
आइतवार , जेठ १३, २०८१
भैरहवा । बुटवल उपमहानगरपालिका ११ का रामबहादुर राना कौसी खेती र करेसावारी खेतिमा रमाएका छन् । थोरै लगानीमा घरमै बसेर कौसी खेती र करेसारीबाट स्वस्थकर तरकारी खान पाउने भएपछि उक्त खेतिमा आकर्षण बढेको रानाको भनाई छ ।
रानाले घरको छतमा कौसी खेती गरेका छन् भने घर छेउको १० धुर जग्गामा करेसावारी गर्दै आएका छन् । उनले कुरीलो, टमाटर, घिरौला, करेला, बोडि, सागपात लगाएतका तरकारी कौसी खेतीका रुपमा छतमा लटरम्म रुपमा फलाएका छन् । उनको कौसी खेती अरुका लागि प्रेरणा दिने खालको छ । कौसीमा मात्र होईन राना करेसावारीमा पनि उत्तिकै रुपमा रमाएका छन् । करेसावारीमा भान्टा, बोडि, करेला, लसुन, प्याज, फर्सी, ब्रो काउली, लौका खुर्सानी तगाएतका तरकारी लगाएको रानाको भनाई छ ।
घरमा बसेर आफ्नै मेहनतले अर्गानिक तरकारी खान पाईने हुँदा कौसी र करेसावारी खेतीमा रमाएको रानाको भनाई छ । उनले घरमा निष्किएको फोहरबाट मल बनाएर तरकारी खेति गर्न पाउदाँ घरमा फोहरको पनि समाधान हुने, तरकारी किन्नका लागि बजार जान नपर्ने हुदाँ कौसी र करेसावारी खेतीमा आर्कषण बढेको उललेख गरे ।
बिगत ३/४ बर्षदेखि कौसी र करेसावारी खेती गर्दै आएका रानालाई बुटवल उपमहानगरपालिकाले आबश्यक तालिमका साथै ग्रिन टनेल निर्माणमा पनि सहयोग गर्दै आएको छ । उपमहानगरको सहयोगका कारण खेती तर्फ थप आकर्षण बढेको रानाको भनाई छ ।
रानाले घरमा फलाएको तरकारीले आफ्नो परिवारलाई प्रसस्त मात्रामा पुग्ने गरेको बताए । अहिलेसम्म बजारमा गएर तरकारी किन्न परेको छैन्, तरकारी खेतीका कारण शारिरिक रुपमा शरिर तन्दुरुष्त राख्न तथा अर्गानिक तरकारी सेवनले अन्य रोग लाग्नबाट पनि जोगाएको छ, रानाले भने सबैले यसैगरी कौसी खेती गरे तरकारीमा आत्मनिर्भर बन्न धेरै समय लाग्दैन् ।
उनले आफुले उत्पादन गरेको कौसी तरकारी वरपरका छिमेकी तथा ईष्टमित्रलाई कोशेलीको रुपमा पनि दिने गरेको बताए । राना जस्तै बुटवल उपमहानगरपालिका १३ का यमलाल भुसाल, बुटवल १० का सरु पौडेल र सुमि बरालले पनि निरन्तर रुपमा कौसी खेति गर्दै आएका छन् ।
बुटवल उपमहानगरपालिकामा ३/४ वर्षदेखि निरन्तर चल्दै आएको कौसी खेती प्रभावकारी देखिएको छ । स्थानिय पालिकाले कौशी कौसी खेती र करेसावारीलाई आवश्यक तालिम, बजेट, विउबिजन र बिरुवा सहयोग गरेपछि कौशी खेती र करेशावारी खेति प्रभावकारी बनेको हो ।
बुटवल उपमहानगरपालिकाले कौसी खेती संचालनका लागि घरमा जम्मा हुने फोहोरलाई वर्गिकरण गर्न सिकउनुका साथै कुहिनेलाई कम्पोष्ट मल बनाएर कौशी र करेसावारीमा प्रयोग गर्न सिकाउदै आएको छ ।
बुटवलले विभिन्न समुह, सहकारी टोलविकास संस्था लगाएतलाई आधारभुत क्षमता विकास, यसको अवधारणा, कौसी खेती गर्ने तरीका, मल प्रयोग, कुन कुन विरुवा लगाउने लगाएतका कुरा सिकाउदै आएको छ । जसले गर्दा कृषकलाई खेति गर्न सहज भएको छ ।
विगतका बर्षमा २५ सय जनालाई तालिम दिइएको तथा गतवर्ष मात्र १ हजार ५८ जनालाई तालिम दिईएको बुटवल उपमहानगरपालिकाका कृर्षि महाशाखा प्रमुख सन्तोष जिसीले जानकारी दिए । उनले यस बर्ष ५ सय ६४ जनालाई तालिम दिईएकोमा २ सय ६८ जनाले यो खेति गरिरहेको बताए ।
देश संघीय संरचनामा रुपान्तरित भएपछि स्थानीय सरकारले जनता लक्षित योजना तथा कार्यक्रमहरु ल्याएका छन् । स्थानिय नागरिकको आवश्यकता र अपेक्षाका आधारमा कार्यक्रम सञ्चालन हुन थालेपछि जनताले सरकार भएको अपनत्व महसुस गर्न पाएको बताएका छन् ।
बुटवल उपमहानगरपालिकाले स्थानीय सरकारको जिम्मेवारी अन्तर्गत रहेको सहरी कृषि प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको छ । यसले मूलतः शहरी किसानलाई उत्पादनमा जोड्न सहयोग गरेको छ । उपमहानगरले स्थानीय किसानलाई अनुदानमा बीउ तथा उपकरण प्रदान, फसल धितो राखेर अनुदान, जग्गा भाडामा लिएर खेती गर्नेलाई अनुदान, कौसी तरकारी खेती, जैविक मल र महामारीमा आर्थिक प्रोत्साहनसहितका कार्यक्रमसहित सहरी कृषि प्रबद्र्धन अभियान सञ्चालन गरेपछि स्थानीय किसान खुशी बनेका छन् ।
बुटवल उपमहानगरपालिका वडा नं. १४ का रामनाथ उपाध्यायले बिगत १५ वर्षदेखि आफ्नै स्वामित्वमा रहेको १३ कट्ठा र १३ कट्ठा लिजमा लिएर २६ कट्ठामा आर्गनिक कृषि तथा पशुपन्छी फारम सञ्चालन गरिरहेका छन् ।
उनी भन्छन्, ‘कृषि पेशाबाटै परिवारको जीविका चलिरहेको छ । यति मात्रै होइन, केही व्यक्तिले रोजगारी पाएका छन् भने उत्पादन बिक्रीबाट दैनिकरुपमा केही रकम बचत पनि भइरहेको छ ।’ उनका अनुसार सिजन अनुसारका तरकारी खेतीमा रसायनिक मल प्रयोग गरिँदैन । प्राङ्गारिक मलको प्रयोग गरेर सबै उत्पादन गर्दै आएको बताउदै उपाध्यायले उत्पादन भएको तरकारीले बजार पाएतापनि कृृषकको लगानी र मेहनतअनुसार भने तरकारी मुल्य नपाएको गुनासो गरे ।
पछिल्लो समय उपमहानगरपालिकाले कृषकका गुनासो सुनुवाई गर्दै राहात हुने गरि प्याकेजमा कार्यक्रम सञ्चालन गरेको छ । त्यसबाट कृषकलाई केहि मात्रामा भएपनि फाइदा पुगेको छ । उपाध्याय भन्छन् ‘कृषि पेशामा आबद्ध भएको लामो समयपछि मेरो मेहनतको मूल्याङ्कन गर्दै उपमहानगरपालिकाले बिरुवाका बेर्ना उर्मान तथा घर बनाउनका लागि २० हजार, तोरीको बिउका लागि ६ हजार, पशु गोठ मर्मतका लागि ३५ हजार सहयोग दिएको छ ।’
बुटवल–१२ की सावित्रा रेग्मीको दैनिकी खेतमा नै बित्ने गर्छ । रेग्मी आफू मात्रै व्यस्त छैनन् उनीसँगै गाउँका ६ जना महिला पनि उत्तिकै व्यस्त छन् । सिद्धबाबा तरकारी उत्पादक कृषक समूहबाट रेग्मीसहितको समूहले २ बिगाहा जमिन भाडामा लिएर सामूहिक खेती गरिरहेका छन् । बुटवल उपमहानगरपालिकाले कृषि व्यवसाय प्रबद्र्धन ऐन, २०७४ पारित गरि कार्यान्वयनमा ल्याएपछि जग्गा नहुने तर कृषि गर्न चाहनेले जग्गा भाडामा लिएर सामूहिक खेती गर्न सहज बनाइदिएको छ ।
स्थानीय सरकारको कानुनी व्यवस्थाले पनि यस्ता सामूहिक खेतीको प्रबद्र्धनलाई सहयोग पुगेको उनको भनाई छ । कृषिको व्यावसायिक उत्पादन, खरिद, बिक्री, सञ्चय र बजारीकरणका लागि उपमहानगरले सहजीकरण गर्ने, अनुदान र प्रोत्साहन र सामूहिक खेती प्रोत्साहन गर्ने व्यवस्था ऐनमा गरिएका कारण बुटवलका सामूहिक खेती गर्न चाहने कृषि उत्साहित भएका छन् ।
विगत ५ बर्षदेखि सामूहिक तरकारी उत्पादन गर्दै आएको सिद्धबाबा तरकारी उत्पादक कृषक समूहले स्थानीय बुटवल उपमहानगरपालिकाको ऐनमा भएको व्यवस्थाअनुरुप नै काम गरेका कारण जग्गा भाडामा लिनेदेखि सहुलियत अनुदान समेत पाएको रेग्मीले बताउँछिन् ।
बुटवल उपमहानरापलिकाका प्रमुख खेलराज पाण्डेले कौसी, करेसा खेती र ठुलो क्षेत्रफलमा लगाईने तरकारी खेतीका लागि आबश्यक सहयोग गर्दै आएको बताए । उनले किसानलाई उद्यमी बनाउने गरी उपमहानगरपालिकाले तालिम देखि विउपल र प्रबिधि हस्तानत्रणमा सहयोग गरेको बताए ।
नगर प्रमुख पाण्डेले कृषि क्षेत्रमा देखिएका समस्या समाधानको लागि किसानको माग र आवश्यकताका आधारमा किसानबाट नै सल्लाह, सुझाब लिएर सोहीअनुसार कार्यान्वयन गर्दै आएको बताए ।
पाण्डेका अनुसार स्थानीयलाई जीवनस्तर वृद्धिका लागि आधुनिक व्यवसायीक कृषि विकासको लक्ष्यलाई साकार बनाउन सहरी कृषि लक्षित कार्यक्रम सञ्चालन गरिरहेको छ । उपमहानगरले किसानले माग गरेअनुसार बिउ बिजनमा ५० प्रतिशत अनुदान रहेको र उत्पादनमा आधारित खाद्यान्न बालीको बिउ उत्पादन (धान, गहुँ, मकै) तरकारी उत्पादन (रायो, गोभी, सिमि गाजर लगायत), मसला (लशुन, प्याज, बेशार लगायत) र फलफूलमा प्रतिकेजी तीन रुपैयाँका दरले किसानलाई नगद अनुदान प्रदान गर्दै आएको छ ।
बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवीे अर्यालले बुटवललाई कृषिमा आत्म निर्भर बनाउनका लागि पालीकाले विभिन्न योजनाहरु ल्याएको बताईन । पछिल्लो समय विषादीयुक्त खानेकुराको प्रयोगका कारण हरेक जीवित प्राणीमा नकरात्मक असर पारेको हुनाले प्राङ्गारिक मललाई प्रयोगमा ल्याइएको र यसले आर्गनिक उत्पादनमा जोड दिएको उनको भनाई छ । उनले अर्गानिक तरकारी खेतीलाई प्रबद्धन गर्न तथा स्थानिय तरकारी उत्पादनमा आत्मनिर्भर बनाउनका लागि कौसी तथा करेसावारी खेतीमा पनि जोडिएको बताईन् ।
बुटवल उपमहानगरपालिकाको कुल ३२ प्रतिशत क्षेत्रफल खेतीयोग्य छ । उपमहानगरपालिका कृषि शाखाका अनुसार करिब ४ हजार घर परिवार कृषि पेशामा आबद्ध रहेका छन । कुल खेतीयोग्य जमिनको २० प्रतिशत क्षेत्रफलमा सिंचाइ सुविधा पुगेको छ भने किसानको मागअनुसार एकलाख मूल्यसम्मका साना ट्युबवेल पनि किसानलाई वितरण गरिएको कृषि विकास शाखाका अधिकृत सन्तोष जिसीले बताए ।
पालिकाले जैविक खेतीका लागि जैविक मलको उत्पादन गर्न पनि उपमहानगरले अनुदानको व्यवस्था गरेको छ।
तीबाहेक बाँझो जग्गाको सदुपयोग गर्नेगरी जग्गा भाडामा अनुदान, उत्पादनमा आधारित कार्यक्रम, व्यवसायिक तरकारी उत्पादन पकेट क्षेत्र विकास कार्यक्रम, व्यवसायिक मौरीपालन, फलफूल बगैंचा स्थापनाका लागि सामुहिक खेती, कृषि औजार उपकरणमा अनुदान, कौसीमा तरकारी खेती कार्यक्रम, ‘एक स्थानीय तह, एक उत्पादन’ जस्ता कार्यक्रमले बुटवलको कृषि क्षेत्र मौलाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij