
सोमवार , जेठ १४, २०८१
तिलोत्तमा, १४ जेठ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सुचनाको हक सम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । आइतबारदेखि सुरु भएको कार्यक्रममा नगरभित्रका जनप्रतिनिधि, वडा सचिव, सामूदायिक विद्यालयका प्रतिनिधि साथै सरोकारवालाको सहभागीता रहेको छ ।
उक्त कार्यक्रममा बोल्दै नगरप्रमुख रामकृष्ण खाणले सूचनाको हक नागरिकको मौलिक हकमै पर्ने भएकाले यसको पारदर्शीतामा नगरपालिका अडिग रहेको बताए । उनले नागरिक र स्थानीय तहबीचको समन्वय प्रभावकारी भए सुशासनयुक्त पालिका बनाउन सहज हुने जनाए । सूचनाको हक सम्बन्धी कार्यक्रमले नागरिकलाई सूचना पाउने विधि र तरिकाबारे जानकार गराउने र यसले सम्बन्धित निकायलाई जवाफदेही बनाउने उनले बताए ।
कार्यक्रममा बोल्दै पालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले कस्ता प्रकृतिका सूचना कुन माध्यमबाट पाउन सकिन्छ र सार्वजनिक निकायले दिने गरेका सूचनाको अवस्थाबारे जान्न यस कार्यक्रमले सघाउने बताए । उनले सार्वजनिक निकायले सूचना माग भएको बखत दिनुपर्ने र प्रक्रियागत सूचना मागबारे सुचना मागकर्ता जानकार हुनुपर्ने बताए । उनले सूचनाको हकको अपव्याख्या भएर सार्वजनिक पद धारण गरेका व्यक्तिले अफ्ठ्यारो व्यहोर्नुपरेका स्थिति समेत आउने भन्दै स्थानीय तहले आफ्ना आयव्यय, बोलपत्र लगायतका सूचनालाई आधिकारिक वेबसाईटमा राखेरै जनतालाई सुसुचित गरिरहेको जनाए ।
नगरपालिकाकोे सामाजिक विकास समितिका संयोजक रवि सेन्चुरीले सूचना समयसँगको माग भएकाले यो विश्वव्यापी महत्वपूर्ण विषय भएको बताए । उनले सूचनाको हक सम्बन्धि ऐनले व्यवस्था गरेको नीति अनुसार लोकतन्त्रको संरक्षणकै लागि पनि सूचनाको हक आवश्यक मानिने बताए ।
सो अवसरमा बोल्दै सूचना अधिकारी माधव प्रसाद पोखरेलले सूचनाको हकमा सार्वजनिक निकायको दायित्व, कसैले सूचना माग्दा अपनाउनुपर्ने विधि, प्रक्रिया बारेको ज्ञान प्रदान गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताए । उनले सूचनाको हकको मापदण्डले तय गरेको विभिन्न विषयमा सरोकारवाला जानकार भइ सूचना दिदा सही र स्पष्ट सुचना बाहिर जाने भएकाले यससम्बन्धी अध्ययन जरुरी रहेको बताए । तिलोत्तमा–१ स्थित एस आर होटलको सभाहलमा जारी कार्यक्रमको पत्रकार किरण कौशलले सहजीकरण गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij