२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

स्थानीय तहका जनप्रतिनिधि र सञ्चारकर्मीको भूमिकाबारे छलफल

सोमवार , जेठ २१, २०८१

बुटवल, २१ जेठ ।

स्थानीय तहका जनप्रतिनिधिहरुले दलित तथा सिमान्तकृत समुदायको आवाजलाई सशक्त रुपमा उठाउनुपर्नेमा जोड दिएका छन् । जागरण मिडिया सेन्टरद्वारा सञ्चालित रेडियो जागरण ९३.६ मेगाहर्जले बुटवल उपमहानगपालिकाको सहयोगमा सोमबार बुटवलमा आयोजना गरेको सामाजिक समावेशिकरणको मुद्धामा स्थानीय सरकार र सञ्चार माध्यमको भूमिका बिषयक छलफल कार्यक्रममा सहभागीहरुले यस्तो कुरा बताएका हुन । उनीहरुले बुटवल उपमहानगरपालिकाद्वारा दलित तथा सिमान्तकृत समुदायका पक्षमा थालेका प्रयास र गरेका कामहरुको सन्बन्धमा छलफल समेत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले विभेदका मुद्दा जहिल्यै पनि पत्रकार र सञ्चार माध्यमको प्राथमिकतामा पर्ने बताउँदै समन्वयका लागि जनप्रतिनिधिहरुले भूमिका खेल्नुपर्ने बताए । उनले जातका विषयमा सञ्चार क्षेत्र विभाजित हुन नहुने बताउँदै मुद्दा उठानमा सञ्चार क्षेत्रले कहिल्यै कन्जुस्याईँ नगरेको बताए ।

त्यस्तै कार्यक्रममा बुटवल उपमहानगरपालिकाका कार्यपालिका सदस्यहरु यमबहादुर सुनार, कृष्णबहादुर सुनार, बसन्ती विश्वकर्मा र सुनिता खडलुकले बुटवल उपमहानगरपालिकामा दलित तथा सिमान्तकृत समुदायको सवाललाई कार्यक्रम र बजेटमार्फत सक्दो सम्बोधन गर्ने प्रयत्नमा जुटेको बताए । उनीहरुले प्राप्त सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा रेडियो जागरणका तर्फबाट विनोद परियारले बुटवल उपमहानगरपालिकाका असल अभ्यास अन्तर्गत तयार पारिएको कार्यक्रमहरु र त्यसबाट प्राप्त निकर्षलाई जनप्रतिनिधि र सरोकारवालाहरुकाबीच प्रस्तुत गरेका थिए ।

त्यस्तै बुटवल उपमहानगरका उपनिर्देशक दामोदर ज्ञवालीले बुटवल उपमहानगरबाट दलित तथा सिमान्तकृत समुदायका सवालमा नीतिगत र बजेट कार्यक्रमका रुपमा समेटिएका विषयहरुबारे प्रस्तुती राखेका थिए ।

कार्यक्रममा जनप्रतिनिधिहरु माया दर्नाल, अधिकारकर्मीहरु लोकबहादुर नेपाली, गंकुल विश्वकर्मा, अधिवक्ता दीपा सुनार, मनु खड्का, पत्रकार टंक सुनार लगायतले दलित जनप्रतिनिधिहरुले जातीय छुवाछुत अन्त्यका लागि ठोस कार्यक्रम ल्याउनुपर्नेमा सुझाव दिएका थिए ।

कार्यक्रम जागरण मिडिया सेन्टरका कोषाध्यक्ष जगलाल नेपालीको अध्यक्षता, रेडियो जागरणका समाचार संयोजक अम्बिका परियारको सञ्चालन तथा कार्यक्रम संयोजक विरेन्द्र कुँवरको स्वागतमा सम्पन्न भएको हो ।