२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

देवदह खयरडाडामा भेटियो साँढे ३ मिटर गहिरो प्राचिन इनार

बिहिवार , जेठ २४, २०८१

भैरहवा, २४ जेठ । स्थानीयहरुले बुद्धको मावली कोलिय गणराज्यको दरबार क्षेत्र दावी गर्दै आएको रुपन्देहीको देवदहस्थित खयरडाडाँमा प्राचिन साँढे ३ मिटर गहिरो ईट्टाको इनार भेटिएको छ । देवदह नगरपालिकाको आर्थिक सहयोगमा लुम्बिनी विकास कोष, पुरातत्व विभागले जेठ १६ गतेदेखि सुरु गरेको उत्खनन्का क्रममा पूर्ण आकारमा रहेको प्राचिन ईट्टाको इनार भेटिएको हो ।

गत वर्ष लुम्बिनी विकास कोषले उत्खनन गर्दा ईट्टाको माथिल्लो भाग मात्रै देखा परेको थियो । २ मिटर चौडाई र साँढे ३ मिटर गहिरो ईट्टाको प्राचिन इनार भेटिएको लुम्बिनी विकास कोषका वरिष्ठ पुरातत्व अधिकृत हिमालकुमार उप्रेतीले जानकारी दिए । ‘गत वर्ष इनारको माथिल्लो भाग मात्रै भेटिएको थियो, यो वर्ष इनारको बेस (तल्लो भाग) सम्म जाने योजनाअनुसार उत्खनन गर्दा इनारको पूर्ण आकार भेटिएको छ’ उप्रेतीले भने । उनका अनुसार प्राचिन इनार भए पनि कुन समयको भन्ने कुरा कार्बनडेटिङपछि मात्रै यकिन हुनेछ । 

इनारको दक्षिणतर्फ प्राचिन पर्खालहरु भग्नाअवशेषहरु भेटिएको उप्रेतीले बताए । उत्खनन्का क्रममा खयरडाडा क्षेत्रमा माटाका भाडा, प्राचिन ईट्टाले लगाईको पर्खालका भग्नाअवशेषहरु भेटिएको छ । स्थानीयहरुले पुरातात्विक स्थल भन्ने थाहा नहुँदै ईट्टाहरु लगेको र त्यसरी ईट्टा निकाली खाडल बनेका संरचनाहरु देखिएको उप्रेतीले बताए ।

बुद्धको मावली कहाँ हो भन्ने बारेमा अहिले नै निक्र्यौल गर्न नसक्ने बताउँदै पुरातात्विक उत्खनन् र अन्वेषण अझै बढाउनुपर्ने उनले बताए । रोहिणी पूर्वका नागरिकहरुले देवदहबासीका रुपमा भन्न मिल्ने उप्रेतीले बताए । तर, बुद्धका समय र त्यो भन्दा अगाडिका माटाका भाँडा, टुक्राहरु पण्डितपुरमा भेटिएको छ ।

रुपन्देही देवदहका स्थानीयहरुले भने बुद्धको मावली देवदहको दरबार नै यहाँ रहेको दावी गर्दै आएका छन् । प्राचिन कोलिय राज्यका क्षेत्रहरुमा निरन्तर उत्खनन् अध्ययनको आवश्यकता रहेको पुरातत्व विभागका अधिकृत राजेश परियारले बताए । उनले खयरडाडामा उत्खननबाट प्राप्त ऐतिहासिक तथ्य र प्रमाणलाई अध्ययन गरी आगामि दिनमा थप कदमहरु अगाडि बढाउने बताए ।

देवदह नगरपालिका–९ स्थित खयरडाँडामा क्षेत्रमा देवदह नगरपालिकाको १० लाख बजेटबाट अहिले उत्खनन गरिएको हो । स्थानीय पालिकाले साझेदारीमा उत्खनन गरेको यो पहिलो रहेको बताइएको छ ।

लुम्बिनी विकास कोषका पुरातत्व महाशाखा प्रमुख वरिष्ठ पुरातत्व अधिकृत हिमाल उप्रेतीको नेतृत्वमा पुरातत्व अधिकृत राजेश परियार, लुम्बिनी विकास कोषका नमराज अधिकारी, चन्द्रप्रकाश पाठक, अख्तर हुसेन मुसलमान र विज्ञका रुपमा शुभेच्छा पोख्रेल उत्खननमा खटिएका छन । उत्खनन् आगामी अझै १ महिना चल्ने जनाइएको छ ।

inar.JPG