
बिहिवार , जेठ १७, २०८१
भैरहवा, १७ जेठ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ ले वार्षिक नीति तथा बजेट योजना तर्जुमा वडा भेला सम्पन्न गरेको छ । वडामा रहेका अति आवश्यक योजना तथा कार्यक्रमहरुलाई प्राथमिकताको आधारमा सूचीकृत गर्ने उद्देश्यले बुधबार भेला सम्पन्न भएको हो ।
भेलामा सहभागीहरुले अझै पनि वडा नम्बर ९ मा पूर्वाधार विकासमै जोड दिएका छन् । वडा नम्बर ९ मा अझै पनि धेरै बाटोहरु कच्ची रहेको कारण ती बाटोलाई पक्की गर्न वडाबासीले माग गरेका थिए । त्यस्तै लक्षित समुदायलाई सचेतना एवं उनीहरुलाई सीपमूलक तालीममा पनि सहभागीहरुको जोड रहेको थियो ।
कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले अन्य वडाको तुलनामा वडा नम्बर ९ सरसफाई र मानवीय विकासमा अग्रस्थानमा रहेको बताए । उनले अहिले नगरपालिकाले ‘ग्रीन, क्लिन र ईकोफ्रेण्डली’ को अभियानमा अगाडी बढेकोले यसमा सहयोग गर्न आग्रह गरे । उनले यो अभियान नगरपालिकाको प्रयासले मात्रै पुरा नहुने भएकोले यसमा नागरिकस्तरबाट नै सहयोग गर्नुपर्ने बताए । ‘सिद्धार्थनगर नगरपालिका पूर्वाधारको हिसुाबले अन्य नगरपालिका भन्दा अगाडि नै देखिएको छ । थापाले भने, ‘त्यसैले अब पूर्वाधारसँगै मानवीय विकासमा पनि जोड दिने गरी योजना छनौट गर्नुहोला ।’
थापाले वडाको विकासमा टोल सुधारको ठूलो महत्व हुने बताउँदै वडा नम्बर ९ यसमा नमूना नै रहेको बताए । उनले आगामी दिनमा टोल विकास संस्थाहरुलाई कसरी उत्प्रेरित हुने गरी काममा लगाउन सकिन्छ भन्ने ख्याल गरेर बजेट छुट्टयाइने बताए ।
कार्यक्रममा बोल्दै वडा नम्बर ९ का वडाअध्यक्ष शेषकान्त भण्डारीले टोलस्तरबाट नै आएको योजनाहरुलाई प्राथमिकतामा राखेर बजेट बनाइने बताए । उनले अहिले वडामा ९७ लाखको सिलिङ्ग रहेको कारण यसैको दायरामा रही योजना पेश गर्न सहभागीहरुलाई आग्रह गरे ।
वडा नम्बर ९ का वडा अध्यक्ष शेषकान्त भण्डारीको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत जनक थापाको प्रमुख आतिथ्यतामा सम्पन्न वडा भेलामा वडा सदस्यहरु युवराज बराल, बसन्त प्रसाद भट्टराई, सविता हरिजन, ६ वटै टोल सुधार समितिका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि, विद्यालयका प्रअ, अध्यक्ष लगायत वडाबासीहरुको सहभागीता रहेको थियो । वडा सचिव अब्दुल रसिल पठानको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत वडा सदस्य बसुन्धरा शर्माले गरेकी थिइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij