२०८३, आषाढ १२ गते

Jun 26 2026 | २०८३, आषाढ १२ गते

ओमसतिया ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ पालिका घोषणा

बिहिवार , जेठ १७, २०८१

  • 931
    Shares
  • 931
    Shares
  • भैरहवा, १७ जेठ ।
    रुपन्देहीको ओमसतिया गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामीत्व र सहभागीता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिवद्धता’ भन्ने मूल नाराका साथ गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता र दिगोपना’ घोषणा गरिएको हो । 

    घोषणा कार्यक्रममा सहभागीहरूले खोप लगाऔँ, रोग भगाऔँ भनेर साझा प्रतिवद्धता समेत गरेका छन् । जिल्ला खोप समन्वय समिति रुपन्देहीका अध्यक्ष तथा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाई र गाउँपालिका अध्यक्ष मन्जित कुमार यादवले संयुक्त रुपमा पालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना’ घोषणा गरेका हुन् । 
    पालिकामा १ देखि ६ वटै वडाका शून्यदेखि १५ महिना मुनिका नियमित खोप लगाइरहेको र १६ देखि ५९ महिनामुनीका सबै बालबालिकाहरूले खोप लगाइसकेकाले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा गरिएको ओमसतिया गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दीपक ज्ञवालीले बताए । उनका अनुसार अहिलेसम्म पालिकामा १ सय प्रतिशत  बालबालिकाले खोपकार्ड पाएको देखिएको छ ।

    ओमसतिया गाउँपालिका, जिल्ला खोप समन्वय समितिले अनुगमन गर्दा गाउँपालिकाका सबै बालबालिकाले सबै प्रकारको खोप लगाएको सुनिश्चित भएकाले ‘पूर्ण खोप सुनिश्चितता र दिगोपना’ घोषणा गरिएको हो । 

    अहिले बालबालिका ‘खोज र खोप’ भन्ने नीति अन्तर्गत कुनै पनि खोप लगाउने उमेर समूहका बालबालिका खोपबाट वञ्चित हुनुपर्ने अवस्था नभएको ज्ञवालीको भनाइ छ । सामुदायिक विद्यालयमा बालबालिका भर्ना गर्दा खोपकार्ड अनिवार्य गरिएको समेत उनले बताए । स्वास्थ्य संस्थाको टोली सबै घरघरमा पुगेर बालबालिकालाई पूर्ण खोप लगाए नलगाएको सुनिश्चित गरेपछि घोषणा गरिएको छ ।

    गाउँपालिका अध्यक्ष मन्जित कुमार यादवले प्रत्येक गाउँमा रहेका बालबालिकाको खोजी गरी खोपको पहुँचमा ल्याइएको बताए । 

    स्वास्थ्य सेवा कार्यालयले खोप उपलब्ध गराउँदा घोषणा कार्यक्रममा सहयोग पुगेको उनको भनाइ छ । खोपको पहुँच भन्दा कोही पनि बालबालिका बाहिर नरहेको उनले बताए । 
    कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाई, गाउँपालिका उपाध्यक्ष सुनिता चौधरी, स्वास्थ्य कार्यालय रुपन्देहीका राम प्रसाद ढकाल, गाउँपालिका प्रवक्ता मदन प्रसाद पोखरेल, प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्री, वडाअध्यक्ष प्रकाश सिंह चौधरी, अकलेश्वर कुमार पाण्डे, शिवकुमार धवल, कार्यपालिका सदस्य, वडा सदस्यलगायतको उपस्थिति रहेको थियोे ।