२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

बुटवलमा इभी फाष्टिङ चार्जर स्टेशन सञ्चालन

शनिवार , जेठ २६, २०८१

बुटवल, २६ जेठ । 
रुपन्देहीको बुटवलमा इभी फाष्टिङ चार्जर स्टेशन सञ्चालनमा आएको छ । सुख्खानगरमा रहेको इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले आफ्नै कार्यालय भवन परिसरमा अत्याधुनिक मेशिन जडित ‘फाष्ट चार्ज’ सहितको चार्जिङ स्टेशन शुक्रबारदेखि सञ्चालनमा ल्याएको हो । 

उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश अन्तर्गत सहकारी दर्ता अधिकारीको कार्यालयका दर्ता अधिकारी यमबहादुर कुँवरले स्टेशनको शुभारम्भ गरेका हुन् । सो अवसरमा कुँवरले सहकारीले आफ्ना सदस्यहरुका लागि व्यवसायिक योजना बनाउनुपर्ने उल्लेख गर्दै सदस्यमुखी योजनाहरुलाई पछ्याएर सफलता प्राप्त गर्नुपर्ने बताए । उनले पछिल्लो समय पर्यावरणीय संरक्षणको हिसाबले पनि विद्युतीय सवारीको चाप बढेकाले तिनको सहजताका लागि स्थापना गरिएको चार्जिङ स्टेशनले सकारात्मक सन्देश दिएको बताए । 

सहकारीका अध्यक्ष कृष्ण प्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रका प्रमुख कपिलराज पाण्डे, जिल्ला सहकारी संघका उपाध्यक्ष डोलप्रसाद अर्याल, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) की सञ्चालक समिति सदस्य ज्ञानु पौड्याल, सामुदायिक सहकारीका अध्यक्ष सुरेन्द्र वर्मा, बुटवल उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष नवराज श्रेष्ठ, इन्द्रेणीका निर्वतमान अध्यक्ष धुर्वकुमार धिताल, उपाध्यक्ष माया गौतम लगायतले इभी फाष्टिङ चार्जर स्टेशनको सञ्चालनले बुटवल क्षेत्रमा इभी सवारी चलाउनेका लागि सहजता हुने विश्वास व्यक्त गर्दै दिगोपनाका लागि शुभकामना दिए ।

पूर्व–पश्चिम राजमार्गदेखि ५० मिटर उत्तर धर्मपथमा रहेको आफ्नै कार्यालय परिसरमा स्थापना गरिएको चार्जिङ स्टेशनबाट दैनिक ८०÷९० बढी सवारीसाधनलाई सेवा उपलब्ध गराउन सकिने सहकारीका सचिव नरबहादुर रजालीले जानकारी दिए । 

नेपाल विद्युत प्राधिकरणको प्राविधिक सहयोगमा सञ्चालनमा ल्याइएको स्टेशनमा मानवरहित सेवा उपलब्ध गराइने र सेवाग्राहीले अनलाइनबाटै भुक्तानी गर्न सक्ने सहकारीले जनाएको छ । स्टेशनमा ६० किलोवाट क्षमताको सीसीएस–२ डबल गनको एउटा मेशिन तथा ६० किलोवाटकै जीबीटी डबल गनसहितका २ वटा मेशिन जडान भएको छ । करिब १ करोड लगानीमा सञ्चालनमा ल्याइएको स्टेशनमा एकैसाथ ६ वटा सवारीलाई चार्ज गर्न सकिनेछ । स्टेशनबाट चार्जमा लगाएका सवारी आधा घण्टादेखि १ घण्टाभित्रमा फूल चार्ज हुने सहकारीले जनाएको छ ।  

सहकारीमा हाल २०४८ सदस्य आवद्ध रहेका छन् भने १० करोड ६२ लाख ३ हजार ५ सय रुपैयाँ शेयर पूँजी संकलन तथा ४० करोड ७४ लाख २६ हजार ८ सय ७६ रुपैयाँ निक्षेप पूँजी संकलन भएको छ । संस्थाको साढे ३ कट्ठा जग्गासहित सुविधासम्पन्न आफ्नै भवनमा कार्यालय सञ्चालनमा रहेको छ । 

यसैबीच स्टेशनमा सेवा लिनका लागि बुटवल–गुल्मी सञ्चालन हुँदै आएका आगन सेवा यातायात प्रा.लि.का १५ वटा सवारीका लागि सम्झौता भएको र सेवा लिन सुरु गरेको प्रालिका सञ्चालक सन्तोष कंडेलले जानकारी दिए ।