
आइतवार , जेठ २०, २०८१
भैरहवा, २० जेठ ।
नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखा र सिद्धार्थनगर नगरपालिकाको संयुक्त आयोजना तथा अमेरिकी रेडक्रसको सहयोगमा आइतबार भैरहवामा विद्यालयस्तरीय चित्रकला प्रतियोगिता भैरहवामा सम्पन्न भएको छ ।
तातो हावाको लहर ‘लु’ को शहरी क्षेत्रमा प्रभाव तथा बचाउका उपायहरुसम्बन्धी सचेतना जगाउने उद्देश्यले प्रतियोगिता गरिएको रेडक्रस रुपन्देही शाखाले जनाएको छ ।
विश्व तातो हावा ‘लु’ प्रतिकार्य दिवस २०२४ जुन २ तारिखमा मनाउने गरिन्छ । प्रतियोगितामा श्री रुपन्देही लिलाराम न्यौपाने माध्यमिक विद्यालयका छात्र असिम राना मगर प्रथम भएका छन् । त्यसै गरी सुसंस्कृत माविका छात्रा लक्ष्मी भण्डारी दोस्रो र पक्लिहवा माविका छात्र आशा गुरुङ तेस्रो भएका छन । त्यसै गरी बहिरा बाल विद्यालयका छात्र रोशन रेग्मी सान्त्वना भएका छन् ।
प्रतियोगितामा प्रथम हुने विद्यार्थीलाई रु. ४ हजार, दोस्रो हुनेलाई रु. ३ हजार, तेस्रो हुनेलाई रु. २ हजार र सान्तवनालाई रु. १ हजारसहित सहभागी सबै विद्यार्थीलाई डायरी र पेन प्रदान गरिएको थियो ।
रेडक्रस शाखा रुपन्देहीका सभापति दीपक क्षेत्री न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले प्रतियोगिताले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनसहित चेतना जगाउने बताए ।
कार्यक्रममा तातो हावा ‘लु’ कार्यदलका संयोजक, सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता एवं ४ नम्बर वडाका वडा अध्यक्ष मुक्तिनाथ यादव (भोला) वडा नम्बर ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठ, रेडक्रस रुपन्देहीकी उपसभापति रुपमा हिराचन, मन्त्री रामचन्द्र उपाध्ययाय, कोषाध्यक्ष सुशील गुरुङ, भैरहवा नमुना मावि व्यवस्थापन समितिका अध्यक्ष आनन्द प्रसाद गुप्ता लगायतले बोलेका थिए ।
प्रतियोगिताको निर्णायकमा सिनपा शिक्षा शाखा प्रमुख चेतनशिल लम्साल, विपद् व्यवस्थापन फोकलपर्सन तथा सदस्य सचिव यादव प्रसाद सापकोटा रहेका थिए । कार्यक्रमको सञ्चालन रेडक्रस रुपन्देहीका अधिकृत कृष्ण मल्लले गरेका थिए ।
यसैबीच सिद्धार्थनगर नगरपालिका तथा नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाको आयोजना र अमेरिकी रेडक्रसको सहयोगमा तातो हावाको लहर ‘लु’ सम्बन्धी सचेतनामूलक भिडियो प्रर्दशन गरिएको छ ।
त्यसै गरी सिद्धार्थनगर–१३ हाटबजारस्थित रेडक्रस भवन नजिक चिसो पानी एवं सर्वत वितरण गरिएको छ । आम सर्वसाधारणलाई गर्मीको समयमा पानी सर्वत जीवनजल, कागती, भेली लगायतका सामग्री वितरण गरिएको रेडक्रस शाखाका अधिकृत कृष्ण मल्लले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij