२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

बजारमा आवासको स्क्रु, नटबोल्ट

शुक्रवार , फाल्गुण १४, २०७७

बुटवल, १४ फागुन ।
आवास ग्रुप अन्तरगतको नेपालकै एक मात्र उद्योग मिराज इण्डष्ट्रिज प्रा.लि.ले बजारको माग अनुसार आल्मुनियम फेब्रिकेशन, जिप्सन बोर्ड, सवारीसाधन, निर्माण कार्य लगायतमा अतिआवश्यक पर्ने स्क्रु, नटबोल्टहरु उत्पादन सुरु गरेको छ । 

रुपन्देहीको तिलोत्तमा–१७ मा स्थित एक वर्षमा उद्योग निर्माण र आवश्यक मेशिन जडान गरी मिराजले उत्पादन सुरु गरेको हो । नेपाली बजारमा निर्माण, आल्मुनियम जिप्सन, सवारीसाधन लगायतमा अतिआवश्यक पर्ने स्क्रु, नटबोल्ट स्वदेशमा नै उत्पादन सुरु गरेको ग्रुपका प्रबन्ध निर्देशकमहेश थैवले बताए ।

विदेश बजारमा निर्भर रहेको स्क्रु, नटबोल्ट स्वदेशमा नै उत्पादन सुरु गरेको उनले बताए । ‘ठुलो परिमाणमा स्क्रु र नटबोल्ट विदेशबाट आयात हुँदै आएको छ ।’– उनले भने । विशेष गरी भारत र चीनको बजारमा निर्भर रहेको नेपालमा अब स्वदेशी उद्योगबाट उत्पादन भएको सामग्री उपलब्ध हुने उनले बताए । ‘यो नेपालमै पहिलो उद्योग हो ।’–उनले भने । 

उत्पादनका हिसाबमा धेरै मिहिन तर बजारमा धेरै माग रहेकाले आफुहरु स्वदेशमा नै उत्पादन गर्ने लक्ष्यसहित विदेशबाट अटोमेटिक मेशिनहरु झिकाएर उत्पादन गरेको उनले बताए । कच्चा पदार्थमा भने विदेशमै भर पर्नुपर्ने बाध्यता रहेको उनले बताए ।

स्क्रु र नटबोल्ट गरी उद्योगमा दैनिक एक हजार किलो उत्पादन क्षमता रहेको ग्रुपका प्रबन्ध निर्देशक महेश थैवले बताए । उद्योगमा १० करोड रुपैयाँ लगानी रहेको छ । उद्योगमा दक्ष तथा अदक्ष गरी ४० जनाले प्रत्यक्ष रोजगार पाएका छन । आवास ग्रुपको हाल १४ वटा विभिन्न उद्योगहरु सञ्चालनमा छन् ।