
बिहिवार , जेठ १०, २०८१
भैरहवा, १० जेठ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार बुद्ध जन्मभूमि लुम्बिनीलाई विश्व शान्ति र धार्मिक पर्यटकको गन्तव्यको रूपमा विकास गर्न क्रियाशील रहेको बताएका छन् । २५६८ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस–२०८१ को अवसरमा बिहीबार लुम्बिनीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संसारभरीका करोडौं बौद्ध समुदाय एवं आम मानिसले समेत जीवनमा एकपटक दर्शन/अवलोकन गर्नैपर्ने पवित्र तीर्थस्थलको विकासमा सरकार लागिपरेको बताए ।
उनले वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध जन्मभूमिलाई विश्व शान्ति र धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकसित गर्न क्रियाशील रहेको बताए ।
उनले नेपालले आयोजना गरेको तेस्रो लगानी सम्मेलनमा बृहत्तर लुम्बिनी विकास परियोजनासम्बन्धी प्रस्ताव प्रस्तुत भई वैदेशिक लगानीका लागि विश्व समुदायलाई आव्हान गरिएको जानकारी दिएका छन् ।
बुद्धको जन्मभूमि लुम्बिनीको भ्रमण गर्न पाउनु विश्वका प्रत्येक नागरिकका लागि गौरवको विषय भएको बताउदै उनले लुम्बिनीलाई विश्वभरिका बुद्धिष्टहरूको ‘बर्थिङ सेन्टर’ का रूपमा विकास गर्ने र त्यसमार्फत् यस क्षेत्र र सिंगो देशको पर्यटन प्रवद्र्धननमा उच्च सफलता हासिल गर्ने सम्भावना रहेको बताए । उनले शाक्यमुनि गौतमबुद्ध शील, समाधि र प्रज्ञाका प्रतिमूर्ति एवं शान्ति, एकता र सद्भावका सामूहिक प्रतीक भएको बताए ।
‘पूर्वीय दर्शन र चिन्तन परम्परामा बुद्धको विचार र त्यसको प्रभाव निकै महत्वपूर्ण छ । उनले भने, ‘मानव सभ्यता र संस्कृतिको विकासमा, ज्ञान निर्माण (आर्जन) र प्रज्ञाको अभ्युदयमा बुद्धको मार्गदर्शन अत्यन्तै प्रभावशाली छ ।’ बुद्धको जन्मले नेपाललाई विश्वमा चिनाउने मात्र नभइ धार्मिक पर्यटनको माध्यमबाट असीमित सम्भावना समेत उपलब्ध गराएको बताए ।
मौर्यसम्राट अशोकद्वारा निर्मित अशोक स्तम्भको शिलालेखले बुद्धको जन्म लुम्बिनीमा भएको तथ्य अकाट्य रूपमा प्रमाणित भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण मानव जातिको साझा धरोहर एवं विश्व सम्पदाको महत्वपूर्ण अंग पवित्र लुम्बिनीको विकासका लागि सरकारले लुम्बिनीलाई राष्ट्रिय गौरवको आयोजनामा सामेल गरी लुम्बिनी गुरूयोजनाको बाँकी कार्य यथाशक्य पूरा गर्न लागिपरेको स्पष्ट पारे ।
उनले अन्तर्राष्ट्रिय दातृ राष्ट्र तथा संघसंस्थाहरूको समेत सहयोग तथा सहभागीतामा सरकारले कपिलवस्तु क्षेत्र, देवदह क्षेत्र तथा रामग्रामको पुरातात्विक उत्खनन्, संरक्षण, प्रवद्र्धन तथा विकास गरी स्थानीयबासीलाई विकासको प्रतिफल दिलाउन प्रयास गरिरहेको जानकारी दिए ।
बृहत्तर लुम्बिनी विकास परियोजनाको सफल कार्यान्वयनमार्फत् उक्त सम्भावनालाई यथार्थमा बदल्न सकिने बताउँदै उनले यस कार्यका लागि प्रस्ताव बनाउन र पहल अगाडि बढाउन लुम्बिनी विकास कोषलाई निर्देशन दिए ।
नेपाल सरकारले सन् २००४ मा दोश्रो विश्व बौद्ध शिखर सम्मेलन आयोजना गरी सफलतापूर्वक सम्पन्न गरेको स्मरण गर्दै प्रधानमन्त्रीले तेस्रो शिखर सम्मेलन छिटै आयोजना गरिने व्यहोरासमेत जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij