
सोमवार , फाल्गुण १०, २०७७
बुटवल, १० फागुन ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योगी व्यवसायीको समस्या समाधानको लागि महासंघले ‘भिजन पेपर’ तयारी गरेको बताएका छन् । मुलुकको अर्थतन्त्रको सुचकांक जीडिपीलाई १० प्रतिशत भन्दा माथि पुर्याउन र रोजगारी अभिवृद्धि कसरी गर्न सकिन्छ भनेर विकसित मुलुकको अनुभवहरुलाई समेत समेटेर भिजन पेपर तयार गरिएको उनले जानकारी दिए ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको सोमबार बुटवलमा भएको ६७ औं वार्षिक साधारणसभा तथा २४ औं अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले उक्त भिजन पेपरमा निजी क्षेत्रको एकरुपताको लागि सिएनआई लगायतका अरु संस्थाहरुसंग समेत छलफल भइरहेको जानकारी दिए । आफ्नो नेतृत्वको नेपाल उद्योग वाणिज्य महासंघमा निजी क्षेत्रको समस्या भोगेको र बुझेको टिम रहेकाले समस्या समाधान कसरी गर्न सकिन्छ र लगानी कसरी अभिवृद्धि गर्न सकिन्छ भनेर आफूहरु लागिपरेको बताए ।
महासंघका अध्यक्ष गोल्छाले निजी क्षेत्रका व्यवसायिक संस्थाहरुबीच उक्त प्रस्तावमा सम्झौता गरेर जिल्ला नगरमा लैजाने बताउँदै त्यसले साना तथा मझौला उद्योग व्यवसायको समस्या समाधान हुने विश्वास व्यक्त गरे । त्यस्तै उनले महासंघले विज्ञसहितको राहत सेल बनाउन लागिएको जानकारी गराउँदै विशेष गरी बैंकिङ्, राजस्व, श्रमको समस्यामा परेका व्यवसायीहरुलाई राहतको काम गर्ने उल्लेख गरे ।
त्यस्तै मेलमिलाप केन्द्र बनाउन लागिएको र त्यस केन्द्रले उद्योग व्यवसायमा भएका समस्या समाधानको लागि मेलमिलापको काम गर्ने र सर्वोच्च अदालतसंग समन्वय गरेर गरिने उक्त केन्द्रको निर्णयलाई मुद्धा सर्वोच्चमा गए पनि अदालतले समेत त्यसलाई हेर्ने उल्लेख गरे । उनले यस क्षेत्रमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, सेजको नियमावली परिवर्तन, मोतिपूर औद्योगिक क्षेत्र लगायतका कारण यस क्षेत्रमा लगानी प्रवद्र्धन गर्ने र रोजगारीको समेत सम्भावना प्रसस्त रहेको औंल्याए ।
त्यसै गरी लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले प्रदेशमै उद्योग दर्ता गर्ने भएपछि दर्ताको संख्या प्रयाप्त भए पनि उद्योग सञ्चालन हुन नसकेको बताउँदै त्यसका समस्या के हुन् सुझाव दिन आग्रह गरे । सरकार निजी क्षेत्रसंग सहकार्य गर्न तयार रहेको बताउँदै उनले उद्योग व्यवसायका समस्या के छन्, त्यसलाई कसरी समाधान गर्न सकिन्छ ? संगै बसेर छलफलको लागि समेत आफू तयार रहेको बताए । उपाध्यक्ष गौतमले उद्योगी व्यवसायीका समस्या समाधानको लागि व्यवसायी र संघीय सरकारको बीचमा मध्यस्थता गर्दै आएको बताउँदै समस्या समाधानको लागि व्यवसायिक संस्थाहरुले समेत पहलकदमी गर्न आग्रह गरे । उनले मोतिपूर औद्योगिक क्षेत्र निर्माणको काम चालु हप्तादेखि नै सुरु हुने जानकारी गराउँदै बुटवल–पाल्पा सडक खण्डमा पर्ने दोभान क्षेत्रको समस्या समाधानको लागि प्रदेश सरकारले प्लानिङ् गरेको र त्यसलाई संघीय सरकारमा पहल भइरहेको समेत जानकारी दिए ।
त्यस अवसरमा संघका अध्यक्ष खिमबहादुर हमालले सरकारको अस्थिरताको कारण निजी क्षेत्रका समस्या जस्ताको त्यस्तै रहेको बताउँदै मुलुकको अर्थतन्त्र सुदृढीकरणको लागि सरकार निजी क्षेत्र मैत्री हुनुपर्ने र लगानीमैत्री वातावरण बनाउनुपर्ने बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठ, लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण कुमार शर्मा, संघका पूर्व अध्यक्ष कुशप्रसाद मल्ली, नेपाली कांग्रेस बुटवल नगर सभापति खेलराज पाण्डे लगायतले यस क्षेत्रका उद्योगी व्यवसायीले भोग्नु परेका समस्या राख्दै समाधानको लागि सरकारसंग आग्रह गरेका थिए ।
संघका वरिष्ठ उपाध्यक्ष उज्वल कसजुले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए भने महासचिव दिनेशप्रसाद श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij