२०८३, मंसिर ७ गते

Nov 23 2026 | २०८३, मंसिर ७ गते

फोरस्टार बहुमुखी सहकारीको २८ औं साधारणसभा सम्पन्न

आइतवार , मंसिर ६, २०८३

  • 337
    Shares
  • 337
    Shares
  • तिलोत्तमा, ६ मंसिर । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मणिग्राममा रहेको फोरस्टार बहुमुखी सहकारी संस्था लिमिटेडको २८ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

    साधारणसभामा संस्थाका पूर्वअध्यक्ष तथा तिलोत्तमा उद्योग वाणिज्य संघका महासचिवसमेत रहनुभएका सल्लाहकार राजकुमार पाण्डेयले फोरस्टार बहुमुखी सहकारी जिल्लाकै सम्भावनायुक्त सहकारी संस्था भएको बताउनुभयो ।
    सहकारीका अध्यक्ष शरद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार कुलप्रसाद लामिछाने र स्थानेश्वर बस्यालले शेयर सदस्यको जीवनस्तर उकास्ने योजना बनाएर सबैको हितमा काम गर्ने संस्थाका रूपमा अघि बढ्न आग्रह गर्नुभयो ।

    साधारणसभामा अध्यक्ष भट्टराईले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी योजनासमेत पेश गर्नुभएको थियो । उहाँले प्रस्तुत गर्नुभएको प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ । अध्यक्ष भट्टराईले संस्थाको प्रगतिका लागि आफूहरू निरन्तर खटिरहेको बताउँदै सबैको सहयोगमा शेयर सदस्य संख्या वृद्धि गर्नुका साथै अन्य सहकारी संस्थासँग मर्जरको नीति अवलम्बन गरिने जानकारी दिनुभयो ।

    साधारणसभाका अवसरमा उत्कृष्ट विद्यार्थी तथा संस्थाका ज्येष्ठ सदस्यहरूलाई सम्मान गरिएको थियो । उनीहरूलाई सम्मानपत्र, दोसल्ला र करुवासहित हर्लिक्स प्रदान गरिएको थियो ।

    कार्यक्रममा युवराज भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सहकारीका सचिव सूर्य मणि पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा प्रमुख अतिथि राजकुमार पाण्डेय, शेयर सदस्यका तर्फबाट स्थानेश्वर बस्याल, सहकारी संस्थाहरूकोतर्फबाट नमस्ते लुम्बिनी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शंकर कुँवर, आनन्दवन सहकारीका अध्यक्ष दिनानाथ ढकाल, कुल प्रसाद लामिछाने लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    हाल संस्थाको शेयर पूँजी करिब ३ करोड रुपैयाँ, निक्षेप संकलन करिब २३ करोड रुपैयाँ र कर्जा लगानी करिब २५ करोड ७० लाख रुपैयाँ रहेको छ । त्यस्तै जगेडा कोषमा १ करोड १० लाख रुपैयाँ, खुद नाफा ६३ लाख रुपैयाँ रहेको छ भने शेयर सदस्य संख्या १ हजार ६ सय ७४ पुगेको छ ।

    साधारणसभाबाट ७ प्रतिशत लाभांश वितरण गर्ने निर्णयसमेत भएको छ । साथै अध्यक्षको प्रतिवेदन, लेखा प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा कर्मचारी नियमावली पारित गरिएको सहकारीको व्यवस्थापक अनिता बरालले जानकारी दिनुभयो ।