
शुक्रवार , जेठ ११, २०८१
लुम्बिनी, ११ जेठ ।
प्राचीन कपिलवस्तुको पुरातात्विक क्षेत्रको अन्वेषण, उत्खनन् संरक्षण तथा विकासका लागि वृहत गोष्ठी गर्नुपर्ने प्रस्ताव गरिएको छ । २५६८ औं बुद्ध जयन्तीका दिन कपिलवस्तुको तिलौराकोटमा शुक्रबार आयोजित बुद्ध जयन्ती तथा प्रसुती उत्सव समारोहमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले सबै सरोकारवालाहरुबीच एकै ठाउँमा बसेर साझा धारणा र बुझाइका लागि वृहत गोष्ठीको प्रस्ताव गरेका हुन् ।
उपाध्यक्ष डा. लामाको प्रस्तावमा समारोहका प्रमुख अतिथि राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले समर्थन जनाउँदै अब सबै पक्ष बसेर कपिलवस्तुको पुरातात्विक अन्वेषण, संरक्षण र विकासका लागि साझा दृष्टिकोण बनाउनुपर्ने बताइन् । उनले लुम्बिनी विकास कोषले कपिलवस्तुलाई उपेक्षा गरेको गुनासो धेरै हुने तर यसको समस्याबारे एकै ठाउँमा बसेर छलफल गर्दा त्यसले परिणाम ल्याउन सहयोग गर्ने बताइन् । ‘मन्त्रीदेखि सांसदसम्मले गुनासो गरेका छौं, खासमा बुद्धको गृह नगर कपिलवस्तु ओझेलमा किन छ, यसबारेमा जनप्रतिनिधि, स्थानीयहरु सबै जागरुक बनौं’ उपाध्यक्ष घिमिरेले भनिन् ।
बुद्ध जयन्तीको भोलिपल्ट लुम्बिनीबाट तिलौराकोटमा दरबार ल्याइएको शिशु बुद्धलाई स्वागतपछि लुम्बिनी विकास कोषको आयोजना तथा कपिलवस्तु नगरपालिकाको सहयोगमा तिलौराकोट दरबारमा प्रसुती उत्सवका रुपमा कार्यक्रम गरिएको थियो । कार्यक्रमलाई भव्य बनाउनका लागि कपिलवस्तुबासीले समेत बुद्ध जयन्तीलाई महत्व दिनुपर्नेमा उपाध्यक्ष घिमिरेले जोड दिइन् ।
कोषका उपाध्यक्ष डा. लामाले नियुक्त भएदेखि नै बुद्धको गृहनगरलाई व्यवस्थित र एक करोड बढी बुद्धिष्टहरुलाई आमन्त्रण गर्ने गरी विकास गर्ने सोच बनाएको समेत बताए । उनले पुरातात्विक स्थल भएकाले कतिपय संरचना बनाउन चाहेर पनि बनाउन नसकेको भन्दै आगामी दिनमा कसरी जाने भन्नका लागि वृहत रुपमा गोष्ठी गर्नुपर्ने बताए । उनले कपिलवस्तुबाट प्रतिनिधित्व गर्ने मन्त्री, सांसद्, पूर्व सांसद्, यहाँका सम्पूर्ण स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक पार्टीका नेता, पुरातत्व विभाग र विज्ञहरु बसेर कपिलवस्तुलाई विकास गर्नका लागि सार्वजनिक सुनुवाई गर्न आवश्यक रहेको बताए । ‘अब गुनासो गर्ने मात्रै होइन, समस्या कहाँ छ, कसले बनाएको छ, त्यसलाई चिर्नका लागि सिंहदरबारमा दबाब दिनुपर्छ’ उनले भने । उनले आफूहरुले चाहेर मात्रै पुरातात्विक स्थलहरुमा चाहेर विकास गर्न नसकिने बताए ।
उनले तिलौराकोटलाई कोषले प्राथमिकतामा राखेर काम अघि बढाएको र केही वर्षमै अब तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुने बताए । कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरणमन्त्री अर्जुन कुमार केसीले बुद्धको गृहनगरको विकासको गति निकै सुस्त भएको भन्दै कोषले ध्यान दिनुपर्ने बताए । उनले विदेशी विश्वविद्यालयको प्रयोगशाला मात्रै कपिलवस्तुलाई नबनाउन आग्रह गर्दै तिलौराकोटमा हुने उत्खनन्मा नेपाली विज्ञ टोली उत्पादन गरी अघि बढ्न सुझाव दिए ।
लुम्बिनी प्रदेश सभा सदस्य सुधाकर पाण्डेयले लुम्बिनीमा लुम्बिनीमा प्रधानमन्त्रीको उपस्थितिमा बुद्ध जयन्ती तामझामका साथ मनाइरहँदा तिलौराकोटमा सामान्य कार्यक्रम गरेर मनाइएको गुनासो पोखे ।
कार्यक्रममा कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेल, लुम्बिनी विकास कोषका बोर्ड सदस्य नारद कोहार, परिषद सदस्य गोपिकृष्ण शर्मा, दामोदर सापकोटा लगायतले बोलेका थिए । त्यस्तै सोही अवसरमा माछापुच्छ्रे बैंकले कपिलवस्तु क्षेत्रको सरसफाईका लागि ‘ग्रास कटर’ मेशिन प्रदान गरेको छ । माछापुच्छ्रे बैंक लुम्बिनी शाखा प्रबन्धक वर्षा खनाल र तौलिहवा शाखा प्रमुख संघर्ष रेग्मीले कोषको तिलौराकोट सम्पर्क कार्यालयका प्रमुख माधव प्रसाद आचार्यलाई हस्तान्तरण गरे ।
प्रसुती उत्सव कार्यक्रममा प्रदेश सभा सदस्य गिरीधारीलाल न्यौपाने, लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, बोर्ड सदस्य श्याम रोक्का, विभिन्न स्थानीय तहका वडाअध्यक्ष, पत्रकार, विज्ञ र स्थानीयहरुको उपस्थिति थियो । प्रत्येक वर्ष लुम्बिनीबाट मायादेवीले बोधिसत्व सिद्धार्थलाई लिएर तिलौराकोट दरबार फर्कदै गर्दाको प्रतिकको रुपमा लुम्बिनीबाट शिशु बुद्व प्राचीन कपिलवस्तुको तिलौराकोट दरबार ल्याउने गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij