
आइतवार , श्रावण २०, २०८१
मनव जातीको विरासत भनेकै विगत हो । हामीहरु के सँग कसरी बाँचिरहेका छौं ? हामी आउने पुस्तालाई के हस्तान्तरण गर्दैछौं ? हाम्रा साँस्कृतिक र प्राकृतिक सम्पदाहरु जीवन र प्रेरणाका अपूरणीय श्रोत हुन् । पृथ्वीको इतिहाससँगै परंम्परागत मानव वस्ती, मूल्यहरुको आदानप्रदान, साँस्कृतिक परम्परा, मानव इतिहासको महत्व, प्राकृतिक घटना वा सौन्दर्यहरु सम्पदाभित्र समेटिएका हुन्छन् ।
त्यसै गरी अमूर्त रहेका साँस्कृतिक सम्पदाहरु छन् । भाषा, बोली कला, संगीत, नृत्य, अनुष्ठान, चाडपर्व र समारोहहरु छन् । प्रकृति र ब्रह्माण्डको बारेमा ज्ञान र अभ्यासहरु छन् । परम्परागत शिल्प, उत्पादन गर्न प्रयोग गरिने प्राविधिक ज्ञान र सीपहरु छन् । यी यस्ता मापदण्डहरु हुन् जो हाम्रो सम्पदासँग कुन न कुनै रुपमा जोडिएका छन् । यी कुराहरुलाई नबिगारीकन गरिने विकासका अभ्यासहरुले हाम्रो साँस्कृतिक, प्राकृतिक र मिश्रित सम्पदाहरुमाथि न्याय हुन्छ ।
हामीसँग भएका अथाह सम्भावनाहरुलाई खोज्न नसक्ने ? भएका कुराहरुको संरक्षण गर्न आफैले नसक्ने ? यी कुराहरुबाट प्राप्त हुने अथाह धन र विकासको आंकलन पनि अरुले नै गरिदिनुपर्ने अवस्थामा हामी छौं । त्यति मात्र होइन हामी हारगुहार गरेर हाम्रा सम्पदाहरुलाई लौ न संरक्षण गरिदिनु पर्यो भन्ने वा अरुको प्रस्तावलाई स्वीकार गर्ने, हाम्रो ज्ञान वा अल्पज्ञान माथि नै प्रश्नचिन्ह लागिरहने अवस्थामा हामी छौं भन्ने कुरा हाम्रै क्रियाकलापहरुले देखाइरहेका छन् ।
मैले यसरी यति कुरा भन्नुको तात्पर्य के हो भने विस्व सम्ंपदा सूचीमा सूचीकृत भएका हाम्रा सम्पदाहरुको मिडियाबाट आइरहने गरेका समाचारहरुलाई दृृिष्टगत गर्दे सम्पदाको विषयमा नेपाली नागरिकको हैसियतमा चिन्ता जाहेर गर्न मात्र खोजेको हो ।
विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई वर्लड् हेरिटेज सेन्टर ईकोमसले सन् २०२२ मा सम्पदा विज्ञ रोलेन लिन र प्रोफेसर कारिया संलग्न भएको रियक्टिभ मनीटरिङमिसनले दिएको प्रतिवेदनको आधारमा लुम्बिनीलाई खतराको सूचीमा राख्ने मस्यौदा तयार गरी प्रतिवेदन प्रस्तुत गरिएपछि लुम्बिनी विश्व सम्पदा सूचीबाट हटन सक्ने सम्भावनाको रातो संकेत प्राप्त भएको थियो ।
यसको स्पष्टीकरण नेपालले चित्तबुझ्दो रुपमा प्रस्तुत गर्न नसके पनि लुम्बिनी साँस्कृतिक सम्पदा बचाउन गरिएको अन्तर्राष्ट्रिय लबिङ सफल भएको सुनेर क्षणिक आनन्द बोध त भयो । तर, हाम्रा व्यवहार र कामले फेरी सूचीबाट हट्न सक्ने सम्भावनालार्ई देखेर सचेतनाको रोदन मात्र प्रकट गर्ने जमर्को गरेको हुँ । यो विषय हाललाई टरे पनि यसबारेमा ठोस नीतिअनुरुप कार्यान्वयन गरिएन भने यो रेडलाइट फेरि पनि बल्ने खतरा जस्ताको त्यस्तै छ । अब पनि सम्पदा संरक्षणमा सरकार पूर्ण रुपमा सजग हुुन सकेन भने नेपालप्रति अन्तर्राष्ट्रिय समुदायको नकारात्मक धारणा थप हुनेछ । सबैको सदासयताले यसपटक खतराबाट बचे पनि फेरी यस्तो नहोला भन्न सकिदैन । अहिलेसम्मका विश्व घटनाहरुले यसलाई हाम्रा समक्ष पाठ सिकाइसकेका छन् । यस्ता विश्व सम्पदा सूचीबाट हटाइएको वा हटाउने लिष्टमा दर्ज गरिएका घटनाहरु पनि छन् ।
विश्व सम्पदा सूचीमा नेपालका सूचीकृत गरिएका काठमाडाैं, भक्तपुर दरबार क्षेत्र, चांगुनारायण, स्वयम्भू स्तुप, पशुपति क्षेत्र, पाटनदरबार क्षेत्र, हनुमान ढोका दरबार क्षेत्र, सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्र, चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र, बौद्धनाथ महाचैत्य र लुम्बिनी हुन् । यसरी सूचीकृत भएका क्षेत्रहरुको सुरक्षा विश्वकै जनताको जिम्मेवारी भित्र पर्छ । अथवा ती देशका सरकारको दायित्व र जवाफदेहीताभित्र पर्छ ।
लुम्बिनी धार्मिक, ऐतिहासिक कारण यो, बौद्धमार्गीहरुको तीर्थस्थल हो । मौर्य राजा अशोक २४५ ई.पू लुम्बिनीमा आएर शिला स्तम्भ राखेको इतिहास छ । यसलाई महत्वपूर्ण स्तम्भ को रुपमा हेर्ने गरिन्छ । यो क्षेत्रलाई नेपाल सरकार आफैले गरेको पहलमा (सन १९९७) अनुरुप लुम्बिनी विश्व सम्पदा सूचीमा सूचीकृत हुन सफल भएको थियो । सम्पदाको संरक्षण कार्यमा ऐतिहासिक पृष्ठभूमि, मूल्य, त्यसमा नीहित मूर्त र अमूर्त साँँस्कृतिक परम्पराको अभिलेखीकरण र संरक्षण जस्ता पक्षमा ध्यान दिनुपर्ने कुराहरुमा हामी कहाँ कहाँ चुकेका छौं भन्ने विषय पनि खुला हुनुपर्छ । नेपालका सम्पदाको संरक्षणमा युनेस्कोको विश्व सम्पदा केन्द्रले लामो समयदेखि आर्थिक, प्राविधिक र प्राज्ञिक सहयोग गर्दै आए पनि लुम्बिनी आफनै कारणले विवादमा आएको छ । लुम्बिनी विश्व सम्पदा संरक्षणको आचरणबाट चुकेको छ ।
विश्व सम्पदा महासन्धिको लागि कार्यान्वयन निर्देशिका, (धारा ७७) अनुसार, आधारहरु पूरा गरी विश्व सम्पदा सूचीमा दरिन पुगेको नेपाल कसको कारणले कसरी खतरामा पुग्न गयो यो गम्भिर विषय हो ।
विश्व सम्पदा सूचीमा दरिने केही आधारहरु
१. मानव सिर्जनात्मक प्रतिभाको उत्कृष्ट नमूनाको प्रतिनिधित्व गरेको
२. वास्तुकलाका विकास वा प्रविधि, स्मारकका रूपमा रहेका कला, नगर योजना वा भू–दृश्य तथा डिजाइनबारे धेरै समयावधिसम्म मानव चेतना वा क्षमताको उच्चतम प्रतिभा प्रस्तुत गर्ने वा विश्वको एउटा साँस्कृतिक क्षेत्रभित्र रहेको
३. अद्वितीय साँस्कृतिक परम्परा प्रमाणित गर्ने वस्तु वा जीवित वा लुप्त भइसकेको सभ्यता
४. सर्वश्रेष्ठ नमूनाका रूपमा रहेका भवन, वन, वास्तुकला वा प्रविधि संयोजन वा मानव इतिहासको महत्वपूर्ण अवस्थाहरू दर्शाउने भू–दृश्य भएको
५. कुनै पनि संस्कृतिको प्रतिनिधित्व गर्ने परम्परागत मानव बसोबास वा भू–उपयोगको सर्वश्रेष्ठ उदाहरण
६. सर्वश्रेष्ठ विश्व्यापी महत्व भएका कुनै घटना वा जीवन्त परम्परा, विचार अथवा विश्वास, कलात्मक र साहित्यिक कृतिसँग प्रत्यक्ष वा मूर्त रूपमा सम्बद्ध भएको ।
साँस्कृतिक स्थल प्राकृतिक स्थल तथा मिश्रित स्थलको रुपमा रहेका प्राकृतिक सम्पत्ति वा साधनहरु माथि समय समयमा हस्तक्षेप विपत्तिहरु आइरहने गर्छन् । यस्ता सम्पदाहरुलाई युुद्व लडार्ई अप्रत्याशित रुपमा आउने प्राकृतिक प्रकोप र अन्य आक्रमणहरुले क्षति पुुर्याउन सक्छ । हाम्रो प्राचीन इतिहास, सभ्यतालाई राजनीतिक रुपमा पनि चुनौती दिएका घटनाहरु पनि छन् ।
कुनै पनि अन्तर्राष्ट्रिय महासन्धीमा हस्ताक्षर गरिसकेपछि सो अनुकुलको आचरण हस्ताक्षरकर्ताहरुले पालना गर्नुपर्ने बाध्यात्मक नियम हो । सम्पदाहरूको संरक्षण गर्ने सन्दर्भमा नेपालले सन् १९७८ अगस्टमा विश्व सम्पदा महासन्धीमा हस्ताक्षर गरेको हो । यस्ता सन्धीमा दस्तखत गरेपछि प्राकृतिक, साँस्कृतिक, प्राचीन नेपालको सभ्यतालाई विश्व सामु परिचित गराउन सहज र सरल हुन्छ । यो अर्थमा शाक्यमुनी गौतमबुद्धको जन्मस्थल लुम्बिनी पनि पर्छ ।
प्राकृतिक एवं साँस्कृतिक सम्पदा विश्व सम्पदा सूचीमा सूचीकृत गरिएकामध्ये दक्षिण एशियाका देशहरु भारतका ३६, श्रीलंकाका ८, पाकिस्तानका ६, नेपालका १०, बांगलादेशका ३ र अफगानिस्तानका २ वटा सम्पदा छन्। । सार्क राष्ट्रमध्ये भुटान र माल्दिभस्का कुनै पनि सम्पदा हालसम्म विश्व सम्पदा सूचीमा सूचीकृत नभएको बताइन्छ ।
किन खतराको सूचीमा राखिन्छ ?
लुम्बिनी किन खतराको सूूचीमा पर्यो भन्ने बारेमा पनि मन्थन गर्न जरुरी छ । सम्पदा सूचीमा परेका क्षेत्रहरुमा मौलिकतामा असर परेको हुनुहुँदैन । अव्यवस्थित पर्यटन, शहरीकरण, प्रदुुषण, प्राकृतिक प्रकोप, द्वन्द्वजस्ता धेरै कुराहरुले विश्व सम्पदा सूचीमा परेका क्षेत्रलाई निरन्तर चुनौती आउने गर्छन् । यसभन्दा बाहेक राजनीतिक चुनौती पनि छन् । जसले गर्दा यी क्षेत्रहरु खतराको सूचीमा पर्ने गर्छन् । यी क्षेत्रहरुलाई विविध खतराहरुबाट मुक्त पर्न सकिएन भने वा आफूले गरेको हस्ताक्षरमाथि नै प्रश्न चिन्ह खडा भयो भने वा सचेत गराउँदा पनि सुधार भएन भने यी विश्व सम्पदाहरु सूचीबाट हटने खतरा हुन्छ भन्ने कुरा बुझ्नुपर्ने हुन्छ ।
विश्व सम्पदा सूचीबाट हट्छन्
२००६ जुलाई ११ युनेस्कोको विश्व सम्पदा समितिले जर्मनीको ‘ड्रेस्डेन एल्बा उपत्यकालाई त्यहाँको स्थानीय सरकारले एल्बामा रहेको पुरानो पुल भत्काएर नयाँ बनाउने तयारी थालेपछि युनेस्कोले यसलाई रोक्नका लागि खतराको सूचीमा राख्ने निर्णय गरेको थियो । २००९ जुन २५ मा युनेस्कोले यो उपत्यकालाई पूर्णरुपमा विश्व सम्पदा सूचीबाट हटाएको थियो ।
विश्व सम्पदा सूचीमा दर्ता भइसकेको एउटा निश्चित क्षेत्रको क्षत्रफल सरकारले घटाएको कारण युनेस्कोको ३१ औं सेसनले २००७ जुन २८ मा यो औपचारिक रूपमा ओमनको संरक्षित क्षेत्र ‘अरेबियन ओरेक्स सेङ्चुरी सूचीबाट हटाएको थियो । यहाँबाट जनावर चोरी निकासी हुने क्रम जारी थियो जनावरका लागि बासस्थानको अभाव बढ्दै थियो ।
११ औं शताब्दीमा बनेका महत्वपूर्ण सम्पदा भएकाले १९९४ मा विश्व सम्पदामा सूचीकृत गरिएको यो संम्पदाको सीमा घट्न थालेपछि २०१० मा खतराको सूचीमा राखिएको थियो । पछि ०१७ जुलाई २ मा पोल्याण्ड मा भएको मिटिङ्पछि विश्व सम्पदा समितिले जर्जियाको ‘बग्राती क्याथिड्रल र गिलाती मोनास्ट्री’लाई सम्पदा सूचीबाट हटाएको थियो ।
विश्वमा विश्व सम्पदा सूचीबाट कतिपय हटेका छन् । कतिपय हटने क्रममा पनि छन् । केन्या, लिबिया अफगानिस्तान युगान्डा, बेलायत र आयरल्याण्ड, तान्जानिया, अमेरिका, उज्बेक्स्तिान, भेनेजुयला, ओमन लगायतका दर्जनौं देश विश्व सम्पदा सूचीबाट हटने अवस्थामा रहेका विषयहरु आइरहेका छन् ।
यसरी हटनुका कारण ? पनि छन् एकपटक चेतावनी पाइसकेपछि ती विश्व सम्पदा नसच्चिनु भनेको आफैले दस्तखत गरेको सन्धी आफैले तोड्नु वा सन्धी अनुकुल आचरण नगर्नु हो भनेर बुझ्नुपर्ने अवस्था आउँछ । हाम्रो नेपालको लुम्बिनी सम्पदा क्षेत्रमा पनि गुरुयोजना विपरीत संरचनाहरु निर्माण, मायादेवी मन्दिर संरचना निर्माणमा अपरिपक्ता, स्मारहरुकमा ईट्टाको प्रयोग, लुम्बिनी क्षेत्रको अतिक्रमण र नवनिर्मित सभा हल, विश्व सम्पदा क्षेत्र नजिक रहेका उद्योगहरुको असर, पर्यटकलाई सुविधा दिने नाममा भएका गतिविधिहरु, निर्माण भइरहेका विकास निर्माणका कामहरुको HIA नगरिएको आदि कारणहरुलाई कुन मानकका आधारमा हेरिदैछ भन्ने विषयमा हामी सचेत हुनु जरुरी देखिन्छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij