
मंगलवार , फाल्गुण ११, २०७७
बुटवल, ११ फागुन ।
यस क्षेत्रकै जेठो व्यवसायिक प्रतिष्ठान बुटवल उद्योग वाणिज्य संघको आगामी कार्यकालका लागि हाल वरिष्ठ उपाध्यक्ष रहेका उज्जवल कसजुलाई अध्यक्ष बनाउन १० जना पूर्व अध्यक्षहरु एकमत भएका हुन । केही पदसहित सदस्यमा निर्विरोध निर्वाचित भइरहँदा प्रमुख अध्यक्ष पदमा भने चुनाव हुने निश्चित भएको हो । जसको लागि दुई जना प्रत्यासीहरुले आफ्नो मनोनियन दर्ता गराएका छन् । केही दिन पहिला पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो उम्मेदवारी दर्ताको घोषणा गरेका हरि प्रसाद अर्याल चुनावी मैदानमा छन् भने मंगलबार उज्जवल कसजुले पनि पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो उम्मेदवारी दर्ता गरेको जानकारी गराएका हुन् ।
१० जना पूर्व अध्यक्षको साथ पाएका उज्जवल कसजुले चुनाव सकेसम्म नहुने यदी भएमा आफुले चुनाव जित्ने दावीसहित आफ्नो प्रतिवद्धता पत्र समेत सार्वजनिक गरेका छन् । कोभिड–१९ बाट थला परेको अर्थ व्यवस्थालाई माथि उठाउनेसहित सचिवालय व्यवस्थापनसहितका कुराहरु उनको प्रतिवद्धतापत्रमा उल्लेख भएका छन् ।
त्यस्तै पत्रकार सम्मेलनमा कसजुले कोभिडमैत्री अर्थतन्त्रलाई जोड दिने, मोतिपुर औद्योगिक करिडोर प्रर्वद्धनको लागि लगानी सम्मेलन गर्ने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै सचिवालय व्यवस्थापन गरी प्रविधिमैत्री गराउने, भन्सार प्रणालीलाई व्यवसायिकमैत्री बनाउने, बजार क्षेत्रमा पार्किङ व्यवस्थापनको लागि ए ए मोडलको विस्तार गर्ने लगायतका एजेण्डा अघि सारेका छन् ।
कसजुलाई वर्तमान अध्यक्ष खिमबहादुर हमालसंगै महेशमान सिंह, सुरेन्द्रकुमार श्रेष्ठ, नवराज श्रेष्ठ, महेशकुमार राजभण्डारी, हिराप्रसाद श्रेष्ठ, जीवनप्रसाद ओझा, अर्जुनमान सैंजु, कुशप्रसाद मल्ली र निर्मलप्रसाद लाकोलले समर्थन गरेका छन् ।
वरिष्ठ उपाध्यक्षसहित सदस्य निर्विरोध
बुटवल उद्योग वाणिज्य संघको २४ औं अधिवेशनमा वरिष्ठ उपाध्यक्षसहित १३ पदमा एकल उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्षमा दिनेशप्रसाद श्रेष्ठले उम्मेदवारी दिएका छन् । त्यस्तै उद्योग उपाध्यक्षमा टंकप्रसाद गैरे, वाणिज्य उपाध्यक्षमा नरिश्वर शर्मा र महासचिवमा विमलराज भट्टराईको मात्रै उम्मेदवारी परेको छ । संघको कोषाध्यक्ष पदमा २ जना र सचिव पदमा भने ४ जनाको उम्मेदवारी परेको निर्वाचन समिति प्रमुख बाबुराम पाण्डेले जानकारी दिए । कोषाध्यक्षमा नविन श्रेष्ठ र भेषराज गैरे तथा सचिव पदमा बाबुराम विक, बसन्तप्रसाद ढकाल, मुक्तिप्रसाद अधिकारी, मुक्तिप्रसाद अधिकारी र सुर्यप्रसाद पराजुलीको उम्मेदवारी परेको हो ।
एक एशोसियट सदस्य पदमा आनन्दप्रसाद वझाको एकल उम्मेदवारी परेको छ । त्यस्तै ४ वाणिज्य सदस्य पदमा काशीराम शर्मा पौडेल, मनोज ध्वजु, प्रकाशकुमार श्रेष्ठ र प्रतिक पोखरेलको एकल उम्मेदवारी परेको छ ।
४ उद्योग सदस्य पदमा नरेशकुमार श्रेष्ठ, नेत्रप्रसाद पाण्डे, निर्मित कसजु, पुरुषोत्तमभक्त प्रधानाङ्ग र संजय कलवार जयसवालको उम्मेदवारी परेको छ । खुल्लातर्फको ७ सदस्य पदमा १४ जनाको उम्मेदवारी परेको छ । खुल्ला सदस्यमा दिनेश श्रेष्ठ, दिपकप्रसाद चापागाई, गणेशचन्द पोखरेल, इर्साद आलम मिया, जाकिर हुसेन, जानकी नेपाल, कृष्ण श्रेष्ठ (कुलप्रसाद), माधवप्रसाद भुसाल, मोह्मद जमिल खान, सवर मिया, सुमोदमान सैंजु, टिकाराम बञ्जाडे, त्रिबिक्रम श्रेष्ठ र तुलसीराम खनालको उम्मेदवारी परेको हो।
महिलातर्फको २ सदस्य पदमा ४ जनाको उम्मेदवारी परेको छ । महिला सदस्यमा जमुना पौडेल, मीना प्रधान, नमकला वेलवासे र सुनिता शर्मा बञ्जाडेको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । संघको २४ औं अधिवेशन अन्तरगत १३ गते बिहीबार मतदानको कार्यक्रम तय गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij