
बिहिवार , जेठ २४, २०८१
भैरहवा, २४ जेठ । श्री रण अम्बिका शाह आँखा अस्पताल सिद्धार्थनगर, भैरहवाले संस्थाको विधि–विधान तथा प्रचलित नियमकानून बमोजिम स्वीकृत बोलपत्र किताबको अधिनमा रही टेण्डर प्रक्रिया अगाडि बढाइएको दावी गरेको छ । अस्पताल प्रशासनले बुधबार भैरहवामा पत्रकार सम्मेलन गरी केही दिन अगाडि भवन निर्माणको टेण्डर सम्बन्धमा निर्माण व्यवसायीले बुटवलमा गरेको पत्रकार सम्मेलनमा राखिएका धारणाहरुको खण्डन गर्दै आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
‘तोकिएको समयभित्र दर्ता हुन आएका १७ वटा बोलपत्रहरुमध्ये प्राविधिक मूल्यांकनबाट स्वीकृत ३ वटा बोलपत्रहरुको प्राविधिक प्रस्ताव स्वीकृत गर्ने आशयको सूचना २०८१ जेठ ४ गते ७ दिनको म्याद राखी प्रकाशित गरिएकोमा तोकिएको समयभित्र २ वटा बोलपत्रदाताहरुको गुनासो प्राप्त भएको थियो, ’अस्पतालका व्यवस्थापक प्रकाश रायमाझीले भने ।
उनले तत्काल उक्त बोलपत्रहरु असफल हुनुको कारण खुलाई पत्राचार÷ईमेल गरिएको र थप जानकारी आवश्यक परेमा बुझ्न तथा गुनासो भए उपस्थिति हुनको लागि लिखित जानकारी गरिएकोमा कोही पनि उपस्थिति नभएको बताए ।
‘साथै प्राविधिक प्रस्तावमा असफल अन्य कोही बोलपत्रदाताहरुले तोकिएको समयमा कुनै गुनासो पेश नगरेको हुँदा नियमानुसार २०८१ जेठ ११ गतेको सूचना प्रकाशित गरी सम्बन्धित सबैमा सूचित गरिएको हो, ’उनले भने ।
नियमानुसार प्राविधिक प्रस्तावमा स्वीकृत तीनवटा बोलपत्रबाहेक अन्य कुनै पनि बोलपत्रहरुको आर्थिक प्रस्ताव नखोलिएको र ती बोलपत्रहरु शिलबन्दी रुपमै कार्यालयमा सुरक्षित रहेको अस्पताल प्रशासनले जनाएकाे छ ।
केही पक्षले नियमानुसार र प्रक्रियागत रुपमा भएका कार्यलाई आफू अनुकुल व्याख्या गरी संस्थालाई दुःख र हैरानी दिने उद्देश्यले पत्रकार सम्मेलन गरी गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिहरु दिई भ्रम सृजना गर्ने कार्यहरु भइरहेकाले यसप्रति संस्थाको गम्भिर ध्यानाकर्षण भएकाले यसप्रकारका भ्रामक अभिव्यक्तिहरुको खण्डन गरेकाे छ ।
प्राविधिक रुपमै प्रस्ताव स्वीकृत गर्न योग्य नठानिए पछि कतिको टेण्डर परेको छ भनेर आर्थिक पाटो नै नहेरिएको र योग्यमध्येबाट नव सिर्जनशीललाई छनोट गरिएको दावी अस्पतालको छ । ‘केही कम्पनीको अनुभव कागजात थिएन, कतिको बैंक भौचर र कतिको कम्पनी अद्यावधिक समेत थिएन, त्यसैले १४ वटा निर्माण कम्पनीका प्रस्ताव अस्वीकृत भएका हुन्’, अस्पतालका व्यवस्थापक प्रकाश रायमाझीले भने । परामर्शदाता कर्मा कन्सल्टेन्ट, काठमाडौंका इन्जिनियर दिनेश बस्यालले ठेक्का प्रक्रिया नियमसंगत नै भएको दावी गरे ।
‘हामीले शिलबन्दीमा जति कागजात छन्, प्राविधिकरुपमा त्यसैलाई मान्यता दिने हो । कागजात पुगेका कम्पनीको सोहीअनुसार छनोट गरेका छौं, ’ उनले भने । कागजात नपुगेका कम्पनीको आर्थिक प्रस्ताव नखोलिएकाले कसले कति रकमको प्रस्तावसहित ठेक्का हालेका थिए भन्नेबारे जानकारी नभएको बस्यालले दावी गरे ।
टेण्डर हालेका दर्जन कम्पनीलाई पन्छ्याएर मिलेमतोमा आफू निकटका व्यवसायीलाई ठेक्का दिइएको भन्दै लुम्बिनी निर्माण व्यवसायी संघ, रुपन्देहीले पत्रकार सम्मेलन गरेपछि अस्पताल प्रशासनले त्यसको खण्डन गरेको छ । अस्पतालले गत जेठ १६ गते अस्पतालको अपरेशन थिएटर तथा वार्ड भवन निर्माणका लागि बोलपत्र सम्बन्धि सूचना प्रकाशित गरेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij