२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

स्थानीयहरुको समस्या पहिचान र समाधान गर्न लुम्बिनीमा कार्यशाला

बिहिवार , जेठ १७, २०८१

लुम्बिनी, १७ जेठ ।
लुम्बिनी विकास कोषले बिहीबार स्थानीयसँग लुम्बिनी कार्यक्रम अन्तर्गत समस्या पहिचान सम्भावना र समाधान विषयक कार्यशाला गोष्ठी गरेको छ । बुद्ध जन्मस्थल लुम्बिनी र बृहत्तर लुम्बिनी क्षेत्रका स्थानीयहरुसँग सहकार्य र साझेदारी सँगसँगै गर्ने उद्देश्यका साथ गोष्ठिको आयोजना गरिएको कोषले जनाएको छ । उक्त अवसरमा कोष र स्थानीय समुदायबीच आपसी समन्वय र सहकार्यका साथ अघि बढ्नुपर्नेमा जोड दिइएको छ । 

कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले नीतिगत रुपमा स्थानीय समुदायसँग सहकार्य गरी सँगसँगै अगाडि बढ्नका लागि स्थानीयसँग लुम्बिनी कार्यक्रम राखिएको बताए । उनले लुम्बिनी विकास कोषसँग स्थानीयहरुबीच संवाद र छलफल नहुँदा कतिपय विषयमा एकमत हुन नसकेको बताउँदै त्यसलाई चिर्दै स्थानीयको समस्या पहिचान गर्ने र समाधान गर्ने गरी स्थानीयसँग लुम्बिनी कार्यक्रम गरिएको बताए । 

कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगर उपप्रमुख कल्पना हरिजनले  बुद्ध जन्मस्थल लुम्बिनीको विकासका लागि स्थानीय सरकार सहयोग र सहकार्य गर्न तयार रहेको तर, समन्वय र सहकार्य नहुँदा समस्याहरु देखा परेको बताइन् । उनले कोषबाट स्थानीयहरुलाई लाभसँगै साथमै लिएर हिड्ने गरी योजना अगाढि बढाउनुपर्ने बताइन् । 
त्यस्तै लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुवर्णलाल शाक्यले लुम्बिनीमा केन्द्रीय क्याम्पस स्थापना गरेर आफूहरुले बौद्ध शिक्षा र दर्शनलाई अगाडि बढाउने काम गरेको बताए । 

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले स्थानीयहरुको समस्यामा आफुहरु संवेदनशील रहेको बताउँदै समस्याहरुको पहिचान गरी समाधान गर्ने गरी योजना बनाउन कार्यशाला सफल हुने बताए । उनले स्थानीयहरुको लुम्बिनी विकास कोषसँग गुनासाहरु बारम्बार आइरहने भएकाले स्थानीयहरुसँग छलफल गर्न थालिएको बताए । 

गोष्ठीमा स्थानीयले लुम्बिनी गुरुयोजना क्षेत्रभित्र मात्रै विकास भएको, स्थानीयहरुसँग सहकार्य र समन्वय नभएको, विकासमा स्थानीय पालिकासँग समन्वय र सहकार्य बढाउनुपर्ने, मायादेवी मन्दिर क्षेत्रमा परम्परादेखि गरिदै आएको पूजाआजालाई सहज बनाउनुपर्ने लगायतका सुझावहरु राखेका थिए । 

कार्यक्रममा यूएनडिपि गण्डकी लुम्बिनीका निर्देशक सुदीप अर्याल, वन डिभिजन कार्यालय रुपन्देहीका डिभिजन वन अधिकृत प्रभात सापकोटा, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य राम विकास चौधरी, लुम्बिनी साँस्कृतिक नगरपालिकाका वडाअध्यक्षहरु, संघ–संस्थाका प्रतिनिधि तथा स्थानीय सरोकारवालाहरुले विभिन्न सुझावहरु राखेका थिए ।