२०८२, फाल्गुण १० गते

Feb 22 2026 | २०८२, फाल्गुण १० गते

गर्मी बढेपछि भैरहवाका विद्यालय जेठ २५ गतेसम्म बन्द

बिहिवार , जेठ १७, २०८१

  • 997
    Shares
  • 997
    Shares
  • भैरहवा, १७ जेठ ।

    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) मा रहेका विद्यालयहरु एक हप्ता बढी बन्द गरिएको छ ।

    बढ्दो गर्मीका कारण विद्यार्थी र जनजीवनमा समेत नकारात्मक असर परी बिरामी हुने समस्यालाई मध्यनजर गर्दै बिहिवार बसेको सिद्धार्थनगर नगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले ८ दिनसम्मका लागि विद्यालयमा विदा दिने निर्णय गरेको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिए ।

    उनका अनुसार वर्षे÷गर्मी वा हिउँदे विदाबाट कट्टी हुने गरी जेठ १८ शुक्रबारदेखि जेठ २५ गतेसम्म विद्यालयमा विदा दिइएको छ । पालिकामा सामूदायिक १७, संस्थागत ४१ र धार्मिक १४ वटा गरी कुल ७२ वटा विद्यालयमा छन् ।

    ‘बढ्दो तापक्रमका कारण जनजीवन प्रभावित भएकोले विद्यार्थीहरुहरुको पठनपाठनमा असहजतादेखि लिएर बिरामीसम्म परिरहेका छन्’, सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले भने,‘जसकारण राहतका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।’

    समान्यता दिउँसोको समयमा भैरहवाको तापक्रम ४३ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ भने बिहीवार बिहान करिब ९ बजेको समयमा भैरहवाको अधिकतम तापक्रम ३९ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ । कक्षा ११ र अन्य राष्ट्रियस्तरका परीक्षाहरु भने सञ्चालन हुने नगरपालिकाको कार्यालयले जनाएको छ ।