
मंगलवार , फाल्गुण ११, २०७७
भैरहवा, ११ फागुन ।
रुपन्देहीको रोहिणी गाउँपालिकाले गाउँपालिकामा सञ्चालित योजनाहरु सम्पन्न गर्न गठन भएको उपभोक्ता समितिका पदाधिकारीहरुलाई तालिम दिन सुरु गरेको छ । गाउँपालिकाको ७ वटै वडामा गाउँपालिका तथा वडा कार्यालयद्वारा सञ्चालन हुने योजनाहरु सफलतापूर्वक सम्पन्न गर्न उपभोक्ता समितिका पदाधिकारीहरुलाई तालिम प्रदान सुरु गरिएको हो ।
योजना सम्पन्न भइसकेपछि उपभोक्ता समितिका पदाधिकारीहरुलाई कागजात मिलाउन भएको अन्यौलताको कारण उनीहरुले विगतका वर्षमा कठिनाई भोग्दै आएका थिए । अहिले विभिन्न कागजातहरु कसरी तयार पार्ने, उपभोक्ता समितिको कर्तव्य, दायित्व र अधिकार, योजना उपभोगमा उपभोक्ताको महत्व लगायतको विषयमा उनीहरुलाई जानकारी प्रदान गरिएको रोहिणी गाउँपालिकाका योजना शाखा प्रमुख राजकुमार मिश्रले जानकारी दिए ।
स्थानीय स्रोतसाधन, श्रमको प्रयोग गरी कम लागतमा बढी विकास निर्माणका काम गराउने उद्देश्यसहित उपभोक्ता समितिको पदाधिकारीहरुलाई तालिम प्रदान गरिएको रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए ।
उपभोक्ता समितिमार्फत काम भएकोले गुणस्तरीय काम हुने भएको बताउँदै रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले गाउँघरमा हुने कामको रेखदेख र अनुगमन स्थानीयस्तरमा पनि गर्न आग्रह गरे । उनले उपभोक्ता समितिमार्फत हुने काममा सो योजनाबारे स्थानीयको अपनत्व हुने बताउँदै कामको गुणस्तरमा जोड दिए । गुणस्तरीय काम र आवश्यक कागजात मिलाएर ल्याए सो योजनाको भुक्तानी तत्काल गर्न पनि उनले कर्मचारीहरुलाई निर्देशन दिए । यदि भुक्तानी दिन कसैले ढिलाई गरे सिधै आफुसंग आउन उनले उपभोक्ता समितिका पदाधिकारीलाई आग्रह गरे ।
चालु आर्थिक वर्ष २०७७/०७८ मा रोहिणी गाउँपालिकाद्वारा करिब २ सय योजनाहरु सञ्चालन हुँदैछ । यी योजनाहरु सम्पन्न गर्न गठित उपभोक्ता समितिहरुबाट अध्यक्ष, सचिव र कोषाध्यक्ष गरी ६ सय जनालाई तालिम प्रदान गर्ने गाउँपालिकाको लक्ष्य रहेको छ । यसको साथै तालिम कार्यक्रममा रोहिणी गाउँपालिकाका उपाध्यक्ष शिवकान्ती चमार, वडा नम्बर १ का वडा अध्यक्ष आविद अली, २ का कार्यवाहक वडा अध्यक्ष सानमति पासी ३ का बिर बहादुर क्षेत्री, ४ का तारानाथ यादव, ५ का घनश्याम सिंह क्षेत्री, ६ का इन्द्रमान चौधरी र ७ का कार्यवाहक वडा अध्यक्ष दुखनी थारुको पनि आफ्नो वडामा सञ्चालित तालीममा सहभागिता रहने गाउँपालिकाले जनाएको छ ।
तालिममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने, लेखा अधिकृत कृष्ण प्रसाद ज्ञवाली, योजना शाखा प्रमुख राजकुमार मिश्र, प्राविधिक शाखा प्रमुख विशाल सिंह क्षेत्री एवं सम्बन्धित वडामा खटाइएका प्राविधिक हेमन्त पाण्डे, दुर्गेश यादव र श्रीनेवास यादवले सहजीकरण गर्दैछन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij