२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

२०८४ मा कांग्रेसलाई प्रतिपक्षमा राखेर निर्वाचन गर्छौं : विष्णु पौडेल

बुधवार , जेठ २३, २०८१

भैरहवा, २३ जेठ ।
नेकपा (एमाले) का उपाध्यक्ष विष्णु प्रसाद पौडेलले २०८४ सालमा नेपाली कांग्रेसलाई प्रतिपक्षमा राखेर निर्वाचन हुने दावी गरेका छन् । उनले कांग्रेसलाई प्रतिपक्षमा बसेर चुनाव लडेको अनुभव नरहेकाले प्रतिपक्ष बसेर निर्वाचन कस्तो हुन्छ भन्ने कुरा कांग्रेसले थाहा पाउने बताए ।

एमाले रुपन्देहीको १० औं जिल्ला अधिवेशनलाई भैरहवामा उद्घाटन गर्दै पौडेलले नयाँ समीकरण बनेपछि कांग्रेसले बेचैनी महसुस गरेको बताए । उनले भने, ‘सरकारबाट बाहिरिएपछि कांग्रेसले बेचैनी महसुस गरेको छ । तर, कांग्रेसले कोशिष नगरे हुन्छ । यो समीकरण र सहयात्रा २०८४ सम्म जान्छ । केही न केही काम गर्दै अगाडि बढ्छ ।’ कांग्रेस अब लामो समयसम्म प्रतिपक्षमा बस्ने उनले दावी गरे ।

पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री समेत रहेका पौडेलले एमालेको निर्णय देशको निर्णयमा बदल्नुपर्ने बताए । उनले पार्टी केन्द्रीय कार्यालय च्यासलको निर्णयलाई सिंहदरबारको निर्णयमा बदल्नुपर्ने बताए । उनले एमालेको निर्णय देशको निर्णयमा बदल्नुपर्ने बताए । उनले २०८४ सालको निर्वाचनपछि एमालेको नेतृत्वमा पूर्ण बहुमतको सरकार बन्ने दावी गरे । उनले भने, ‘केपी ओली नेतृत्वको सरकारले गरेका कामहरु हेर्नुहोस् । धेरै राम्रा कामहरु भएका छन् । एमाले चुक्यो भने त्यसको पीडा एमालेलाई मात्र हुँदैन । देश र जनतालाई पनि हुन्छ ।’ उनले एमालेले १० वर्ष मुलुकको नेतृत्व गर्ने अवसर पाए जनताका समस्या समाधान गर्ने दावी गरे ।

रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहेका पौडेलले एमालेको विकल्प नभएको बताए । उनले एमाले राष्ट्रिय शक्ति भएको र यो पार्टीलाई अब निर्णायक राष्ट्रिय शक्तिको रुपमा बदल्नुपर्नेमा जोड दिए । एमाले सजिलो यात्रा तय गर्ने पार्टी नभएको उनले दावी गरे । ‘मिसन २०८४ भनेकै एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनु हो, ’उनले भने ।

त्यस्तै पार्टीका सचिव तथा पूर्वमन्त्री छविलाल विश्वकर्माले मुलुकमा भएको उपलब्धीको जग र आधार एमाले भएको दावी गरे । उनले एमाले जनताको आशा र भरोसाको पार्टी भएको बताए ।

एमाले सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पदमा अर्यालले मुलुकको विकासको बाधक राजनीतिक अस्थिरता भएको बताइन् । उनले मुलुकको राजनीतिक कोर्स परिवर्तन भएको बताइन् ।
पार्टीका पोलिटव्यूरो सदस्य तथा रुपन्देही इञ्चार्ज दल बहादुर रानाले जनप्रतिनिधि र पार्टी कार्यकर्ताबीच समन्वय र सहकार्य बढाउनुपर्ने बताए ।

एमाले पोलिटव्यूरो सदस्य तथा लुम्बिनी प्रदेशका निर्वतमान अध्यक्ष लिला गिरीले एमालेविरुद्ध तमाम पार्टीको गठबन्धन हुँदा पनि एमाले सफल भएको दावी गरे । 

पार्टीको लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले एमाले सबैभन्दा ठूलो र लोकप्रिय पार्टी भएको बताए ।

एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र के.सी.ले एमाले जनताको रोजाइको पार्टी भएको दावी गरे । उनले २ वर्ष ५ महिनामा रुपन्देहीमा पार्टीको संगठनलाई अझ मजबुत र सशक्त बनाइएको बताए । उनले भने, ‘स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा रुपन्देहीको अधिकाशं क्याम्पसमा अनेरास्ववियुले जितेको छ । ’

एमाले रुपन्देहीका सचिव यज्ञ गैरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

दुई दिनसम्म सञ्चालन हुने अधिवेशनमा जिल्लाको १६ पालिकाका १५५ वडा, २३ जनसंगठनबाट र आयोजक कमिटीबाट चयन भएका कुल ८५३ जना प्रतिनिधिसहभागी छन् ।
अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित १४१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्नेछ । रुपन्देहीमा एमालेका १७ हजार ९८ पार्टी सदस्य संगठित रहेको र उत्तिकै संख्यामा शुभेच्छुक रहेको जिल्ला उपसचिव तथा प्रचार विभाग उपप्रमुख हितराज पन्थीले बताए ।