२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

बुटवलमा अत्याधुनिक पशु बधशाला, मासु व्यवसायी जान नमान्दा अस्वस्थ मासु उपभोग गर्न बाध्य

बिहिवार , जेठ १७, २०८१

बुटवल, १७ जेठ । किसानले पालेका खसीबोका बधशालामा ल्याएर उपभोक्तालाई स्वस्थ र स्वच्छ मासु विक्री गर्ने भन्दै रुपन्देहीको बुटवलमा अत्याधुनिक पशु बधशाला निर्माण गरियो । बुटवल उपमहानगरपालिका, लुम्बिनी प्रदेश सरकार र हेफर इन्टरनेशनलको लगानीमा निर्माण भएको बधशाला गत असोजदेखि सञ्चालनमा ल्याइए पनि अहिलेसम्म पनि आंशिक रुपमा मात्र सञ्चालनमा आएको छ ।

बुटवल उपमहानगरपालिकाले टेण्डर आह्वान गरी मुक्तिनाथ लाइभस्टकलाई पशु बधशाला सञ्चालन गर्न जिम्मा दिए पनि व्यवसायीहरुले अटेरी गरिरहेका छन् । दैनिक १ हजार खसीबोका बध गर्ने क्षमता रहेको बधशालामा अहिले दैनिक १०–१२ वटा खसीबोकाको मात्रै बध हुने गरेको छ ।

बधशालालाई पूर्ण रुपमा सञ्चालनका लागि व्यवसायी र उपभोक्तालाई सचेत गराउने अभियान सञ्चालन गरिरहेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको भनाइ छ ।

उपमहानगरपालिकाले बुटवल र आसपासका उपभोक्तालाई सफा र स्वस्थकर मासु उपलब्ध गराउन भन्दै करिब २२ करोड रुपैयाँको लगानीमा बधशाला निर्माण गरेको हो । बुटवल–१० स्थित रामनगरमा २ बिघा ३ कठ्ठा क्षेत्रफलमा बधशाला निर्माण गरिएको छ ।  उपमहानगरपालिकाले बनाएको बधशालामा लुम्बिनी प्रदेश सरकारको १३ करोड ३१ लाख र हेफर इन्टरनेशनलले किसानमार्फत ४ करोड लगानी भएको छ । बधशाला क्षेत्रमा खसीबोकाको चरन, होल्डिङ सेन्टर, पशु स्वास्थ्य जाँच तथा उपचार कक्ष, बधशालामा खटिनेहरूका लागि प्राथमिक उपचार कक्ष, सुरक्षा कक्ष, फोहोर प्रशोधन केन्द्र, हरियाली उद्यान र बगैचा निर्माण भएको नगरप्रमुख खेलराज पाण्डेयको भनाइ छ । दैनिक १ हजार खसीबोका बध गर्न सकिने क्षमता रहेको बधशालाबाट मासु खरीद गर्दा स्वस्थकर मासु खान पाइने प्रमुख पाण्डेयले बताए ।

‘यसलाई पूर्ण रुपमा सञ्चालन गर्नका लागि मासु व्यवसायी, होटल व्यवसायी तथा सबै सरोकारवाला मिलेर यसको बजारीकरणमा जोड दिनुपर्नेछ । मेयर पाण्डेयले भने, ‘स्वस्थकर मासु खाने पाउने आम उपभोक्ताको अधिकार सुरक्षित गर्नका लागि सबैले आवश्यक कदम चाल्नुपर्ने बेला आएको छ ।’

बुटवल उपमहानगरपालिकाको पशु बधशाला व्यवस्थापन र सञ्चालन ऐन २०७९ अनुसारको यो व्यवस्था कार्यान्वयनमा आएपछि बुटवलमा रहेका मासु पसलहरूले खसीबोकाको मासु विक्री गर्दा पशु बधशालामा बध गरी प्रमाणीकरण गरेको मासु मात्रै विक्री गर्न पाउनेछन् । तर, बधशाला सञ्चालन भएपछि व्यवसायीहरु बधशाला जान अटेर गरेका कारण उपभोक्ताले अस्वस्थकर मासु किन्न बाध्य रहेको उपप्रमुख सावित्रादेवी अर्यालको भनाइ छ । उपमहानगरपालिकाले बेलाबखत गर्ने अनुगमनका क्रममा केही मासु व्यवसायीले बाख्रीको मासु विक्रीवितरण गर्ने, बिग्रिएको र कुहिएको समेतको मासु विक्रीवितरण गर्ने गरेको पाइएको उनले बताइन् । उपमहानगरपालिकाले मापदण्डविपरीतको मासु विक्री गर्ने केही मासु पसललाई जरिवाना गराएको छ भने कतिपय पसललाई बन्द समेत गराइएको छ ।

बुटवल उपमहानगरपालिकाले २०७८ सालमा सार्वजनिक, निजी उत्पादक, साझेदारी अर्थात फोर पी मोडलबाट सञ्चालन गर्ने गरी वार्षिक ४७ लाख ३० हजार रूपैयाँमा बुटवल मासु उत्पादन तथा प्रशोधन कम्पनी प्रा.लि.लाई बधशाला सञ्चालन गर्न २५ वर्षे ठेक्का दिने प्रक्रिया अगाडि बढाएको थियो । तर, खरिद ऐनअनुसार प्रक्रिया नपुगेको भन्दै २०८० जेठ ३ गतेको कार्यपालिका बैठकले सो प्रक्रिया रद्द गरी खुला टेण्डर आह्वान गरेको थियो । अहिले मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडले वार्षिक ५८ लाख ३८ हजार रुपैयाँ दिने गरी बधशालाको ठेक्का लिएको छ । आफूहरुलाई बधशाला सञ्चालनमा अलग गरिएको भन्दै पशु बधका लागि आफूहरु नगएको मासु व्यवसायी संघ रुपन्देहीका अध्यक्ष बिशाल थापाको भनाइ छ । उनले यथाअवस्थामा मासु व्यवसायी पशु बथशालामा जान नसक्ने बताए ।

बुटवल उपमहानगरपालिकाले पशु बधशाला सञ्चालन तथा व्यवस्थापन गर्न मासु विक्री गर्न इजाजत लिनुपर्ने, मापदण्ड पूरा गरेर मात्रै पशु बध गर्नुपर्ने, विक्री केन्द्रसम्म ओसारपसार गर्दा मापदण्ड पूरा भएका साधनको मात्रै प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ । बधशालामा व्यवसायीलाई आकर्षित गर्न मासु पसल सुधारमा आर्थिक अनुदानदेखि, बधशालाको मासु प्रयोग गर्ने व्यवसायीलाई २५ प्रतिशतसम्मको राजस्वमा छुटको योजना अघि सारिएको छ ।

उपभोक्ताको स्वच्छ मासु उपभोगको अधिकारलाई सुरक्षित गर्दै बुटवल उपमहानगरपालिकाले पशु बधशाला निर्माण गरे पनि संघ, प्रदेश र स्थानीय सरकारले बनाएका पशु बधशाला र मासु सम्बन्धी ऐनहरु उल्लंघन गर्ने गरी व्यवसायीहरु बधशाला नजाँदा बुटवल र आसपासका क्षेत्रका उपभोक्ता परीक्षण नगरेको र अस्वस्थ मासु उपभोग गर्न बाध्य छन् ।