
बिहिवार , श्रावण २४, २०८१
मीना पन्थी यस क्षेत्रको एउटा परिचित नाम हो । पाल्पाको बगनासकाली गाउँपालिका–२ पोखराथोकमा जन्मिएकी पन्थी २० वर्ष तानसेनस्थित सेन माध्यमिक विद्यालयमा अध्यापन गरिन् । जीवनमा धेरै संघर्ष गरेकी उनी शिक्षा क्षेत्रसँगै सामाजिक क्षेत्रमा पनि क्रियाशील छिन् । प्रस्तुत छ रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ प्रभातपथ (भैरहवा) स्थित ॐ साई नर्सिङ्ग क्याम्पस प्रा.लि.को अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी पन्थीसँग खबरपात्रोले गरेको कुराकानीको सम्पादित अशं :
यहाँको शिक्षा क्षेत्रको यात्राको बारेमा बताइदिनुस् न ।
म पाल्पामा जन्मिए । मेरो घर पाल्पाको तानसेन नगरपालिका–२ मा पर्छ । २० वर्ष तानसेनको सेन माध्यमिक विद्यालयमा शिक्षकको रुपमा जागिरे जीवन बित्यो । अहिले रुपन्देहीके सिद्धार्थनगर नगरपालिका–९ प्रभातपथमा सञ्चालित ॐ साई नर्सिङ्ग क्याम्पसको अध्यक्ष छु । सामूदायिक विद्यालयमा लामो समयसम्म पढाए । सीपलाई प्रविधिसँग जोड्नुपर्छ । अहिलेको जमानामा हामी सीपसँग जोडिएनौ भने अगाडि बढ्न सक्दैनौ । विद्युतीय उपकरणकोे फ्युज बिग्रिएको छ भने त्यसलाई बनाउन सक्ने शिक्षा दिन सकेनौ । प्राविधिक शिक्षा आजको आवश्यकता हो । अहिले प्राविधिक शिक्षा त्यसमा पनि नर्सिङ्ग र फार्मेसीमा क्रेज बढ्दो छ ।
ॐ साई नर्सिङ्ग क्याम्पसको स्थापना उद्देश्य के हो ?
यो क्याम्पस स्थापना गर्न विशेष गरी मैले नै पहल गरे । गुणस्तरीय शिक्षा प्रदान गर्नु नै ॐ साई नर्सिङ्ग क्याम्पसको स्थापना उद्देश्य हो । विगत ३ वर्षदेखि सञ्चालनमा रहेको यो क्याम्पसमा हाल १२० जना विद्यार्थीहरु पी.सी.एल. नर्सिङ्ग अध्ययनरत छन् । अहिले भर्ना कार्यक्रम पनि सञ्चालन भइरहेको छ । १ सय बेडको आफ्नै हस्पिटल नभइकन नर्सिङ्ग कलेज चलाउन सकिदैन । सबै मिलेर सिद्धार्थनगर सिटी हस्पिटल बनायौं । यो वर्ष ६३ वटा कलेजमा नर्सिङ्गको पढाइ हुन सकेन । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) को मापदण्डमा रहेर अध्यापन भइरहेको छ । प्रथम वर्षमा ४० जना विद्यार्थीमा ४० जना नै उत्तीर्ण भए । अर्थात शतप्रतिशत विद्यार्थी उत्तीर्ण भए । यहाँ पढ्ने सबै विद्यार्थीहरु होस्टेलमा बस्छन् । होस्टेल अनिवार्य छ । होस्टेलमा राखेपछि विद्यार्थीहरुलाई अनुशासित राख्न धेरै सहज हुन्छ । शतप्रतिशत उत्र्तीण गराउन सहज हुन्छ । विद्यार्थीहरुलाई मोबाइलबाट टाढा राखेका छौं । हप्तामा एकपटक विद्यार्थीहरुलाई उहाँहरुको अभिभावकसँग कुराकानी गर्द दिएका छौं । अभिभावकको सहमतिमै विद्यार्थीहरुलाई होस्टेलमा राखेका छौं । यहाँ सबै कर्मचारी महिला नै हुनुहुन्छ । यहाँ टीमवर्क छ । गुणस्तरीय शिक्षामा जोड दिएका छौं । सबै विद्यार्थी अनुशासित छन् । ३ वर्षको पढाइ खर्च ४ लाख ७५ हजार रुपैयाँ लाग्छ । ११ वर्षदेखि यो शुल्क यथावत छ । बढेको छैन । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा २ जीपीए ल्याउने विद्यार्थीले पी.सी.एल. नर्सिङ्ग पढ्न सक्छन् । शान्त र पारिवारिक वातावरणमा यहाँ पढाइ हुन्छ । यहाँ कुनै शिक्षक÷कर्मचारीको तलब रोकिएको छैन । अझ भनौ यहाँ गुनासो गर्ने ठाउँ छैन । अभिभावकबाट पनि गुनासो आएको छैन । क्याम्पसले राम्रो गुणस्तर कायम गरेको छ । रुपन्देही, रोल्पा, दाङलगायत विभिन्न जिल्लाका विद्यार्थीहरु यो क्याम्पसमा अध्ययन गर्छन् । ॐ साई नर्सिङ्ग क्याम्पसलाई नेपालकै टप नर्सिङ्ग क्याम्पसको रुपमा चिनाउनेछु
नर्सिङ्ग क्याम्पस स्थापना गर्दा के कस्ता चुनौतीको सामना गर्नुपर्यो ?
राज्यको नीतिका कारण धेरै दुःख पाए । राजनीतिक अस्थिरता, पटकपटक मन्त्री परिवर्तन भइरहने, शिक्षा मन्त्रालयको ढिलासुस्ती, सीटीईभिइटीका केही नियमलगायतका कारणले दुःख पाइयो । करिब ७–८ वर्ष त मापदण्ड पूरा गरे पनि भवनको भाडा मात्र तिर्यौं । सरकारको नीतिका कारण दुःख पायौं । नेपालमा नर्सिङ्गलाई हेर्ने दृष्टिकोण अली फरक छ ।
पछिल्लो समय नेपाली विद्यार्थीहरु कक्षा १२ उत्तीर्ण भएपछि अध्ययनका लागि विदेश जानेको संख्या बढेको छ । किन ?
कक्षा १२ उत्तीर्ण भएपछि र त्यसका साथसाथै नर्सिङ्ग पढेपछि पनि विदेश जाने प्रचलन बढेको छ । कतिपय विद्यार्थीलाई नर्सिङ्ग पढेपछि के गर्नुहुन्छ भनेर प्रश्न गर्दा विदेश जाने जवाफ आउँछ । मुख्यतः स्वदेशमा रोजगारीको अवसरको अवसर सिर्जना हुन सकेको छैन । स्वदेशमै रोजगारीको अवसर पाए पनि यहाँ न्यून पारिश्रमिक दिइन्छ । विदेश जाँदा धेरै पारिश्रमिक पाइन्छ भनेर विदेश जानेको संख्या बढ्दो छ । केही व्यक्तिहरु त अरुको देखासिकीमा विदेश जाने गरेका छन् । गरीबी पनि एउटा कारण हो । हामी सबै आर्थिक रुपमा सम्पन्न छैनौ ।
यहाँहरुले सरकारबाट के कस्तो अपेक्षा गर्नुभएको छ ?
सरकारले निजी क्षेत्रको लगानी सुरक्षित गर्ने वातावरण बनाउनुपर्छ । पटकपटक सरकार फेरबदलले नियम, कानूनमा संशोधन, परिवर्तन हुने परिपाटी छ । सीटीईभिइटी काठमाडौं केन्द्रीत भए जस्तो लाग्छ । विभिन्न कामका लागि राजधानी काठमाडौं धाउनुपर्ने बाध्यता छ । मुलुकमा संघीयताको स्थापना भएको छ । तर, सीटीईभिइटीमा भने संघीयता आउन सकेको छैन । सीटीईभिइटीलाई पनि प्रदेशस्तरीय बनाउनुपर्छ । पढिसकेपछि रोजगारीको अवसर सिर्जना गर्नुपर्छ ।
सामूदायिक विद्यालयमा सरकारको लगानी धेरै छ । तर, लगानी अनुसारको प्रतिफल प्राप्त हुन सकेको छैन । किन ?
मैले आफै २० वर्ष सामूदायिक विद्यालयमा पढाए । शिक्षा मन्त्रालयबाट उत्कृष्ट शिक्षकको रुपमा राष्ट्रिय शिक्षा पुरस्कारबाट पुरस्कृत पनि भएँ । मलाई के लाग्छ भने सामूदायिक विद्यालयमा पछिल्लो समय राजनीति बढेको छ । तालिम धेरै दिइन्छ तर अनुगमनको पाटो कमजोर छ । सरकारका पनि कतिपय कमीकमजोरीले सामूदायिक विद्यालयले लगानी अनुसारको प्रतिफल प्राप्त गर्न सकेका छैनन् । नतिजा कमजोर छ । म त भन्छु निजी (संस्थागत) विद्यालय जस्तै सामूदायिक विद्यालयमा मिहिनेत गर्ने हो भने सुन फल्छ ।
प्रसंग बदलौं । यहाँ शिक्षा क्षेत्रसँगै सामाजिक क्षेत्रमा पनि क्रियाशील हुनुहुन्छ । सामाजिक क्षेत्रमा कसरी लाग्नुभयो ?
म सानैदेखि संघर्ष गर्दै यहाँसम्म आइपुगेको छु । मेरो आफ्नै जीवनको भोगाइ र संघर्षले मलाई सामाजिक क्षेत्रमा काम गर्ने प्रेरणा मिल्यो । समाजमा धेरै समस्या छन् । आफैले जीवनमा धेरै संघर्ष गरेको छु । अरुका पीडा देख्दा आफ्नै पीडा जस्तो लाग्छ । मलाई जस्तै अरुलाई पीडा छ भनेर सोच्छु । मैले आफैले आफूलाई विश्वास गरी आफैले आफूलाई उत्प्रेरणा दिएको छु । समाज रुपान्तरणका लागि पनि सामाजिक कार्य गर्न जरुरी छ । सामाजिक क्षेत्रसँगै राजनीतिमा पनि मेरो रुची छ ।
यहाँ महिला हुनुहुन्छ । भन्ने गरिन्छ महिलालाई काम गर्न चुनौती छ । यहाँलाई कस्तो चुनौती छ ?
चुनौती त हरेक क्षेत्रमा हुन्छ । आफू दक्ष र सक्षम भइयो भने आफूलाई हेर्ने दृष्टिकोण पनि सक्षम हुन्छ जस्तो लाग्छ । महिला स्वाभिमानमा बाँच्नुपर्छ । आफ्नो खुट्टामा आफै उभिनुपर्छ । आत्मनिर्भर बन्नुपर्छ । परनिर्भरता हटाउनुपर्छ । महिला केही क्षेत्रमा अगाडि बढ्न नसक्नु परनिर्भरता पनि एउटा कारण हो । यो भन्दा रिस पनि उठ्न सक्छ । तर, मलाई यथार्थ यही हो जस्तो लाग्छ । पुरुष–महिलामा केही फरक छ जस्तो मलाई लाग्दैन । पुरुषजत्तिकै महिला पनि सक्षम छन् । पहिला आफू बलियो हुनुपर्छ । पुरुष पुगेका ठाउँमा म पनि पुगेको छु । सामाजिक क्षेत्रमा कार्य गर्दै आइरहेको छु । विद्यालयमा पुगेको छु । विभिन्न विपदमा पुगेको छु । मैले क्याम्पसको अध्यक्षको जिम्मेवारी सम्हालिरहदा पनि विभिन्न चुनौतीहरु छन् । तर, चुनौतीको सामना गर्दै आइरहेको छु । म धेरै संघर्ष गरेर यहाँसम्म आइपुगेको छु । म आफ्नो कामप्रति वफादार छु । मलाई कहिल्यै डर लागेन । मैले आफूले आफैलाई विश्वास गर्छु ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij