
शुक्रवार , जेठ १८, २०८१
भैरहवा, १८ जेठ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा निःशुल्क आँखा परीक्षण गरिएको छ । नगरको वडा नम्बर ७ र ८ को आयोजनामा गरिएको शिविरमा २९९ जनाले आँखा परीक्षण गराएका छन् ।
नगरपालिकाको कार्यालय र लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरबीच मोतिबिन्दुको शल्यक्रिया सम्बन्धित सम्झौता बमोजिम वडा नम्बर ७ र ८ ले शुक्रबार नारायणस्थान मन्दिरको प्राङगणमा निःशुल्क आँखा जाँच शिविरको आयोजना गरेका थिए ।
‘आँखा परिक्षण गराएका २९९ जनामध्ये ३७ जनामा मोतिबिन्दु देखिएको छ’, सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष राजनजंग राणाले भने, ‘जसमध्ये २१ जनाको आइतबार लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरमा निःशुल्क शल्यक्रिया हुनेछ भने बाँकी १६ जनाको थप जाँच पछि चिकित्सकले शल्यक्रिया गर्ने/नगर्ने निर्णय लिनेछन् ।’उनले नगरपालिकाको साथै वडा कार्यालयले स्थानीयबासीहरुको स्वास्थ्यतर्फ सचेत रहेको र आवश्यक सबै कार्यहरु गरिरहेको र गर्दै जाने बताए ।
बढ्दो उमेर, आँखा स्वास्थ्यको बारेमा कम ज्ञान हुनु, उपचारका लागि आर्थिक अभाव, धुलो र धुवाँसँगै बिताउने जीवनशैली लगायतका कारण आँखामा समस्या आउने गरेको छ । मोतिबिन्दुका विरामीका लागि सिद्धार्थनगर नगरपालिकाले आफ्नो नगरबासीका लागि निःशुल्क शल्यक्रियाको व्यवस्थापन गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij