२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

वैकल्पिक व्यवस्था नगरी मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास नगर्न स्थानीयको माग

शिलान्यास कार्यक्रम अवरोध गर्ने चेतावनी

मंगलवार , फाल्गुण ११, २०७७

बुटवल, ११ फागुन ।
औद्योगिक क्षेत्र पीडित स्थानीय बासिन्दालाई वैकल्पिक व्यवस्था नगरी मोतिपुर औद्योगिक कोरिडोरको शिलान्यास नगर्न स्थानीयले माग गरेका छन् । विगत लामो समयदेखि बसोबास गर्दै आएका स्थानीयको जग्गा मोतिपुर औद्योगिक क्षेत्रका लागि अधिग्रहण गरिएको तर उनीहरुलाई वैकल्पिक व्यवस्था नगरिएको भन्दै स्थानीयले विरोध गरेका हुन् ।

यसअघि औद्योगिक क्षेत्रको डीपीआर तयार गर्दा स्थानीयको माग सम्बोधन गरिने बताइएको भए पनि शिलान्यास गर्ने बेलासम्म पनि कुनै किसिमको माग सम्बोधन नभएको उनीहरुको गुनासो छ । विगत ५ दशक भन्दा बढी समयदेखि बसोबास गर्दै आएका ३ हजार भन्दा बढी परिवारको घरबास उठ्ने अवस्था आएको प्रति गम्भिर हुन आग्रह गर्दै तत्काल औद्योगिक क्षेत्र पीडितहरुको माग पुरा नभए संघर्षमा उत्रने र शिलान्यास कार्यक्रम अवरोध गर्ने उनीहरुले चेतावनी दिएका छन्। 

बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमार्फत ज्ञापनपत्र बुझाउँदै स्थानीय औद्योगिक क्षेत्र पीडितहरुले शिलान्यास कार्यक्रम अवरुद्ध गर्ने बताएका हुन् । केही समय यता देशव्यापी रुपमा शिलान्यासको अभियान सञ्चालन गरेको नेपाल सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी फागुन १३ गते मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम छ । 

मोतिपुर औद्योगिक क्षेत्रको कुल क्षेत्रफल झण्डै १ हजार विगाहा रहेको भए पनि हाल पहिलो चरण अन्तर्गत २ सय ४५ विगाहा क्षेत्रमा मात्र निर्माण गरिने संरचनाको शिलान्यास गर्न लागिएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ । औद्योगिक क्षेत्र निर्माणको काम क्रमश ः अघि बढ्दै जाने र परियोजना सुरु हुँदासम्म स्थानीयका सबै माग सम्बोधन हुने नन्दबहादुर बस्नेतले बताए ।