२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

पोलियो खोपका केही कुरा

शुक्रवार , जेठ ११, २०८१

सरकारले पोलियो खोप लगाउन छुटेका १४ लाख ६२ हजार ६ सय १२ बालबालिका लक्षित गर्दै जेठ १३ गते आइतबारदेखि पोलियोविरुद्धको खोप अभियान सुरु गरेको छ ।

यस अन्तर्गत रुपन्देहीमा पनि ७० हजार बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले बताएका छन् । ढकालका अनुसार जेठ १३ देखि १६ सम्म पहिलो चरणमा बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर, लुम्बिनी साँस्कृतिक, तिलोत्तमा, देवदह, सैनामैना नगरपालिका तथा ओमसतिया, रोहिणी, शुद्धोधन र सियारी गाउँपालिकाका र दोस्रो चरण जेठ २० देखि २३ गतेसम्म गैडहवा, कञ्चन, सम्मरीमाई, मर्चवारी, कोटहीमाई र मायादेवी गाउँपालिकामा खोप लगाइनेछ ।

नेपालले सन् २०१४ मै पोलियोमुक्त राष्ट्रको रुपमा प्रमाणपत्र प्राप्त गरिसकेको छ । तर, दक्षिण एसियाली मुलुक पाकिस्तान र अफगानिस्तानमा अहिले पनि पोलियो देखिएका कारण नेपालमा पनि जोखिमको खतरा रहेकाले खोप अभियान सुरु गरिएको हो ।

पोलियोको इतिहास

पोलियोको पहिलो महामारी अमेरिका रुटल्याण्ड काउन्ती थेर्मोन्टिमा देखिएको थियो । सन् १९८४ को जुनमा फैलिएको महामारीबाट १८ जनाको ज्यान गएको थियो भने १ सय ३२ जनालाई प्यारालाईसिस भएको थियो । डा. चालर्स कामर्लीले उक्त रोगले स्नायु प्रणालीलाई असर गर्छ भनेर पत्ता लगाएका थिए । प्यारालाइसिस हुने र नहुने दुई खालका पोलियो हुन्छन् भनेर पत्ता लगाउने पनि उनै हुन् । तर, पोलियो सर्ने खालको रोग हो की होइन भनेर चाहि उनले पत्ता लगाउन सकेनन् । पोलियोको सर्ने प्रकृति भने सन् १९०५ मा पत्ता लागेको थियो ।

खुला प्रजातिका पोलियो भाइरस तीन प्रकारका हुन्छन् र वैज्ञानिक हिसाबले तीन फरकफरक हुन्छन् । तर, पक्षघात वा मुत्यु समेत निम्त्याउने पोलियो भाइरसका लक्षण चाहि समान हुन्छन् । विश्वभरीबाट टाइप टु नामक पोलियो भाइरस उन्मुलन भएको ७ वर्ष अघि घोषणा गरिएको थियो भने विश्व स्वास्थ्य संगठनका अनुसार टाइप थ्री नामक भाइरसको उन्मुलन ५ वर्ष अघि भएको हो । तर, टाइप वान नामक भाइरस चाहि पाकिस्तान र अफगानिस्तानमा अझै देखिएको छैन ।

पोलियोले खास गरी पाँच वर्षमुनीका बालबालिकालाई असर गर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक २ सय बिरामीमध्ये एकजना बिरामीलाई हुने पक्षघात पूर्ववत अवस्थामा फर्किन नसक्ने प्रकारको हुन्छ । पोलियोको उपचार छैन तर, खोप लगाएर बच्चाहरुलाई पोलियो लाग्नबाट बचाउन सकिन्छ । विश्वभरी ठूलो स्तरमा चलाइँदै आएको खोप कार्यक्रम पोलियोविरुद्धको लडाइमा महत्वपूर्ण सावित हुँदै आएको छ ।

पोलियाका लक्षणहरु

ज्वरो आउने, रुघाखोकी लाग्ने, टाउको दुःख्ने, पेट दुख्ने, बान्ता हुने, हातखुट्टा दुख्ने जस्ता लक्षण तथा चिन्हरु देखा पर्छ । केही बालबालिकामा यसले अतिशिघ्र पक्षघात गराइ अपांग पनि गराउँछ भने बालबालिकाको मृत्यु समेत हुन्छ । पोलियो रोगको भाइरस निकै संक्रामक हुन्छ । रोगको घाटी र आन्द्रामा यो भाइरस रहन्छ । पोलियो रोगीको दिसाबाट यी भाइरसहरु बाहिर निस्कन्छन् र वातावरणमा फैलिन्छन् । यो रोगको भाइरस दुषित खाना, पानी र फोहोर हातबाट बालबालिकाको शरीरमा प्रवेश गर्छ र दिसाबाटै निस्के अरुमा सर्छ ।

जन्मदेखि पटकपटक पनि खोप नलिएका वा खोप पूरा मात्रामा नलिएका बालबालिका यस रोगको उच्च जोखिममा हुन्छन् । समुदायमा एक जना बच्चालाई पनि पोलियो रोग देखिएमा अरु बालबालिकालाई सर्ने सम्भावना हुन्छ । खोप अभियान सञ्चालन भए तापनि खोप सेवा राम्ररी उपभोग नभएका ठाउँमा बालबालिका पनि यस रोगमा जोखिममा पर्न सक्छन् । स्रोत : स्वास्थ्य कार्यालय, रुपन्देही