
बिहिवार , श्रावण २४, २०८१
परापूर्वकालदेखि हामीले मनाउँदै आएका महत्वपूर्ण चाडपर्वहरुमध्ये नाग पञ्चमीलाई पनि एउटा विशेष महत्व भएको पर्वको रुपमा लिने गरिन्छ । यो श्रद्धा र विश्वासको पर्व पनि हो । श्रावण शुक्ल पञ्चमीका दिन मनाईने यस पर्वमा नागहरुको पूजा आराधना गरिन्छ । यो दिनमा नागहरुलाई पूजा गरेर खुसी बनाउन सकेको खण्डमा सर्पदंशको डर नहुने चटयाङ् परेर धनजनको क्षति नहुने कुरा विभिन्न ग्रन्थ तथा पुराणहरुमा कथाको रुपमा वर्णन भएको हामी पाउँछौ ।
नाग बारेमा जनविश्वास
हाम्रा प्राचीन ग्रन्थहरु, गरुडतन्त्र ,अग्नी पुराण लगायतका धेरै ग्रन्थमा नागपूजन गर्ने कुरा उल्लेख गरिएका छन् । नागपूजा गर्नाले सबैखाले दुःख, अनिष्ट लगायत दैवी प्रकोपहरु स्थिर रहने र समाजमा सुख, समृद्धि, कल्याणको स्थापना हुन्छ भन्ने जनविश्वास रहेको पाइन्छ ।
हामीले शक्तिलाई पूजा गर्छौ निर्धाको पूजा गर्ने प्रचलन देखिदैछ । नागहरु पनि देवता जस्तै शक्तिशाली हुन्छन् । यिनीहरुलाई रिसाउन हाल्न र अपमान गर्नुहुँदैन । त्यसैले हामी विभिन्न माध्यमबाट नागलाई खुसी पारेर इच्छा अनुसारको बरदान माग्न सक्छौं भन्ने विश्वास पनि नेपाली समाजमा रहेको देखिन्छ । नागहरु असन्तुष्ट भए व्यक्तिको मात्र होईन देशमै अनिकाल, अनावृिष्ट तथा अनेक प्रकारका रोगहरुको डर हुन्छ । सर्पको डसाईबाट मृत्यु हुनुका साथै आगलागी, भुकम्प जस्ता प्राकृतिक प्रकोपहरु आइलाग्न सक्छन् भन्ने पुरातन मान्यता पनि रहि आएको छ ।
घर बनाउनु भन्दा पहिले हामीले घडेरीको लक्षण हेर्ने चलन पनि नागसँगै जोडिएको छ । नागहरुको निवासस्थान पाताललोक मानिएको छ । उनीहरु रिसाए भने आफ्नो शरीर बर्टारदै घुमाउन थाल्छन् । यो बेलामा पृथ्बीमा भुकम्प आउँछ र घरहरु भत्किन्छन् भन्ने विश्वासमा जग राख्नुपूर्व एउटा कुनामा नागको स्थान बनाएर राख्ने चलन छ । तर ,यो अहिले अन्धविश्वासमा परिणत हुँदैछन् । भुकम्प आउनुका भौगर्भिक कारणहरु छन् भन्नेतर्फ सबै सचेत हुँदै गइरहेका छन् । यस्ता कुराहरुलाई विज्ञानले प्रमाणित पनि गर्दै गएको छ ।
नागहरुका प्राचीन कथाहरु पनि छन् । पहिला काठमाण्डौ उपत्यका जलमग्न थियो । यसको नाम नागदह थियो । चीनबाट आएका मञ्जश्रीले आफ्नो तरवारले चोभारको डाँडो काटेर यहाँको सबै पानी बागमती नदी बनेर बगेको र त्यहाँ बस्ने नागहरु छिन्नभिन्न भएर यताउति लागे तर, नागराज कर्कोटकलाई भने यो उपत्यकाको सम्पत्तिको अधिपति बनाउने भनेर चोभारस्थित टौदह पोखरीमा बस्ने व्यवस्था गरिएको किमबदन्ती छ । अहिले पनि टौदहमा कर्कोटक नाग बसेको विश्वास गरिदैछ ।
राजाको व्यभिचार र पापकर्मको कारणले एकपटक उपत्यकामा अनिकाल पर्दा जनताले निकै दुखः झेल्नुपर्यो । राजा तान्त्रिक भएका कारण उनीले सबै नागहरुलाई बोलाए कर्कोटक नागलाई पनि तन्त्रविद्या प्रयोग गरेर आफ्ना सामु अन्य नागहरुकाबीच उपस्थित गराए । राजाको शक्तिबाट प्रभावित भएका नागहरुले आफ्ना रगतले आफ्नै चित्रहरु लेखेर राजालाई दिदै भने यी नागका चित्रहरु लगेर विशेष स्थानमा राखी पूजा गरेपछि देशमा कहिले पनि अनाबृष्टि दुरर्भिक्ष संकट आउने छैन राजाले नागहरुको कुरा मानेपछि वर्षाको आगमन भयो सबै खुसी भए । अन्न उत्पादन राम्रोसँग हुन थालेको विश्वास गरियो । यसैघटनाको स्मृतिस्वरुप त्यही समय देखिनै नागपञ्चमीका दिन घरघरमा नागको चित्र टाँसेर पूजागर्न थालिएको हो जुन परम्परा अहिलेसम्म पनि कायमै छ । नागसँग जोडिएका यस्तै प्रकृितका धेरै कथाहरु छन् ।
नाग पञ्चमीको दिनमा पशुपतिनाथको दर्शन गर्नुपूर्व त्यही परिसरमा रहेको वासुकी मन्दिरमा सर्पराज वासुकीको पूजा गर्नै परम्परा यद्यपि छ । भगवान शिवको ढुकुटी रक्षाका लागि वासुकी नागलाई त्यहाँ नियुक्ति गरिएको विश्वास गरिन्छ ।
नाग पञ्चमीको दिनदेखि वर्षायाम समाप्त हुने र हिउँद सुरु हुने कुरा गरिन्छ । यस दिनमा पृथ्वी खन्ने काम गर्नुहुँदैन भन्ने मान्यता पनि छ।
नागलाई जातिको रुपमा
आर्य जाती र नाग जातीको दुश्मनीका कथाहरु पनि छन् । प्राग एतिहासिक कालसँग पनि नागलाई जोडेर नागलाई जातीको रुपमा अनादिकालदेखि फैलिएका कुराहरु पनि चर्चामा आएका छन् । नागलाई अनेक रुपमा व्याख्या गरेर शक्तिको रुपमा पनि प्रचार गरिएको छ । पुराणहरुमा पनि नागलाई अनैकौ उपमाहरु दिएर विशेष स्थान दिएको पाइन्छ । हामीले हजार जीब्रो भएका नागका कुरा पनि सुनेका छाैं, अष्टनागको बारेमा पनि सुनेका छौ । नाग सिन्ध नगरसभइताका असुरादीभन्दा गाह्रोसाह्रो जीवनशैलीमा रहेका घोर वन र पहाडी पाखा रुचाउने जति थियो भनेर लेखिएका आलेख पनि पाउँछौ । भारतमा नाग वंंश र नागजातीको बारेमा लेखिएका इतिहासहरु पनि छन् । कृष्णलाई नाग संहारक रुपमा व्याख्या गरेको पनि पढेका छौं । त्यसै गरी भरातको नागपुरको बारेमा पनि सुनेका छौ । नागबाट नांगा र नांगाबाट नागा भएको हो । नांगाको अर्थ पहाड हो भन्ने पनि गरिएको छ ।
नागहरुलाई किन पूजा गर्ने ?
