
सोमवार , श्रावण २१, २०८१
लायन्स इन्टरनेशनल डिष्टिक ३२५ पी, नेपाल वर्ष २०२४/०२५ मा डिष्ट्रिक गभर्नरको जिम्मेवारी सामाजिक अभियन्ता रुपन्देहीको बुटवल निवासी पुरुषोत्तम भक्त प्रधानाङ्गले सम्हालिरहेका छन् । यसअघि नवराज न्यौपाने र अर्जुनमान सैंजुले डिष्ट्रिक गभर्नरको जिम्मेवारी पूरा गरिसकेका छन् । लायन्सहरूको छाता संगठनको रूपमा रहेको डिष्ट्रिकमा तेस्रो गभर्नरको रूपमा प्रधानाङ्गले जिम्मेवारी सम्हालिरहेका छन् । प्रस्तुत छ डिष्ट्रिक गभर्नर प्रधानाङ्गसँग लायन्य अभियान, अबको कार्यकाल र भूमिकाको विषयमा गरिएको कुराकानीको सम्पादित अशं :
लायन्स अभियानमा कसरी जोडिनुभयो ?
लायन्स अभियानमा एउटा कुरा के भने भने मानिस जन्मिएपछि केही न केही गर्नुपर्छ भन्ने उद्देश्य लिनुपर्छ । त्यही उद्देश्य अनुरूप तपाई तपाईको लागि मात्रै, म मेरो लागि मात्रै बाँच्ने होईन, अरूको लागि पनि बाँच्नुपर्छ, केही गर्नुपर्छ, सामाजिक उत्तरदायित्व हामीप्रति धेरै छ भन्ने एउटा मलाई अनुभुति भयो । सोहीअनुसार म लायन्स अभियानमा जोडिएको हुँ । म वर्ष २००७ मा लायन्स क्लब अफ बुटवल तिलोत्तमामा आबद्ध भए । यो क्षेत्रको यो दोस्रो लायन्स क्लब हो । हाम्रो मातृ क्लब भनेको लायन्स क्लब अफ बुटवल हो । बुटवल लायन्स आँखा अस्पताल सञ्चालन गर्ने क्लब हो । भैरहवास्थित श्री रण अम्बिका आँखा अस्पताल सञ्चालनमा लायन्स क्लब अफ सिद्धार्थनगरले सहकार्य गरिरहेको छ ।
हामी यो क्षेत्रमा दोस्रो क्लब र यो एरियामा पहिलो क्लबको रूपमा स्थापना गरेका थियौं । जहाँ पनि जाँदा हामी के हेर्छौ, आफू भन्दा कम अवसर प्राप्त व्यक्ति देख्ने गछौं वा भनौ हामी भन्दा कम भाग्यशाली व्यक्ति हेर्छौं । उहाँहरुलाई केही भए पनि सहयोग गर्ने हाम्रो उद्देश्य हो । हामीले हामी सरह, आफूभन्दा कम अवसर प्राप्त गर्ने व्यक्तिहरूलाई मानवीय गर्नुपर्छ भन्ने आधारमा हामी लायन्स अभियानमा अभिपे्ररित भयौं ।
यो क्षेत्रबाट तेस्रो गभर्नरको जिम्मेवारी लिने अवसर कसरी प्राप्त भयो ?
मैले यस क्षेत्रबाट तेस्रो गभर्नरको जिम्मेवारी प्राप्त गरेको छु । यो भन्दा पहिला मल्टीपल डिष्ट्रिक ३२४ रहेको थियो । यो भन्दा पहिला यो क्षेत्रमा चारवटा मात्रै डिष्ट्रिक थियो । अहिले ४ वटाबाट १५ वटा डिष्ट्रिक बनाएका छौं । अहिले हाम्रो क्षेत्रलाई ३२५ पी भन्छौं । हाम्रो क्षेत्रमा बी २ बाट ५ वटा डिष्ट्रिक भएको छ । नेपालभरी १५ वटा डिष्ट्रिक छ । मैले प्रतिनिधित्व गर्ने ३२५ पी हो ।
पुर्व गर्भनरहरू भन्दा फरक वा यहाँको ठोस योजना के छ ?
हामीले ग्लोबल कज का ८ वटा बुँदामा रहेर काम गर्छांै । ती सबै विधा मानवीय सेवामा नै पर्छन् । मानिसको आवश्यकता एउटै प्रकृतिको हुन्छ तर व्यक्ति अनुसार फरक हुने हो । तर, यस वर्ष मैले मेरो कार्यकालमा मुख्य कार्यक्रम भनेर बर्ष २०२४÷२५ को लागि सामाजिक उद्यमशीलताको वर्षको रूपमा मनाउने गरी योजना बनाएको छु । सामाजिक उद्यमशीलतामार्फत समाज परिर्वतन गर्नुपर्छ भन्ने मान्यताअनुसार अगाडि बढ्दैछौं । यदी समाज नै भएन भने हामी जति ठुलो मान्छे भए पनि योगदान दिन सकिएन, सीप विकासको काम गर्न सकिएन, साक्षरता विकास गर्न सकिएन भने समाजमा परिवर्तन हुन सक्दैन । लायन्सले अहिले पनि छात्रवृत्ति वितरण गरेर औपचारिक शिक्षामा काम त गरेकै छ । हामीले हरेक मानिस उद्यमी हुनुपर्छ भन्ने मान्यता रहेको छ । मानौ तपाईले एकै ठाउँमा खाना वितरण गर्दै हुनुहुन्छ भने एक जनाले मात्रै पाउँछ, तर, त्यो परिवारको एक जनालाई तपाईले तालिम दिएर सक्षम बनाउनुभयो भने रोजगारी प्रदान गर्न सक्नुभयो भने उसँगै १० जनाले पनि रोजगार पाउँछन् । त्यो संस्कार सिकेर सधै प्रगति गर्न सक्छन् भन्ने जोड मैले दिएको छौं ।
यो भन्दा पहिला सामाजिक उद्यमशीलताको क्षेत्रमा के के काम भएका थिए ?
यो भन्दा पहिला हामीले सामाजिक उद्यमशीलताको क्षेत्रमा एक–दुईवटा काम गरेका छौं । यो अभियानमा हामी सफल भएका छौं । जसले गर्नुभएको छ त्यसबाट हामी पूर्ण रूपमा सन्तुष्ट पनि छौ । नवलपरासी जिल्लाको महिला दिदीबहिनीहरूको लागि एउटा बाख्रा दिएर सुरुवात गरेका थियौं, जसमा एउटा बाख्राबाट अर्को, अर्को हुँदै अहिले सिंगो गाउँ नै उद्यमशीलतामा जोडिएको छ । यो कुरामा हामी सफल भएका छौ । त्यहाँका दिदीबहिनीहरूले गाउँलाई उद्यमसँग जोड्नुभएको छ । एकले अर्कोलाई दिने सहयोगबाट यो राम्रो छ ।
तपार्ईहरूले लायन्सले गरेर के कत्ति कारोबार भयो भनेर हामीले सोधेका थियौं । त्रिवेणीका महिलाहरूले अहिलेसम्म डेढ करोड भन्दा बढी कारोबार गरेको भन्ने जवाफ दिनुभएको छ । जुन काम बाट हामी पूर्णरूपमा सफल भएको अनुभुति गरेका छौं ।
अहिलेको आर्थिक संकटमा सामाजिक उद्यमशीलताको विषयमा कति प्रतिशत सफल हुन सकिएला ?
हामीले सोचेको १ सय प्रतिशत नै हो । हामीले सामाजिक उद्यमशीलतालाई अगाडी बढाउने जुन अभियानको रूपमा सुरुवात हुनेछ । हामीले सामाजिक उद्यमशीलताको जनचेतना जोगाउन सकिएमा पनि धेरै सफलता आउँछ भन्ने हो । अफ्ठयारो परिस्थिति तथा चुनौती नै अवसर हो । हामी चुनौतीलाई अवसरको रुपमा बदल्न चाहन्छौं । सामाजिक जनजागरणसहितको सामाजिक उद्यमशीलता विकासमा सफल हुन्छौ भन्ने कुरामा हामी पूर्ण विश्स्त छौं ।
अन्त्यमा, लायन्स र ननलायन्सहरुलाई के भन्न चाहनुहुन्छ ?
समाज सुधारको लागि सकारात्मक सन्देश ल्याउन जरुरी छ । लायन्सले गरेको सामाजिक उत्तरदायित्वको अभियानलाई अझ प्रसारप्रसार गर्न आवश्यक छ । हामी यसमा यहाँहरुको साथमा छौं । आखाँको उपचार अभियान, मधुमेह (डाईबेटीज) विरुद्धको अभियान पनि जारी छ । हामी के चाहन्छौं भने देशमा सबै उद्यमशीलता होउन् । अहिले विदेशमा गएर युवाहरूले यहाँको सीप, क्षमता भन्दा पनि फरक काम गर्न बाध्य छन्, उनीहरूका लागि स्वदेशमा काम नै सीपसहितको सामाजिक उद्यमशीलता विकासको लागि धेरै योगदान दिन सकिन्छ । यसमा लाग्नको लागि म आग्रह गर्न चाहन्छु । उद्यमशीलता र आर्थिक समृद्धिका बीच अन्योन्याश्रित सम्बन्ध छ । समृद्धिका लागि उद्यमशीलता र उद्यमशीलता र उद्यमशीलताका लागि ज्ञान, सीप, पूँजीमा पहुँच अपरिहार्य हुन्छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij