
सोमवार , फाल्गुण १०, २०७७
बुटवल, १० फागुन ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका पूर्वअध्यक्ष हिराप्रसाद श्रेष्ठलाई सम्मान गरिएको छ । संघका पूर्व अध्यक्ष श्रेष्ठले संघको श्रीबृद्धिमा पुर्याएको योगदानको उच्च मुल्यांकनसहित ६८ औं स्थापना दिवसमा सम्मान गरिएको हो ।
२०१० साल फागुन १० गते स्थापना गरिएको बुटवल उद्योग वाणिज्य संघको सोमबार भएको ६७ औं वार्षिक साधारणसभा तथा २४ औं अधिवेशनको उद्घाटन समारोहमा पूर्वअध्यक्ष श्रेष्ठकी धर्मपत्नी सीतादेवीलाई कदरपत्र प्रदान गरिएको हो । उनलाई नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कदर पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
साधारण सदस्यबाट उद्योग वाणिज्य संघमा प्रवेश गरेका श्रेष्ठ कार्यसमिति सदस्य, कोषाध्यक्ष, सचिव हुँदै २०४८ देखि ०५३ सम्म दुई कार्यकाल अध्यक्ष भएर संघको नेतृत्व सम्हालेका थिए ।
त्यसै अवसरमा संघले प्रत्येक तीन वर्षमा प्रदान गर्दै आएको आर्थिक पत्रकारिता पुरस्कार यो वर्ष युवा पत्रकार कपिल ज्ञवालीलाई प्रदान गरिएको छ । आर्थिक विकासको क्षेत्रमा कलम चलाउने पत्रकारलाई सम्मानको लागि स्थापना गरिएको उक्त पुरस्कार रुपन्देहीलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका पत्रकार ज्ञवालीलाई प्रदान गरिएको हो । उनलाई नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कदर पत्रसहित दोसल्ला आढाएर उक्त पुरस्कार प्रदान गरेका हुन् ।सो पुरस्कारको राशी २५ हजार रुपैंया रहेको छ । पत्रकार ज्ञवाली बुद्ध सामुदायिक टेलिभिजनमा कार्यरत छन् ।
त्यसै गरी संघले संस्थागत रुपमा बुटवलबाट प्रकाशित हुने बुटवल टुडे दैनिक पत्रिकालाई सम्मान गरेको छ । यसै अवसरमा संघले उद्योग, व्यापार, कृषि, सेवा क्षेत्र र महिला गरी ५ विधामा उत्कृष्ट उद्योगी व्यवसायीलाई समेत सम्मान गरेको छ । संघले उद्योगतर्फ बुटवल उपमहानगरपालिका ५ ट्राफिकचोकको ब्लाक फरेष्ट, वाणिज्यतर्फ बुटवल ११ कालिकानगरको जयकृष्ण ट्रेडिङ्, बुटवल ५ अमरपथको एच आई ट्रेनिङ् सेन्टर, सेवातर्फ बुटवल ९ को क्लव डेनोभो, कृषितर्फ सियारी गाउँपालिका छपियाको द सिल्भर ग्रीन फिसरी एण्ड एग्री कल्चर र महिलातर्फ बुटवल ९ सितलकुञ्जको इन्टरटेक प्रा.लि.लाई सम्मान गरिएको हो ।
आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्ने पत्रकार छनौटको लागि पूर्व अध्यक्ष अर्जुनमान सैंजु र उद्योगी व्यवसायी सम्मानको लागि पूर्वअध्यक्ष नवराज श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको थियो । त्यसै अवसरमा संघका पूर्वअध्यक्षहरुलाई समेत सम्मान गरिएको थियो । संघको स्थापना दिवसकै अवसरमा बुटवल माध्यमिक विद्यालयलाई १० थान डेस्कबेन्च प्रदान गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij