२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

बुटवलमा गृहणी महिलाका लागि कपडा सिलाउने तालिम सुरू

आइतवार , जेठ २७, २०८१

बुटवल, २७ जेठ ।

रुपन्देहीको बुटवलमा गृहणी महिलालाई सीप र रोजगारसँग जोड्दै आर्थिक रुपमा सबल बनाउन नगरप्रमुख गृहणी महिला रोजगार कार्यक्रमअन्तरगत जातजातिका भेषभुषा सिलाउने तालिम सुरु भएको छ ।

महिलाहरुलाई आर्थिक रुपमा सक्षम र सबल बनाउन नगरप्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रम अगाडि सारेको हो । जातजातिका भेषभुषा सिलाउने तालिमको आइतबार बुटवल टेक्निकल ईन्ष्टिच्युट बिटिआईबाट शुभारम्भ गरिएको छ। कार्यक्रमको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले महिलालाई सीप र रोजगारसँग जोडेर सबल बनाउनका लागि कार्यक्रम सुरु गरिएको बताए । 

समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल शहरको नारा लिएको बुटवलले घरमै बस्ने गृहिणी महिलालाई स्वरोजगारी बनाउन यो कार्यक्रम अघि सारेको उनले बताए । उनले महिलाहरूलाई घरमै बसिबसी गर्न सक्ने कामलाई पनि उत्पादनसँग जोडिने बताए । 

पहिलो चरणमा नगरका ८ सय जना महिलालाई तालिममा समावेश गर्ने नगरको लक्ष्य रहेको बताउदै प्रमुख पाण्डेले तालिम पश्चात हरेक टोलटोलमा गृहिणी महिला स्वरोजगार समिति नै गठन गरेर अगाडि बढाउने बताए । उनले महिलाहरुलाई आर्यआर्जनसँग जोड्न सीप नै सबैभन्दा ठुलो माध्यम हो भन्ने अभियान चलाएर बुटवललाई एउटा आर्थिक आयआर्जनको उर्जाशील क्षेत्रको रुपमा रुपान्तरण गर्न चाहेको बताए ।

उनले सीप सिकेर महिलाहरुले उत्पादन गरेका सामग्री कोशेली घरको निर्माण गरी विक्रीवितरणको व्यवस्था मिलाइने बताए । गृहिणी महिला स्वरोजगार कार्यक्रम सञ्चालन कार्यविधि २०७९ अनुसार यो तालिममा सहभागी भएका महिलाहरुले उत्पादन गरेका सामग्री विक्रीका लागि कोशेली घर निर्माण गरी बजारीकरणको व्यवस्था गर्ने उपप्रमुख सावित्रादेवी अर्यालले बताइन् । 

वडा नम्बर ४ का अध्यक्ष नरिश्वर शर्माले स्थानीय स्तरमा महिलाहरुमा उत्साह बढेको र यसले बुटवललाई सीप र उत्पादनका क्षेत्रमा अगाडि लैजाने बताए । 

बुटवल टेक्निकल ईन्ष्टिच्युट बिटिआईका कार्यकारी निर्देशक अभिमन्यु पन्थीले महिलाहरुका लागि ल्याइएको यो कार्यक्रमको सदुपयोग गर्दै सीप सिकेर स्वरोजगार बन्ने बताए । 
यस्तै, वडा नम्बर ६ मा सुरू भएको गुन्द्रुक र मस्यौरा बनाउने तालिम समापन  भएको नगरप्रमुख गृहणी महिला रोजगार कार्यक्रमका प्रमुख विजयदेव भुर्तेलले बताए । 

WhatsApp Image 2024-06-09 at 6.08.03 PM.jpeg

बुटवलमा ७० जना गृहिणी महिलाहरुका लागि चुरा, पोते, टिका बनाउने ४५ दिने तालिम, १०० जना महिलाहरुका लागि १५ दिने गुन्द्रुक,  मस्यौरा बनाउने तालिम, १०० जना महिलाका लागि १ महिने दुना टपरी बनाउने तालिम, ६० जना महिलाका लागि बिभिन्न जातजातिको भेषभूषा, ड्रेस तयार गर्ने २ महिने तालिम दिने योजना छ । 

यस्तै ५० जना महिलाका लागि बटुवा धुपबत्ति बनाउने १५ दिने तालिम, २० जना महिलाका लागि आईसक्रिम बनाउने १५ दिने तालिम, १० जना महिलाका लागि थाकलबाट झोला, टोपी, चकटी, गमला बनाउने १ महिने तालिम, १०० जना महिलाका लागि झिनीया रोटी, सेलरोटी, बटुकरोटी, कोदोको रोटी, सुख्खा रोटी, तावा रोटी, फापरको रोटी र परौठा बनाउने १५ दिने तालिम गरी जम्मा नगरमा रहेका ५१० जना गृहिणी महिलाले तालिम पाउनेछन् ।