
शुक्रवार , जेठ १८, २०८१
बुटवल, १८ जेठ ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवललाई मिडिया सिटी बनाउने घोषणा गरेका छन् । शुक्रबार राष्ट्रिय दलित पत्रकार संघ नेपालको पाँचौ स्थापना दिवसको अवसरमा संघको रुपन्देही शाखाको आयोजनामा बुटवलमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो घोषणा गरेका हुन् ।
उनले संघीय राजधानी बाहिर सबै भन्दा धेरै सञ्चार माध्यम भएको रुपन्देही जिल्ला भएका कारण बुटवलमा सञ्चारग्रामको तयारी थालिएको बताए । उनले पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि उपमहानगरले विभिन्न समयमा कार्यक्रमहरु गर्दै आइरहेको समेत जानकारी दिए ।
दलित समुदायका युवाहरुको सञ्चारमा पहुँच विस्तारका लागि सहयोग गर्न नगरपालिका सधै तयार रहेको बताउँदै प्रमुख पाण्डेयले दलित समुदायको बृहत्तर विकासका लागि वर्षेनी बजेट समेत विनियोजन गर्दै आइरहेको जानकारी दिए ।
लुम्बिनी साँस्कृतिक नगरपालिकाको उपप्रमुख कल्पना हरिजनले पत्रकारिता क्षेत्रमा दलित महिलाहरुको संख्या वृद्धि हुन नसकेको दुःखेसो गरिन । दलित त्यसमा पनि मधेसी दलित समुदायको पत्रकारिता क्षेत्रमा पहुँच निर्माण गर्न सामाजिक संघ–संस्थाहरुले काम गर्नु आवश्यक रहेकोमा उनको जोड थियो ।
राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रिय उपाध्यक्ष विनोद परियारले वैकल्पिक मिडिया बहसका लागि राष्ट्रिय दलित पत्रकार संघ गठन भएको बताए । पछाडी पारिएको समुदायको आवाज मुखरीत गर्ने कार्य पत्रकारहरुको भएको उल्लेख गर्दै दलित पत्रकार संघको गठनले समावेशीताको मुद्दालाई सरोकारवालाहरु समक्ष पुर्याउने काम गरीरहेको बताए ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले पत्रकार महासंघले सबै समुदायबाट प्रतिनिधित्व गर्ने पत्रकारहरुको विकासका लागि काम गरिरहेको बताए ।
प्रेस सेन्टर नेपालका केन्द्रिय उप–महासचिव यानेन्द्र जि.सी.ले दशवर्षे जनयुद्ध र जनआन्दोलनको बलमा गणतन्त्र आएको उल्लेख गर्दै पहिलेको तुलनामा वर्तमान समयमा दलित समुदायका पत्रकारुको संख्यामा वृद्धि भएको बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका कार्यपालिका सदस्य यम बहादुर सुनार, दलित अधिकारकर्मी हरिओम विश्वकर्मा, नेपाल प्रेस युनियन रुपन्देहीका सभापति कविन्द्र नेपाल, प्रेस चौतारी रुपन्देहीका सल्लाहकार राम प्रसाद आचार्य, प्रगतिशिल पत्रकार संघका जिल्ला अध्यक्ष विरेन्द्र कुँवर लगायतले पत्रकारहरुले बोल्दै सीमान्तकृत समुदायको सशक्तिकरणको पक्षमा कलम चलाउनपर्नेमा जोड दिए । कार्यक्रम संघका अध्यक्ष टंक सुनारको अध्यक्षता, उपाध्यक्ष शशि परियारको स्वागत तथा सचिव सुरेश परियारको सञ्चालनमा सम्पन्न भएको कार्यक्रम संयोजक तथा संघका रुपन्देही कोषाध्यक्ष कृष्ण रणपालले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij