२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

जनउत्थान सहकारीको पाँचौ शाखा उद्घाटन 

शुक्रवार , फाल्गुण १४, २०७७

भैरहवा, १४ फागुन ।
रुपन्देहीको शुद्धोधन गाउँपालिका–६ बकुली बजारस्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको पाँचौ शाखा कार्यालयको सुदृढ सेवा केन्द्रको समुद्घाटन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ज्ञानु पौड्यालको अध्यक्षतामा भएको कार्यक्रममा शुद्धोधन गाउँपालिकाका अध्यक्ष किशुनचन्द चौधरीले सेवा केन्द्रको उद्घाटन गरे ।

केन्द्रीय कार्यालयका व्यवस्थापक रनबहादुर थापाले संस्थाको बारेमा प्रकाश पार्दै २२ हजार शेयर सदस्य भएको पाँचौ शाखा बनाउन सफल भएको र केही दिनमै लुम्बिनीमा पनि शाखा सञ्चालन गर्ने बताए । उनले लुम्बिनी प्रदेशको उत्कृष्ट सहकारीको रुपमा पुरस्कृत भएको संस्थाले सरसफाइलाई मध्यनजर गर्दै सरसफाई सामाग्री फर्साटिकर व्यापार संघ मानपकडी र बकुली व्यापार संघलाई हस्तान्तरण गरिएको बताए ।

कुल पुँजी २ अरब १६ करोड, शेयर पूजी १९ करोड, बचत संकलन १ अर्ब ७४ करोड, ऋण लगानी १ अर्ब ७४ करोड र संस्थागत कोष १६ करोड रहेको व्यवस्थापक थापाले जानकारी दिए ।

कार्यक्रममा शुद्धोधन गाउँपालिकाका अध्यक्ष किसुनचन्द चौधरीले जनउत्थान सहकारीले गाउँपालिकालाई केन्द्रीत गरेकोमा धन्यवाद व्यक्त गर्दैसहकारीलाई अगाडि बढाउन नसकेसम्म आत्मनिर्भर बन्न नसकिने बताए । उनले सहकारीले कृषि क्षेत्रमा लगानी गरी कृषकहरूलाई आत्मनिर्भर बनाउन अपेक्षा गरे ।

संस्थाका अध्यक्ष ज्ञानु पौड्यालले जनउत्थान साकोसले सदस्यको हित र सन्तुष्टीमा ध्यान दिएर गुणस्तरीय सेवा प्रदान गर्ने बताइन् । उनले यस क्षेत्रको आर्थिक सामाजिक विकासमा जोड दिएर कार्य गर्न प्रतिबद्ध भएको बताइन् । २०७३ देखि ८ वटा संस्था एकिकरण गर्दै आएको यो संस्थामा सबैले योगदान दिएको बताइन् ।

शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले सहकारीले लागि उद्यमी बनाउन ध्यान दिनुपर्ने बताइन् ।
शुद्धोधन गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष जयशंकर पाठकले जनउत्थान सहकारी गाउँपालिकाको अब्बल सहकारी भएकोले कृषिमा गरी लगानी गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा फर्साटिकर व्यापार संघका अध्यक्ष हुमाकान्द पाण्डे, स्वास्थ्य शाखाका प्रमुख कविराज गौतम शुद्धोधन गाउँपालिका मानपकडी योजना शाखाका मानप्रसाद भण्डारी लगायतले शुभकामना बोलेका थिए । संस्थाका उपाध्यक्ष गिरी प्रसाद पुनको स्वागत तथा सचिव सरु रानाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।