नागहरुलाई किन पूजा गर्ने भन्ने बारेमा हामीले दुईवटा कारणहरु मात्र प्रस्तुत गर्न सक्छौ । पूजा त्यसलाई गरिन्छ जो शक्तिशाली हुन्छ । जो लाभकारी र हितकारी पनि हुन्छ । कहिलेकाही यी दुवै भएका जीवहरु पनि निर्दयी र नरसंहारकारी रुपमा प्रकट भएका हुन्छन् । यही परिप्रेक्षमा सर्पलाई पनि हामीले हेर्न सक्छाैं । करेतलाई हामीले नाग भनेर मान्छौं यसैले हामीलाई टोकेर जीवन पनि लिन्छ । तर, पनि यसको हामी पूजा गर्छौं ।
शास्त्रीय आधार
मानिसहरुलाई डसेर प्राण समेत हरण गर्ने यी भयानक सर्पहरुलाई पनि पूजा गर्ने र दूध खुवाउने, घर–घरमा चित्र टाँसेर श्रद्धा र सम्मान प्रकट गर्ने प्रथा किन चलेको होला भन्ने जिज्ञासालाई विभिन्न शास्त्रोक्त वचनका साथै मनोवैज्ञानिक एवंं व्यवहारिक प्रमाणद्वारा शान्त गराउने प्रयास गरिएका छन् । शास्त्रहरुमा नमोस्तु सर्पेभ्यः भनेर सर्पहरुलाई नमस्कार गर्न सिकाइएको छ । सर्वदा आफ्नो शिरमा धरालाइ धारण गरेर बस्ने बस्ने शेषनाग र शिवजीको अलङ्कार बन्ने सौभाग्य पाएका नागहरुको पूजा गर्ने प्रचलन अनादिकाल देखि चलिआएको छ । ब्रतराजमा प्रभास खण्डोक्त सर्प विषनाशक पञ्चमी व्रतको उल्लेख गरिएको छ । सर्पबाट निर्भय रहनका लागि श्रावण शुक्ल पञ्चमीका दिन गाईका गोबरले ढोकाको दुवैतिर सर्पको चित्र लेख्नुपर्छ भनिएको छ ।
भविष्य पुराणमा सर्पले डसेर मरेकाहरुको अधोगति हुने भएकोले तिनीहरुलाई तार्नका निमिक्त नागदष्ट पञ्चमी व्रत बारेमा उल्लेख गरिएको छ । नाग पञ्चमीको दिन नाग पूजा गरेर विधिपूर्वक व्रत बसेमा सात पुस्तासम्मलाई नागको भय रहदैन भन्ने शास्त्रीय वचनहरु पनि पाइने गरेको छ ।
कस्यप ऋषिकौ एक पत्नीले आठ नागहरुलाई जन्माएपछि यिनीहरुले पातालमा राज्य गर्न थाले । यी शक्तिशाली बन्न पुगे । यी आठ नागको नाम लेखेर यिनै नागका तस्विरहरु हामी घरको भित्तमा टााँसने गरेका छौं ।
अनन्तं वासुकिं शेषं पद्यनाभं च कक्बलम् ।
शंखपालं धार्तराष्ट्रं तक्षकं कालियं तथा ।।
एतानि नव नागानि नागानां च महात्मनाम् ।।
सायंकाले पठेन्नित्यं प्रातः काले विशेषतः ।।
तस्मै विषभयं नास्ति सर्वत्र विजयी भवेत् ।।
वैज्ञानिक आधार
त्यसै गरी प्राकृतिक सन्तुलनको दृष्टिले सबैप्रकारका वनस्पति एवं प्राणीहरुको उपस्थिति अपरिहार्य मानिएको छ । संसारमा पाइने कुनै पनि जीवजन्तुको भूमिकालाई कम बेसी मूल्यांकन गर्न मिल्दैन । कृषि सम्पदाहरुको विनाश गर्ने जीवहरुबाट बचाउन, पर्यावरण रक्षाको लागि, जलश्रोत र वनजंगल सम्पदा बचाउनका लागि सर्पको महत्वपूर्ण भूमिका रहन्छ ।
सर्पबाट बायोलोजिकल, इकोलोजिकल, मेडिकल तथा अन्य विविध तरिकाबाट फाइदा पुग्ने कुरा पनि हामीले सुनेका छौं । सर्पले डस्यो भने त्यसलाई सन्चो बनाउन पनि प्रतिविषका रूपमा सर्पको विषलाई नै प्रयोग गरिन्छ । यो अति महत्वपूर्ण कुरा हो । सर्पले मुसा खाएर हाम्रो अन्नबाली बचाउने कुरा त हामी सबैलाई थाहा नै छ ।
पौराणिक वैज्ञानिक आधारहरुको संमान गर्दै हामीले सर्पलाई मार्ने भन्दा बाँच्ने आधार खडा गराैं मित्र जीवको रुपमा हेर्ने गरौ र यसबाट बच्ने उपायहरुको पनि अवलम्वन गरौं । यसबाट हाम्रो परम्परागत साँस्कृतिक गौरव कायम राख्न पनि सहयोग मिल्ने देखिन्छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij