२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही आफ्नै भवनमा

आइतवार , फाल्गुण १६, २०७७

भैरहवा, १६ फागुन ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीको नवनिर्मित भवनको समुद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । भाडामा सञ्चालन हुँदै आएको कार्यालय अब आफ्नै भवनमा सञ्चालन हुने भएको हो । सिद्धार्थनगर नगरपालिका र उद्यमी व्यवसायीको सक्रियता एवं जनसहभागितामा करिब २ कठ्ठा क्षेत्रफलमा अढाई तले भवन १ करोड ५२ लाखको लागतमा निर्माण भएको भवन निर्माण समितिका कोषाध्यक्ष मंगल भण्डारीले बताए ।

भवनको एक कार्यक्रमकाबीच आइतबार नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्रीले उद्घाटन गरे । कार्यक्रममा बोल्दै आइजीपी थापा क्षेत्रीले नागरिकले सहयोग नगरेसम्म प्रहरीले अपराध नियन्त्रण र रोकथाम गर्न नसक्ने बताए । उनले अपराध न्यूनीकरणमा नागरिकले साथ दिदा समाज सुरक्षित हुने बताए । झण्डै ५२० रोपनी जग्गा प्राप्त भएकोले नेपाल प्रहरी भन्दा अन्य कुनै निकायलाई आम समुदायबाट यति धेरै सहयोग प्राप्त नपाएको उनले बताए । 

‘एउटा ट्राफिक प्रहरीले २६ किलोमिटर र १ हजार ६ सय सवारीसाधन हेर्नुपर्छ तैपनि सडकमा प्रहरी खटिएको छ, ’उनले भने । आपत पर्दा सर्वप्रथम व्यक्तिले ईश्वर, दोस्रोपटक अभिभावक र तेस्रोपटक नीलो पोशाक लगाउने प्रहरीलाई सम्झने बताए । 
‘मैले अधिकांशलाई पेशा के हो भनेर सोधे भने समाजसेवा हो, रुची के हो भनेर सोधे भने समाजसेवा भन्नुहुन्छ, तर प्रहरीको पेशा नै सामाजिक सेवा हो, उनले भने । त्यसैले प्रहरी सजग हुनुपर्ने उनको भनाइ छ ।

नवनिर्मित भवन आधुनिक भएकोले भवनबाट नागरिकलाई प्रदान गरिने सेवा पनि आधुनिक हुनुपर्ने उनले बताए । ‘प्रहरी विनम्र भएन भनेर गुनासो आउँदा आफुले प्रहरीलाई धेरै पटक विनम्र हुन भनेको छु,  विनम्रता भनेको कमजोरी होइन, विनम्र हुनु कमजोर हुन होइन, कमजोर मान्छेले कडा कुरा गर्छ, असल मान्छेले राम्रो काम गर्छ, विनम्र हुनुस् र कमजोर नहुनुस्, यो मेरो स्पष्ट निर्देशन पनि हो, प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भने । शान्ति सुरक्षा संयुक्त अधिकार र दायित्वको कुरा भएको उनले बताए । 

‘शान्तिका अग्रदुत गौतमबुद्ध जन्मेको स्थानमा छौं, सडकमा धेरै प्रहरी देखिनु राम्रो होइन, नागरिक नै प्रहरीको रुपमा सादा पोशाकमा उपस्थित हुनुहुन्छ र सुरक्षाको पहरेदारी गर्नुहुन्छ भने त्यो सबैभन्दा राम्रो सुरक्षा हो, प्रहरीको उपस्थिति नै नहुने भन्ने होइन, ’उनले भने ।

त्यस्तै भवन निर्माण समितिका संयोजक तथा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले सीमावर्ती भन्सार नाका, लुम्बिनी, निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, औद्योगिक करिडोरका कारण यस क्षेत्रको विकासको लागि शान्ति र सुरक्षा महत्वपूर्ण पाटो भएको बताए । उनले भवन निर्माण कार्यले सकारात्मक सम्बन्धको विश्वास गर्ने विश्वास व्यक्त गरे ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले हरेक कुरामा राजनीति गर्न नहुने बताए । उनले समग्र नगरको विकासमा हातेमालो गरेर अगाडी बढ्नुपर्ने बताए । नगरप्रमुख अधिकारीले ब्लड बैंक निर्माणका लागि पनि जग्गा दिइएको बताए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले दुर्घटनाको अवस्था डरलाग्दो भएकोले अझ बढी गम्भिर हुनुपर्ने बताए । उनले शान्ति सुरक्षालाई चुनौती दिने खालको कार्य नभएको बताए ।

पश्चिमाञ्चल यातायात प्रा.लि.का अध्यक्ष दधिराम खरेलले दुर्घटना कसरी रोक्न सकिन्छ भन्ने कुरामा सचेत रहेको बताए । उनले समयको माग हेरेर अगाडी बढ्नु आवश्यक रहेको बताए । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष कुल प्रसाद न्यौपानेले उद्योगी व्यवसायीसंग सहकार्य गरेर अगाडी बढ्न आग्रह गरे । उनले प्रहरी प्रशासन र निजी क्षेत्रबीच सहकार्य हुनुपर्ने बताए ।

उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले ट्राफिक कार्यालय भवन सिद्धार्थनगरको गहना भएको बताए । उनले भवन निर्माण कार्यले राम्रो सन्देश दिएको बताए ।

भवन निर्माण समितिका अनुगमन संयोजक ओमकार गौचनले प्रहरीसंगको सहकार्यमा विभिन्न कार्यक्रम हुँदै आएको बताए ।उनले भवन निर्माणका लागि जग्गा सहयोग गर्ने सिद्धार्थनगर नगरपालिकालाई धन्यवाद दिए ।IMG_3824.JPG

भवन निर्माण समितिका संयोजक कृष्ण प्रसाद शर्माको अध्यक्षता, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र बहादुर धानुकको धन्यवाद ज्ञापन तथा सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका सचिव विजय पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा भवन निर्माण गर्ने उद्योगी व्यवसायी तथा संघ–संस्थालाई सम्मान गरिएको थियो ।IMG_3865.JPG