
सोमवार , जेठ २१, २०८१
सामाजिक सञ्जाल, पत्रपत्रिका तर्फ नियाल्दा नेपाललाई केरा गणतन्त्र तर्फ उन्मुख भएको देशका रुपमा उदाहरण सहित ब्यख्या गरिएका कुराहरु सुन्न पढ्न पाईन्छ । यी कुराहरु पढेर सुनेपछि सच्चा नेपालीको मन मस्तिष्क एक पटक घोत्लीनु स्वभाविक हुन्छ ।
केरा गणतन्त्र के होे ?
बनाना रिपब्लिकको एउटा कथा छ । जसले राजनीतिक रुपमा अस्थिर देशको वर्णन गरेको देखिन्छ । जसको प्रारम्भिककथा १८७० बाट सुुरु हुन्छ । यो कथामा एउटा कमजोर देशमा उत्पादन भएको केरा किसानहरुबाट अति सस्तो मूल्यमा विभिन्न तरिकाबाट खरिद गरी अर्को देशमा लगेर विक्री गरीन्छ। बिक्रिबाट एकहजार प्रतिसत सम्म ती ब्यपारीले नाफा गरेको कुरा कथामा उल्लेखित छ । यो कथाबाट रमाईलो ब्यपारीक उपनिवेशबादको जीवन्त उदाहरण अनुभुत गर्न सकिन्छ । यो कथाका विशेष पात्रकारुपमा अमेरीका, हुर्णस, केरा उत्पादनकर्ता किसान र ब्यपारी जोडिएका छन् । यसैगरी यो कथा कोस्टारिका, घाना, क्यूवा, तिर खोज्न गए पनि पाईन्छ । आफू कमजोर भएपछि आफूमाथि हुने गरेको शोषण पराकाष्टामा पुुग्छ भन्ने कुरा पनि यो कथाबाट सहजै बुझ्न सकिन्छ । यो कथा पढ्न चाहनेले सामाजिक सञ्जाल वा नेटमा सर्च गरेर पढ्न सक्ने भएकोले त्यसको सविस्तारमा नलागी मेरो कलम नेपालकै गणतर्फ चलाउन लागे । मैले प्रस्तुत गर्दै गरेको यो आलेख कथामा नेपालको गणतन्त्र आफुु कस्तो छु, कस्तो हुन सक्छु भन्ने विषयमा सुन्दै सुनाउदै, सवैलाई सचेत बनाउदै देशलाई आत्मनिर्भर तर्फ लैजान, आफ्नो कस्तुरीलाई आफैले समाल्न र नेपाल र नेपालीको हितका लागि काम गर्न थप प्रेरणा प्रदान गर्नेछ ।
कुनै पनि देशको सरकार एकाधिकार प्राप्त व्यवसायिहरु वीच मिलोमतो गरी सरकार चलाउने गरेको प्रणालीसंग केरा जोडेर केरा प्रजातन्त्र, केरा राज्य वा केरा गणतन्त्र जसरी शब्दमा प्रयोग गर्न सकिन्छ । अथवा अन्य शब्द खोजे र पनि अर्को भाष्य निर्माण गर्न सकिन्छ । यो केरा शब्द राज्य र यसले गर्ने क्रियाकलापसंग जोडिएर बहस र छलफलमा आई रहने गर्दछ । नेपालको सन्दर्भमा यसलाई हामीले कसरी बझ्ने भन्दा पनि यसरी बुझ्ने भन्ने अर्थमा यहाँ प्रस्तुत गरिएको छ ।
१.नेपालसंग तुरुन्त निर्यात गर्न सक्ने जल संपदाबाट आर्जीत विद्युत हो । यसको प्रचुर रुपमा उत्पादन वा निर्यात योग्य बनाउनका लागि लगानीको आवश्यकता पर्दछ । यो लगानी स्वदेसी, पूँजीपति वा राज्यको बरबुताले मात्र संभव देखिदैन भन्ने भाष्यले काम गरिरहेको छ । वाह्य राष्ट्रहरुले नेपालको यो कमजोरीलाई राम्रोसंग बुझीरहेका छन् । उनीहरु कुनै न कुनै रुपमा यसमा लागानी गरेर वा अनुदान प्रदान गरेर नेपालको कमजोरी माथि खेल्न पनि पाईने र त्यसको राजीतिक र आर्थिक फाइदा पनि मजाले लिन पाउने कुरामा विस्वस्त हुन्छन् । उनीहरुले आफ्नै देशको उत्पादन आफैले किन्न पर्ने वाध्यात्मक अवस्थासम्म पुर्याउँछन् । विद्युत महसुल बढाउन गरिएको प्रेसरलाई सहजै कार्यान्वयन गराउँछन् । विद्युतका क्षेत्र, स्थान, संरचना, विद्युत प्रशासन लगायतका धेरै कुराहरु यीनीहरुकै कब्जामा गएको हुन्छ । त्यो बेला सम्म राज्य यिनीहरुसंग चुकी सकेको हुन्छ । यिनीहरुका कम्पनी वा यिनीहरुबाट निर्देशित प्राधिकरणहरु समेत यिनीहरुकै निर्देशनमा चल्न थाली सकेका हुन्छन् । जनतालाई देखाउनको लागि राष्ट्रको अर्थतन्त्रसंग यसलाई गाँसेर आम्दानी श्रोतको प्रमुख हिस्सा पनि यही नै हो भन्ने भ्रमजाल पनि फिजाउने गरिन्छ । तर यसको फाईदा रुप बदलेर अर्कैले लिएको कुरामा हामी सचेत हुदैनौ । जब हामीमाथि बज्रपात पर्छ अनि मात्र हारगुहार गर्न थाल्छौ । यसलाई हामी विजुली गणतन्त्र नभने के भन्ने ।
२.आफ्नै देशको आन्तरिक श्रोत पहिचान गर्न पनि सरकारले नसक्ने, पहिचान गरिएका श्रोतहरु पनि आफैले परिचालन गर्न नसक्ने अवस्थामा नेपाली जनताले विदेशमा श्रम गरेर आफ्ना परिवारका लागि स्वदेश पठाएको रेमीटेन्ससंग सरकार रमाउदै देशले यती महिना सामान आयात गर्न पुग्छ वा खर्च धन्न सक्छ भनेर पटकपटक सार्वजनिक गरेका तथ्याङ्कहरु सुनेका छौ र पढेका पनि छौ । यो परनिरर्भर श्रोत हो । परनिर्भरताको श्रोत दिगो हुँदैन र यसले देशको हालत पनि कहिल्यै सुध्ररीन सक्दैन। नेपालभन्दा धेरै रेमीटेन्स आउने देशहरु छन् उनीहरुको हालत सुधारिएको छैन । अमेरीका वीना मेक्सीको बाच्न सक्दैन । फिलिपीन्स बंगला देशको हालत पनि त्यस्तै छ । रेमीटेन्सले विकासका काम सार्वजनिक गर्दैन यसले वत्ति विजुली बाल्दैन । यसले अस्पताल र विद्यालयहरु बनाउने गुणस्तर सुधार्ने काम गर्दैन । हाम्रा घरपरिवारलाई यसले धेरथोर मद्धत भने गर्दछ । समग्र नेपालको अर्थ ब्यवस्थाको गफ गर्न रेमीटेन्सले राम्रै काम गर्छ । देशको खातामा रेमीटेन्सबाट प्राप्त केही महिना आयात निर्यात चलाउन यसले काम गर्ला अन्यथा यसले राष्ट्रको लागि दिगो सपोर्ट गर्दैन । यसरी हेर्दा हामीले हाम्रो गणतन्त्रलाई रेमीटेन्स गणतन्त्र भने फरक पर्दैन ।
३.सरकारभन्दा सरकार चलाउने वाह्य शक्तिहरुको विगविगी भएको देशको अवस्था के होला । जहाँको कर्मचारीतन्त्र देखि, प्रहरी, अदालत, कारखाना , विद्यालय, अस्पताल उद्योग, प्रेस लगायतका कुनै न कुनै दलसंग जोडिएका भातृ संगठन हुन्छन् । अवैध काम मिलाउने लविङ् चल्छ । राजनीतिक आस्था, पहूँच, र धनको आधारमा नियुक्ति, सरुवा, बढुवा, खोसुवा, अवकास हुने गर्दछन् । विचौलियाहरुले पहूँच मिलाई रहेका हुन्छन् । उद्योग ब्यपार कारखानाहरुबाट कुनै न कुनै रुपमा नजरानाका थैली र भेटीहरु कनिष्ठ देखि बरिष्ठ सम्म वडा सदस्य देखि प्रधानमन्त्री सम्म चढाईने गरीन्छ भने यस्तो बेला हामीले विचौलिया गणतन्त्र भन्न नपरोस भन्ने हाम्रो चहाना हो ।
४. यहाँ उद्योगहरु चोखा छैनन् । जहाँ खाद्य वस्तुहरु गुणस्तरीय बन्दैन न जरिवाना तीरेर उम्किन्छन् । गुणस्तर घटाएर गुणस्तरिय बनाईन्छ । जहाँ कनीका पेलेर लङ्गे्रन चामलको नाममा करोडौ कमाईन्छ । जुन देशमा एउटै कम्पनीले खाद्य, पेय, विद्युत, बियर, चुरट, वित्तिय संस्था, होटल, पूर्वाधार, आवास विकास अटोमोवाईल, स्कूल लगायत धेरै क्षेत्रमा लगानीको् साम्राज्य चलाउँछ, उही मान्छे दल छानी छानी सांसद बन्छ, मन्त्री बन्छ सार्वजनिक जग्गाहरुमा हस्तक्षेप गर्छ । दल र सरकार उसैबाट केही झर्छ कि भनि पछि पछि लाग्छन् । यसैगरी प्रिन्ट मिडिया देखि अनलाईन मिडिया सम्म, रेडियो देखि टेलीभिजनसम्म एउटै ब्यक्तिको कम्पनीले चलाउँछ । उसैसंग सरकार देखि अदालत सम्म डराउँने अवस्था आउँछ । जो चोर उसैको ठूलो स्वर हुने मुलुक हो यो । यस्तो दिनदाहाडै देख्न सुन्न पाईने यो ब्यवस्थालाई निरीह गणतन्त्र किन नभन्ने ?
५.राजाको पालामा राजाका नातेदारहरुबाट दरबारमा जन्मने वित्तिकै पद भक्ता, सलामी सबै पाईने अवस्था देखेका हाम्रा आँखाहरु हुन् । गणतन्त्र आएपछि अब यस्तो हुदैन भन्ने हाम्रो आशा थियो । यसैका लागि हामी लड्यौ । प्रजातन्त्र, गणतन्त्रआएपछि सवै नेपालीहरु बराबर हुन्छन् । समताको आधारमा ब्यवहार हुन्छ । सबैको नाम हुन्छ, काम हुन्छ, माम हुन्छ, दाम हुन्छ, भन्ने सोचीएको हो । छोरा, छोरी, ज्वाई, बुहारी, श्रीमति, दाई भाई वीचको परिवारवादमा देश चल्दैन भन्ने आशा गरिएको थियो । तर अहिले देश पुरानै चलन चल्तीलाई नयाँ ढङ्गले पछ्याई रहेको छ । माओवादी, नेकपा एमाले नेपाली काङ्ग्रेस, जनमुक्ति जता खोजे पनि तिनका नातापाता परिवारले नेपाली जनताले तीरेको करमा कुनै न कुनै रुपमा हाली मुहाली गरेको नेपालको गणतन्त्रको यथार्थ हो । गीरीजा पुत्री देखि प्रचण्ड पुत्री सम्म मात्र होइन धेरै जोडिहरु संसदमा पुर्याईएका घटनाहरु पनि छन् । आफ्नै वरबुताले राजनीती गरेर जो जहाँ पुुग्न पनि सक्छ तर आफना नाताको बलमा मात्र राजनीति गरेर पदहरु ओगट्न पाउने देशमा नेपालको नाम पनि दरिएको छ । यतीकुराहरु भईसकेपछि नेपालको गणतन्त्रलाई परिवारवाद गणतन्त्र भन्न मिल्दैन र ?
५.गाँजाबाट उत्पादन गर्न सकिने औषधि प्रभावकारी हुनसक्ने । यसबाट पाचन तथा पेटसम्बन्धी रोग स्नायु रोग, टाउको दुख्ने मानसिक रोग तथा डिप्रेशन दुखाइ कम गर्ने र क्यान्सर उपचारसम्मलाई काम लाग्ने कुराहरु नआएका होइनन् । गाँजामा औषधीय गुण धेरै छन् भन्ने कुुराहरु पनि चर्चामा आएका हुन् । तराईमा पाईने गाँजाभन्दा पहाडमा पाईने गाँजा अझैँ गुणस्तरिय छन् भन्ने कुरा पनि सुनीएका हुन् । थाइलैण्डमा गाँजाखेतीको कानुनी अवस्थामा यूटर्न भएको पनि सुनेका हौ । त्यहाँ अवैध बनेको गाँजा अहिले बैध बनी सकेको छ । यसको असर सबैठाउँ एकै प्रकारको हुन्छ भन्ने पनि हुँदैन ।
यसैगरी नेपालमा पनि तत्कालिन सांसद विरोध खतिवडाले नेपालमा गाँजा खेतीलाई वैधानिक मान्यता दिनुपर्ने कुरा उठाएका थिए । संयुक्तराज्य अमेरिकाका केही राज्य, क्यानडा र थाईल्यान्ड आदि देशमा कानुनी दायरामा ल्याएर गाँजाको व्यावसायिक खेती हुने गरेको उदाहरण दिँदै खतिवडाले नेपालले पनि उनीहरूको अनुसरण गरेर आर्थिक लाभ लिनुपर्ने तर्क गरेका थिए । तत्कालिन सांसद खतिवडा नेपालले २०३३।३४ सालतिर पश्चिमी देशहरूको दबाबमा गाँजा खेती र बिक्रीलाई गैरकानुनी बनाएको र अहिले ६२ वटा मुलुकहरूले पूर्ण वा आंशिक रूपमा गाँजालाई खुला गरिसकेको अवस्था बारेमा बताएका कुराहरु विविसी समाचारहरुमा उल्लेख गरिएका छन् । यसबाट हुने लाभका बारेमा पनि पृथक विचारहरु आएको पाईन्छन् । कतै खुला रुपमा कतै नियन्त्रित रुपमा यो खेती गरेर वा गराएर लाभ भएका कुराहरुपनि आएका छन् ।
नेपालमा उत्पादन भएको गाँजाले विस्व बजार नै पिट्ने भयो भने नेपाली लगानी कर्ता भन्दा अन्यदेशका लगानीकर्ताहरु विभिन्न वाहानामा यहाँ भित्रीने संभावनालाइ नकार्र्न मिल्दैन । यसबारेमा यो विषयवस्तुको उठान गर्ने, यस बारेमा बोल्नेहरुले , र यसका हरेकपक्षको विश्लेषण गर्न जरुरी छ। त्यो बेलामा हामीले देश भित्र लगानी भित्राएको नभई हुण्डरस र ग्वाटेमाला मा जस्तै बनाना ब्यपारी भित्राएको जस्तो हुनेछ । अहिलेको २०८०।०८१ बजेटको ४९ नं को बुुँदामा औषधि प्रयोजनका लागि गाँजाको ब्यवसायिक उत्पादन गर्न कानुनी ब्यवस्था मिलाईनेछ भनिएको छ । यसका हरेक गतिविधि तर्फ हामी सचेत हुनु आवश्यक छ । अन्यथा त्यो बेलामा हाम्रो गणतन्त्रको नाम फेरी गाँजा गणतन्त्रको नाममा परिणत हुनेछ । हामी अझ परनिर्भर हुनेछाैं हामीलाई प्रभुमुखी बनाउदै लग्नेछ ।
नेपालको गणतन्त्रको अगाडि स्वाभीमानी, दरिलो, भरिलो जस्ता शब्द जोड्ने अवस्था ल्याउन काम गरौ भन्ने चाहना गरिएको हुँदा यसलाई सोही रुपको बुझाईमा तयार गरिएको हो अस्तु ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij