२०८३, आश्विन ९ गते

Sep 25 2026 | २०८३, आश्विन ९ गते

बुधबारदेखि हुने एमाले रुपन्देहीको १० औं अधिवेशनको तयारी पूरा

मंगलवार , जेठ २२, २०८१

  • 829
    Shares
  • 829
    Shares
  • भैरहवा, २२ जेठ ।
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी रुपन्देहीको १० औं अधिवेशन जेठ २३ गते बुधबार (भोलि) देखि भैरहवामा हुने भएको छ । अधिवेशनको बुधबार दिउँसो १ बजे एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । अधिवेशन बुधबार र बिहीबार गरी दुई दिन हुनेछ ।

    एमाले जिल्ला प्रचार विभाग रुपन्देहीले मंगलबार तिलोत्तमाको कोटिहवामा पत्रकार सम्मेलन गरी अधिवेशनबारे जानकारी गराएको छ ।

    एमाले रुपन्देहीका उपसचिव तथा प्रचार विभाग प्रमुख हितराज पन्थीले भैरहवास्थित होटल सिद्धार्थ भिलासामा अधिवेशन हुने जानकारी दिए । 

    उद्घाटन सत्रमा पार्टीका उपाध्यक्ष विष्णु प्रसाद पौडेल, सचिव छविलाल विश्वकर्मा, सचिव एवं लुम्बिनी प्रदेश इञ्चार्ज पद्मा अर्याल, रुपन्देही जिल्ला इञ्चार्ज दलबहादुर राना, पोलिटब्यूरो सदस्यहरु लिला गिरी, दधिराम न्यौपाने, खिमलाल भट्टाराईलगायत विभिन्न तहका नेताहरुको उपस्थिति रहने एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र के.सीले बताए ।

    ‘जिल्लाको १६ पालिका र १५५ वडा, २३ जनसंगठनबाट र आयोजक कमिटीबाट गरी ८५३ जना प्रतिनिधि चयन भइ अधिवेशनमा सहभागी हुने कार्यक्रम रहेको छ । अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव, दुई उपसचिव र १४५ सदस्य रहेको जिल्ला कमिटी निर्वाचित गर्नेछ, ’उनले भने ।

    अधिवेशन व्यवस्थित गर्नको लागि जिल्ला अध्यक्ष तेजेन्द्र के.सी.को संयोजकत्वमा १६७ जनाको मूल व्यवस्थापन कमिटी चयन भएको प्रचार विभाग प्रमुख पन्थीले बताए । 
    ‘विभिन्न उपसमितिहरुले पनि सक्रियतापुर्वक काम गरिरहेका छन् । अधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको छ । त्यसै गरी बन्द सत्रमा राजनैतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेश गरिनेछ ।’ 

    पन्थीका अनुसार रुपन्देहीमा एमालेका १७ हजार ९८ पार्टी सदस्य संगठित र उत्तिकै संख्यामा शुभेच्छुक पनि छन् । एमाले रुपन्देही जिल्ला प्रचार विभागका सचिव नरेश केसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।