२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

वर्तमान सरकार ढल्ने कुनै सम्भावना छैन : प्रधानमन्त्री प्रचण्ड

शनिवार , आषाढ ९, २०८१

काठमाडौं, ८ असार ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारलाई कसैले हटाउन नसक्ने बताएका छन् । शनिबार काठमाडौंमा तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रचण्डले बाहिर चर्चा चलेजस्तो वर्तमान सरकार ढल्ने कुनै सम्भावना नरहेको र अहिले सरकारलाई कसैले हटाउन नसक्ने बताएका हुन् । 

उनले आफ्नो नेतृत्वको सरकार बन्न थालेको दिनदेखि नै यसको आयुका बारेमा बहस हुने गरे पनि आफूले डेढ जर्षदेखि जनताको काममा निरन्तर काम गर्न पाएको धारणा राखे । उनले आफूहरुसँग भएको सांसदको संख्या जादुवाला रहेको भन्दै तरिका मिले पुरै अवधि सरकार सञ्चालन गर्न सकिने धारणा राखे । इतिहास, मुद्दा र आन्दोलनका कारणले पनि आफू नेतृत्वको सरकारलाई हटाउन सहज नभएको उनको भनाइ छ ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रचण्डले राजनीतिक तहमा भएका सहमतिलाई इमान्दारीताका साथ कार्यान्वयन गर्ने बताए । त्यस्तै प्रचण्डले समाजवादी क्रान्तिका लागि नयाँ विचार बनाउन महाधिवेशनमा जाने भन्दै अव बस्ने पार्टीको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तय गर्ने जानकारी दिए ।

यसअघि पनि ऐतिहासिक दिन छानेर महाधिवेशनको उद्घाटन गरिएको उल्लेख गर्दै उनले अब पनि ऐतिहासिक दिन छानेर महाधिवेशनको उद्घाटन गर्ने गरी मिति तोकिने जिकिर गरे । उनले माओवादीले मात्रै देशको एकता, प्राप्त उपलब्धी र व्यवस्थालाई सुदृढ गर्न सक्ने गरी जनतामा विश्वास पैदा गर्ने बताए ।