता दिदै जानेछौं ।’
संगठनकी महासचिव लक्ष्मी अधिकारीले कार्यक्रममा सहभागीहरुले विद्यालय मर्जको आवश्यकता, विद्यार्थीहरु विशेष गरी उत्तरतर्फ जाने क्रम बढेकाले अभिभावक तथा विद्यार्थीहरुलाई भैरहवा क्षेत्रमा शिक्षा राम्रो र गुणस्तर छ भन्ने कुरा बुझाउनुपर्ने जस्ता धारणा राख्नुभएको बताइन् ।
सिद्धार्थनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख चेतनशील लम्सालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का केन्द्रीय उपाध्यक्ष विष्णु प्रसाद पन्थी, प्याब्सन सिद्धार्थनगरका अध्यक्ष गोकुल पोखरेल, विभिन्न विद्यालयका प्राचार्य तथा संगठनका पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकारलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा काशी नोबल एकेडेमीका प्राचार्य राजेन्द्र घिमिरे, भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक मोतीलाल सुवेदी, श्री रुपन्देही लीलाराम न्यौपाने माविका प्रधानाध्यापक रुप कुमार रायमाझी, पक्लिहवा माविका प्रधानाध्यापक बसन्त कुमार बस्नेत, विद्यालयका शिक्षक भरत गिरी, उद्योग व्यापार संगठन रुपन्देहीका उपाध्यक्ष मधुसुदन अर्याल, सल्लाहकार टीकाराम भट्टराईलगायतले भनाइ राखेका थिए ।
कार्यक्रम संयोजक तथा संगठनका कार्यसमिति सदस्य शिवम जैसवालको स्वागत तथा महासचिव लक्ष्मी अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij