
शुक्रवार , श्रावण २३, २०७७
सरकार म तिम्रो खुट्टामा तेल घसिदिन्छु
सरकार म तिम्रो खुट्टामा तेल घसिदिन्छु..!!!
सरकार,
तिमी बाटो हिँड्दै गरेको बटुवालाई समाउँ र प्रश्न गर
हे मनुष्यको अवतार तेरो गन्तव्य कहाँसम्म हो..!!
भ्रष्टाचारको दुर्गन्ध फैलाइरहेको नेताको विरोधमा प्रदर्शन गर्दै गरेको बटुवालाई समाउँ र प्रश्न गर
हे मनुष्यको अवतार तेरो चिच्याहाट कहाँसम्म हो..!!
सरकार,
तिमी पीसीआरको नाउँमा तेल घस
फुस्रो परेको तिम्रो छाती चम्काउँ
गरिबीले थला परेको गरीबको गाँस टोक
यदि तिम्रो यो साहसिक कदम देखेर गरीब आन्दोलनमा उत्रियो भने समाउँ र प्रश्न गर
हे गरीबको अवतार तेरो जुनी कहाँसम्म हो..!!!
सरकार,
तिमी बलात्कारीहरूलाई संरक्षण गर
च्यातिदेऊ न्यायका किताब
पोलिदेऊ संविधान नामक पुस्तक
छोडिदेऊ हत्याराहरूलाई त्यो कालो कठघराबाट
यदि तिम्रो यो साहसिक कदम देखेर पीडित आन्दोलनमा उत्रियो भने
समाउँ र प्रश्न गर
हे पीडितको अवतार तेरो पीडा कहाँसम्म हो..!!!
सरकार,
तिमी शैक्षिक व्यापारीहरूलाई लाल–सलाम गर
स्वास्थ्य व्यापारीहरूको पाउ समाउँ
मार्सी र हिमालयनमा यौन शोषण गर
फस्टाउँ तिमी वालुवाटारमा व्यापार
यदि तिम्रो यो साहसिक कदम देखेर नागरिकहरू आन्दोलनमा उत्रिए भने समाउँ र प्रश्न गर
हे अनागरिकका अवतार तेरो सास कहाँसम्म हो..!!!
सरकार,
तिमी निर्मलाहरूको निर्मम हत्या गर
मुस्कानहरूको मुहारमा ऐसिड छेप
मारिदेउ सडक किनारका मगन्तेहरूलाई
फालिदेउ सडक पेटीका टहराहरूलाई
यदि तिम्रो यो साहसिक कदम देखेर युवाहरू आन्दोलनमा उत्रिए भने समाउँ र प्रश्न गर
हे झोलेका अवतार तेरो नाटक कहाँसम्म हो..!!!
हे नागरिक,
तिमी सरकारको रमिता ट्वालट्वाली हेर
उसको मण्डले भजनमा थप्पथप्प ताली पिट्
तिमी मौन भएर मानवता बेचिएको एकटक हेरीराख
तिमी जून भएर प्रेमी लुटिएको हेरिराख
यदि तिम्रो यो साहसिक नजर देखेर सरकार प्रश्नमा उत्रियो भने ढोंग र उत्तर गर
हे सरकार म तिम्रो खुट्टामा तेल घसिदिन्छु..!!!!
सरोज पन्थी/गुल्मी
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij