
शुक्रवार , फाल्गुण १४, २०७७
भैरहवा, १४ फागुन ।
लुम्बिनी प्रदेशका बजारहरुमा तरकारी तथा फलफुलका स-साना पसलमा खरिद गर्दा वा रिक्सा चढ्दा अब नगद नचाहिने भएको छ । लुम्बिनी प्रदेशमा डिजिटल बैंकिङ्ग सर्वसाधारणको पहुँचसम्म पुर्याउन क्यूआर (क्वीक रेस्पोन्स) कोडको माध्यमबाट भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले सुरु भएको अभियान अन्तर्गत सिद्धार्थनगरका स-साना तरकारी तथा फलफुल पसल, खुद्रा पसलमा सरसामान खरिद गर्दा तथा ई-रिक्सा सेवा प्रयोग गरेवापत गरिने भुक्तानीमा क्यूआर कोड प्रयोग गरी उपभोक्ताले आफ्नो खाताबाट कुनै अतिरिक्त शुल्क नतिरी सेवा प्रदायकको खातामा रकम भुक्तानी गर्न सक्ने प्रणालीको यस क्षेत्रमा सुरुवात गरिएको छ ।
नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयकोे पहलमा तरकारी तथा फलफुल बजारमा तथा यहाँ सञ्चालित ई-रिक्साहरुमा क्यूआर कोडबाट भुक्तानी कार्यको नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका निर्देशक सुदिप फुयालले गत हप्ता अलगअलग कार्यक्रम गरी शुभारम्भ गरे ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ स्थित बीपिपथमा रहेको मायादेवी तरकारी तथा फलफुल बजारमा नबिल बैंकले प्रदान गरेको क्यूआर कोडबाट भुक्तानी प्रणालीलाई शुभारम्भ गर्दै निर्देशक फुयालले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई सर्वसाधारणको पहुँचसम्म पुर्याउन नेपाल राष्ट्र बैंकले अभियानको रुपमा सुरु गरेको बताउँदै यसमा कारोबार गर्दा सुरक्षित, कम खर्चिलो र विश्वसनीय भएकोले यसमा सहभागिताको लागि सबैलाई आव्हान गरे ।
कार्यक्रममा नबिल बैंक लुम्बिनी प्रदेश प्रबन्धक यज्ञप्रसाद शर्मा, शाखा प्रबन्धक लीलाप्रसाद ओझा, नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका सहायक निर्देशक रमेशकुमार न्यौपाने, बजार समितिका अध्यक्ष सोमबहादुर पाण्डे, व्यवसायी, पत्रकार लागयतको उपस्थिति रहेको थियो । सिद्धार्थनगरको बीपिपथमा रहेको यस स्थायी तरकारी बजार क्षेत्रभित्रका तरकारी एवं फलफुल पसलहरुमा दैनिक थोक तथा खुद्रा व्यापारमा करिब ३ सय ५० बढीले पसल सञ्चालनमा छन् ।
यसै हप्ता भएको एक कार्यक्रममा सिद्धार्थनगर क्षेत्रमा सञ्चालित ई-रिक्साहरुमा क्यूआर कोडबाट भुक्तानी कार्यको निर्देशक सुदिप फूयालले शुभारम्भ गरे । शाइन रेसुंगा डेभलपमेण्ट बैंकले प्रदान गरेको क्यूआर कोड प्रणालीलाई शुभारम्भ गर्दै निर्देशक फुयालले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई सरल, सजिलो र सर्वसाधारणको पहुँचसम्म पुर्याउन नेपाल राष्ट्र बैंकले अभियानको रुपमा सुरु गरेको र यसको लागि बैंक वित्तीय संस्थाहरुले अग्रसरता देखाएको हुँदा सबैले सहयोग गर्नुपर्ने बताए । शाइन रेसु¨ा डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले डिजिटल भुक्तानी प्रणालीमा यस क्षेत्रका स–साना व्यवसायीहरुलाई प्रोत्साहन गर्दै अगाडि बढिरहेको बताए ।
नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका सहायक निर्देशक रमेशकुमार न्यौपानेले क्यूआरकोड प्रणालीमा सबैलाई आबद्ध हुन आग्रह गरे । यस क्षेत्रका बैंकतथा वित्तीय संस्थाहरु र व्यवसायीरुलाई क्यूआर कोड भुक्तानी प्रणालीको जानकारी र प्रयोगको बारेमा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयले सहजीकरण गरिरहेको र आगामी दिनमा स–साना तरकारी पसल, फलफुल पसल, किराना पसलहरु र भाडाका बसहरुमा पनि क्यूआरकोड लागू गर्दै यस क्षेत्रमा नगदरहित कारोबारलाई प्रोत्साहन गर्दै लैजाने बताए । ई–रिक्सा चालक संघका अध्यक्ष हरिबहादुर नेपालीले भैरहवामा सञ्चालित सबै ई–रिक्साहरुमा क्रमश : क्यूआर कोड भुक्तानी लागू गरी प्रयोगको तरिका पनि सिकाउँदै जाने बताए । सिद्धार्थनगर क्षेत्रमा करिब २ सय भन्दा बढी ई–रिक्सा चालकहरु संघमा आबद्ध भइ सञ्चालनमा छन् ।
क्यूआर कोड प्रणालीबाट भुक्तानी गर्ने कार्यको विस्तार गर्न बैंकहरुसंग अन्तरक्रिया
लुम्बिनी प्रदेशमा डिजिटल बैंकिङ्ग प्रवर्द्धन गर्न तथा संघीय सरकार एवं प्रदेश सरकारका बैंक वित्तीय संस्था मार्फत गरिने कार्यक्रमहरुको सफल कार्यान्वयन गरी लक्षित समुहसम्म सेवा पुर्याउने उद्देश्यले वाणिज्य बैंकका प्रदेश प्रबन्धक, विकास बैंक र लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।
नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयले लुम्बिनी प्रदेशमा रहेको वाणिज्य बैंकका प्रदेश प्रबन्धक, विकास बैंक र लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरी यस प्रदेशमा यस्ता कार्यक्रमहरु सञ्चालन गर्न र लगानीलाई पनि कार्यक्रम केन्द्रित गराउन सबै बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरिएको हो ।
कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका निर्देशक सुदिप फुयालले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले डिजिटल बैंकिङ्ग प्रवद्र्धन गर्न क्यूआर कोड मार्फत भुक्तानी प्रणाली जोड दिएकोले बैंक वित्तीय संस्थाहरुले पनि क्यूआर कोड मार्फत भुक्तानी प्रणाली अवलम्वन गरी आफ्ना ग्राहकहरुलाई क्यूआर कोड प्रयोगको लागि प्रेरित गर्न आग्रह गरे । उनले सफानोट नीतिको कार्यान्वयनमा बैंकहरुले विशेष ध्यान दिनुपर्ने बताए । उनले संघीय सरकारका पशु विकास आयोजना अन्तरगत संचालित दुध तथा मासु उत्पादन कार्यक्रमका परियोजनाहरु र लुम्बिनी प्रदेश सरकारको सुलभ कर्जा सहजिकरण तथा ब्याज अनुदान कार्यक्रम अन्र्तगतका लगानी गरी कृषि तथा पशु क्षेत्रको विकासमा जोड दिई उत्पादनमा वृद्धि गराई आयात प्रतिस्थापनमा सहयोग पुर्याउन अनुरोध गरे ।
कार्यक्रममा नेपाल लाइभस्टक सेक्टर आयोजनाका आयोजना समन्वय प्रमुख डा. पुरुषोत्तम त्रिपाठीले आयोजनाको बारेमा जानकारी गराउँदै मासु तथा दुध उत्पादनको गर्न सहकारी संस्था, समुह वा व्यक्तिगत रुपमा परियोजना सञ्चालन लागि आवश्यक रकममध्ये ५० प्रतिशत रकम आयोजनाले अनुदान प्रदान गर्ने २० प्रतिशत रकम सम्बन्धित व्यवसायिले लगानी गर्नुपर्ने र ३० प्रतिशत रकम बैंक कर्जाबाट लिई परियोजना सञ्चालनको मोडेल रहेको जानकारी दिए ।
कार्यक्रममा बोल्दै नेपाल बैंकर्स संघका लुम्बिनी प्रदेशश संयोजक एवं नेपाल इन्भेष्टमेण्ट बैंकका प्रदेश प्रबन्धक रामराज उपाध्यायले बैंकहरु केन्द्रिय बैंकको अभिवावकत्वमा त्यस्ता कार्यक्रमहरुमा सफल पार्न तत्पर रहेको बताए । उक्त कार्यक्रममा उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रेम बहादुर पाठकले लघुवित्त वित्तीय संस्थाहरु सञ्जाल गाउँगाउँसम्म रहेको र स–साना उद्यमीहरुसम्म पुगेकोले यस्ता कार्यक्रममा संलग्न हुन इच्छुक रहेको बताए ।
स-साना व्यवसायीहरुलाई क्यूआर कोडमार्फत भुक्तानी प्रणालीलाई विस्तार र प्रचारप्रसार गर्न राष्ट्र बैंकले अभियान चलाएको छ । संघीय सरकार अन्तर्गत नेपाल लाइभस्टक सेक्टर आयोजनाले मासु तथा दुध उत्पादनको लागि सञ्चालन गरिने परियोजनामा ५० प्रतिशत अनुदान प्रदान गर्दछ । त्यस्तै लुम्बिनी प्रदेशको भूमि व्यवस्था तथा सहकारी मन्त्रायलयले व्यवसायिक कृषि र पशुपालनको लागि परियोजना निर्माण गर्न प्राविधिक सहजीकरण गर्ने र बैंकबाट १ देखि ३ वर्ष अवधिको लागि लिइएको कर्जामा ५ देखि १० प्रतिशतसम्म व्याज अनुदान प्रदान गर्दछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij