२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सन्दर्भ : लायन्स स्थापना दिवस

मातृकाप्रसाद कोइराला र लायन्स

शुक्रवार , श्रावण २५, २०८१

नेपाल लायन्स अभियानमा अंग्रेजी महिनाको ९ अगस्टलाई महत्वपूर्ण  दिवसका रुपमा हेरिन्छ । ९ अगस्ट २०२४ लाई पनि ५३ औं नेपाल लायन्स दिवसका रुपमा मनाइएको छ । नेपालमा लायन्स अभियानका संस्थापक मातृकाप्रसाद कोइरालालाई सम्झिने दिवसका रुपमा पनि हेरिन्छ । यसै सन्दर्भमा यो पंक्तिकार पनि लायन्स परिवारको एक विद्यार्थी  भएकोले आफूले पढेका केही लायन्स साहित्यका आधारमा नेपाल लायन्सका संस्थापक र लायन्सका बारेमा केही चर्चा गर्न खोजेको छु ।

LNSS.jpg

सन् १९६१ देखि सन् १९६४ सम्म नेपालकोतर्फबाट राजदूत मातृकाप्रसाद कोइराला अमेरिकामा  थिए । सन् १९६२ मा कोइराला अमेरिकामा राजदूत  हुँदा  नेपालमा लायन्स क्लब गठन भएको थियो । यो सुन्दा अचम्म लाग्न सक्छ किनकी नेपालमा लायन्स सन् १९७१ म स्थापना भएको  मानिन्छ ।

किन यस्तो भयो ?

नेपाल लायन्सको प्रथम क्लब लायन्स क्लब अफ काठमाडौं हो । उक्त क्लब सन् १९६२ अर्थात् विक्रम सम्वत् २०१९ सालमा गठन  भएको  थियो । जसको स्थापना समाजमा हुनेखाने  यक्तिहरूबाट भएको थियो । क्लबको नेतृत्व सहदेव शमशेर  राणाले गरेका थिए ।  उनको  राजपरिवारसँग  पारिवारिक सम्बन्ध पनि थियो भनिन्छ । यो क्लब चार्टर हुन् सकेको थिएन भन्ने भनाइ छ ।

लायन्स क्लब अफ काठमाडौं चार्टर नभएको हो भने हुन नसक्नुको कारण संस्थापकहरूको नियतले होइन कि नियतिले त्यस अवस्थाको सिर्जना गरेको थियो । लायन्स क्लब अफ काठमाडौंका केही पदाधिकारीहरू काठमाडौंबाट नयाँदिल्ली उडेको शाही नेपाल वायुसेवा निगमको विमानमा सवार थिए । प्रतिकूल मौसमका कारण घोरपाटन, तुलाचनधुरी भन्ने स्थानमा विमान दुर्घटनाग्रस्त भयो । ४ जना चालक दलका सदस्यहरू र विमानमा सवार लायन्स क्लब अफ काठमाडौं परिवारका सदस्यहरू कोही पनि जीवित रहेनन् ।

भुल्न नसकिने यो नेपाली लायन्समा सन् १९६१ को सुःखद प्रारम्भ थियो । तत्कालीन विमान दुर्घटनासँगै दुःखद अन्त भएको थियो । त्यसैले  नेपाली लायन्सको इतिहास पनि १० वर्ष छोटो भएको लायन्स साहित्यमा रुची राख्ने बताउँछन । 

त्यसैले लायन्स क्लब अफ विराटनगरलाई पहिलो क्लब मानिन्छ । साथै त्यस क्लबका तत्कालीन संस्थापक सभापतिलाई पहिलो अध्यक्ष । राजदरबारका विश्वास पात्र मातृकाप्रसाद कोइराला र राजदरबारका अर्का नजिकका आफन्त सहदेवको समन्वय भएको हुन सक्छ भन्ने अड्कल लगाउन भने सकिन्छ । सन् १९७१ मा मातृकाप्रसाद कोइरालाले लायन्स क्लब अफ विराटनगरको अध्यक्ष बन्ने प्रस्ताव स्वीकारे । लायन्स क्लब अफ विराटनगर खुल्यो । कोइराला त्यसका संस्थापक  अध्यक्ष बने र  क्लबको २ कार्यकाल अध्यक्ष भए । 

मातृकाप्रसाद कोइरालालाई नै  नेपाली  लायन्सका  पिता भनेर चिनिन्छ । सम्भवत उनी अमेरिकामा लायन्स संस्कृति र भारत सीमा नाका लायन्स गतिविधिको आकर्षणबाट प्रभावित भएको हुनुपर्छ । यसको विवेचना गर्नुपर्दा उनको जीवनीको संक्षिप्त जानकारीले सहज हुन सक्छ । नेपाल लायन्स स्थापना दिवसको अवसरमा सान्दर्भिक पनि हुन सक्छ ।

मातृकाप्रसादको संक्षिप्त जीवनी–

matrika prasad.jpg
मातृकाप्रसाद काेइराला

कृष्णप्रसाद कोइरालाका दुई पत्नीहरू जेठी  मोहनाकुमारी र कान्छी  दिव्याकुमारी कोइराला थिए । मोहनाकुमारीतर्फ मातृकाप्रसाद कोइराला र कान्छी दिव्या कोइरालातर्फ छोराहरू विश्वेश्वरप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला, केशवप्रसाद कोइराला र तारिणीप्रसाद कोइराला थिए । कृष्णप्रसादका ४ छोरा मध्ये एक छोरा हुन् उनी ।

बनारस पढेका उनको अंग्रेजी भाषा उत्कृष्ट धाराप्रवाह  थियो । उनले २००७ साल अघि वन विभागमा जागिर गर्दथे । विभागमा नायब सुब्बाको जागिर थियो ।
२००४ सालमा विराटनगर जुट मिल्समा श्रमिक आन्दोलनको अगुवाइ गरे । २००७ सालमा क्रान्तिका कमाण्डर पनि बने । नेपाल राष्ट्रिय कांग्रेस र नेपाली डेमोक्रेटिक कांग्रेस एकीकरणपछि नेपाली कांग्रेस बन्यो । त्यसको सभापति बने ।

वि.सं. २००८ साल मार्ग १ मा नेपाली कांग्रेसको सरकार गठन भयो । यो जनसरकार थियो । मातृकाप्रसाद कोइराला त्यस सरकारका प्रधानमन्त्री बने । पार्टीमा उनका विमति रह्यो र राष्ट्रिय प्रजा पार्टी  गठन गरे । त्यसै पार्टीका आधारमा राजा त्रिभुवनले वि.सं. २०१० मा मन्त्रिमण्डल गठन गरे । त्यो मन्त्रिमण्डलमा मातृकाप्रसाद कोइराला पुनः दोस्रोपटक प्रधानमन्त्री बने ।

पञ्चायती व्यवस्थामा पनि अमेरिकाका राजदूत (वि .स २०१८ साल) बने । सयुंक्त राष्ट्र संघका लागि स्थायी प्रतिनिधिमा नियुक्त पनि भए । २०३४ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा मनोनित भए । २०३६ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा विराटनगरबाट निर्वाचित भए  ।

२०४६ साल पश्चात् उनी आजीवन राष्ट्रिय जनता परिषद्का अध्यक्ष रहे । उनको निधन वि.सं. २०५४ साल भदौ २६ गते काठमाडौंमा भएको थियो । मातृकाप्रसाद कोइराला प्रजातान्त्रिक नेपालका प्रथम नागरिक प्रधानमन्त्री हुन र लायन्स अभियानमा नेपालको पहिलो क्लब अध्यक्ष । उनका साहित्यिक कृतिहरू पनि प्रकाशित छन् । राजा वीरेन्द्रले उनलाई सम्मान गर्थे । सायद आफ्ना बाजे राजा त्रिभुवनका विश्वासपात्र भएर पनि हुनसक्छ । मातृकालाई रातो कार्पेटमा हिंडाएर आफू बाहिर हिंडेको तस्वीरबाट पनि बुझ्न सकिन्छ ।

Royal.jpg

तत्कालीन राजा वीरेन्द्र उनलाई भेट गर्न विराटनगर घरमा पनि गएका थिए । उनी सिनेमा हेर्न गएका कारण भेट हुन सकेनछ । उनका छोरा कमल कोइरालाले एक पत्रिकालाई बताएका छन् । मातृकाप्रसाद कोइरालाका छोरा कमल कोइराला नेपाल कम्युनिष्ट पार्टीमा आबद्ध थिए । उनी कम्युनिष्ट सरकारमा राजदूत पनि बने ।

मातृकाप्रसाद कोइराला र लायन्सको सम्बन्ध दीर्घकालसम्म स्मरणीय रहनेछ । नेपाली लायन्सले केही वर्षदेखि मातृकाप्रसाद कोइरालालाई सम्झदै आइरहेको छ ।
नेपालमा उनी दुई–दुई पटक देशका प्रधानमन्त्री, नेपाली कांग्रेसको प्रथम निर्वाचित पार्टी सभापति, अमेरिकाको राजदूत, संयुक्त राष्ट्र संघमा देशको प्रतिनिधि सदस्य तथा अन्य महत्वपूर्ण पदासीन भइसकेपछि पनि लायन्स क्लबको अध्यक्ष बन्न स्वीकार्नुले उनको व्यक्तित्वलाई एक पृथक् आयामबाट  पनि  विवेचना गर्न सकिन्छ  । उनका साहित्यिक कृतिहरू पनि कालजयी छन् ।

उनी अध्यक्ष बनेका कारण पञ्चायती व्यवस्थामा पनि देशमा क्लबहरूको विस्तारमा अप्ठ्यारो नभएको सत्य लुक्न सक्दैन । त्यसपछि पनि अन्तर्राष्ट्रिय संघ–संगठनको विस्तारमा तत्कालीन व्यवस्था वा दरबार नजिकका व्यक्तिसँग सम्पर्क भएर मात्र सक्रिय हुन सहज थियो । नेपाल लायन्सका प्रथम गभर्नर डा. अन्जनी कुमार शर्मा पनि दरबारसँग नजिक थिए । बहुदल प्राप्ति पश्चात वातावरण खुला भयो । नेपाल लायन्स अभियानको सुरुवातमा समाजका प्रतिष्ठित व्यक्तिहरू लायन्स सदस्य बनेको पाइन्छ । अहिले यो प्रतिष्ठा सुरक्षित गर्न चुनौती बनेको छ भन्दा कसैलाई आपत्ति नहोला ।

भैरहवामा डिष्ट्रिक ३२५ पी को वर्ष २४ –२५ को प्रथम क्याबिनेट बैठक हुँदैछ । लायन्स अभियानमा भैरहवाको महत्वपूर्ण भूमिका रहेको छ । पश्चिम नेपालमा पहिलो क्लब भैरहवामा खुलेको थियो  ।

पश्चिमको पहिलो क्लब लायन्स क्लब अफ भैरहवा लुम्बिनी

नेपालमा लायन्स स्थापनाको  पहिलो पाँच वर्षमा  सीमा नाका सहरहरूमा क्लबहरू खुलेका थिए । काठमाडौं छोडेर भारतीय सीमामा अवस्थित वीरगंज, राजविराज, भैरहवा  र विराटनगरमा मात्र क्लब खुले  । भैरहवाबाहेक यी सम्पूर्ण क्लबहरू भूगोलका हिसाबले नारायणीपारी पूर्वमा थिए । सम्भवत : भारतको विहारमा डिष्ट्रिक्ट भएको प्रभाव हुन सक्छ ।

तर, सन् डिसेम्बर १९७५ मा  पश्चिम क्षेत्रको पहिलो क्लब  भैरहवामा गठन भएको थियो । क्लबको नाम लायन्स क्लब अफ भैरहवा लुम्बिनी थियो । यसको संस्थापक अध्यक्ष विद्वान् साहित्यकार अधिवक्ता  डा.वामदेव जोशी  थिए  । उनको मातृकाप्रसाद कोइरालाको जस्तै अंग्रेजी भाषामा राम्रो दख्खल थियो ।

सन् १९८३ मा बुटवल लायन्स संस्थापक अध्यक्ष गणेशमान सैंजु (पिता अर्जुनमान सैंजु, ३२५ पी २०२३–०२४  (डिजी) सन् १९८४ मा  पाल्पा लायन्स (संस्थापक अध्यक्ष दशरथ मुनी शाक्य) र १९८६ मा भैरहवाको दोस्रो क्लब सिद्धार्थनगर लायन्स (संस्थापक अध्यक्ष विश्वनाथ अग्रवाल) खुल्यो । १९८६ मा लायन्स महाकाली पुग्यो र धनगढी टाउन लायन्स गठन भयो ।

hosp.jpg

सन् १९७५ डिसेम्बरमा स्थापित नारायणीवारीको पहिलो क्लब लुम्विनी भैरहवाको अध्यक्ष स्व. वामदेव जोशी, सचिव श्यामसुन्दर गुप्ता (पूर्वमन्त्री), कोषाध्यक्ष आदित्यनारायण कसौधन संविधानसभा सदस्य ) , प्रथम उपाध्यक्ष स्व. छत्रपति सिंह मल्ल (पूर्व जिल्ला सभापति), दोस्रो उपाध्यक्ष पुस्कर देव पन्त, तेस्रो उपाध्यक्ष सागर प्रताप राणा (पूर्व  सिद्धार्थनगर नगरपालिकाका मेयर), स्व. धनपति उपाध्याय (पूर्व  सांसद्)  टेमर, दुर्गा अमात्य  टेल ट्वीस्टर, सदस्य राधेश्याम गोयल, रामकृष्ण सरकार लगायतका व्यक्तिहरू क्लबमा थिए  ।

क्लबका कोषाध्यक्ष आदित्यनारायण कसौधन क्याबिनेट बैठकमा सहभागी हुन भारतको गया गएको बताउँछन् । त्यस्तै महाधिवेशनमा सहभागी हुन सागरप्रताप राणा र सचिव श्यामसुन्दर गुप्ता भारतको  मुजर्फरपुर  गएको  राणाले सुनाउँछन् ।

क्लबको बैठक नगरपालिकाको कार्यालयमा हुन्थ्यो । पहिलोपटक भैरहवा हाई स्कूलमा भेला भएर २०३२ साल मंसिर १८ गते (सन् १९७५, डिसेम्बर) लायन्स क्लब अफ लुम्बिनी भैरहवा स्थापना भएको तत्कालीन राष्ट्रिय दैनिक निष्पक्ष साप्ताहिक लगायत अन्य पत्रपत्रिकामा समाचार समेत प्रकाशन भएको थियो । यो क्लब नेपालमा छैठांै क्लब हो । यो इतिहास ओझेलमा पर्न हुँदैन ।

यो क्लब स्थापना हुनुमा मनवीर सिंह पन्थीको भूमिका थियो । उनी रिजन ६ अन्तर्गत जोन चेयरपर्सन थिए । भैरहवामा उनको सम्बन्ध थियो । ‘मनवीर सिंह साहित्य अनुरागी थिए, ’शिक्षाविद् स्वर्गीय बालकृष्ण भट्टराईले यस पंक्तिकारलाइ सुनाउनुभएको थियो ।

क्लबका कार्यक्रमहरूमा तत्कालीन अन्चालाधिश सिडिओहरूको उत्साहपूर्वक उपस्थित भइरहन्थ्यो । त्यी कार्यक्रमहरूमा बौद्धिक विषयहरूले स्थान पाउँथे । कार्यक्रममा आमन्त्रित अतिथि तत्कालीन क्याम्पस प्रमुख विद्वान भट्टराईले यस पंक्तिकारलाई सुनाउनुभएको थियो । यस क्षेत्रको लायन्स अभियानका चर्चा गर्दा यो क्लबको नाम कतै उल्लेख भएको पाइँदैन ।

लायन्सको एउटा पक्ष छ । शुल्क तिरेमा वा नविकरण भएमा मात्र सदस्य वा क्लब अस्तित्वमा रहन्छ । शुल्क नतिरेमा सदस्य वा क्लब अस्तित्वमा रहदैन  ित्यसैले लायन्सको सदस्यता लिदा वा क्लब खोल्दा आफ्नो आर्थिक पक्षलाई ध्यान दिनु जरुरी देखिन्छ । नेपालको लायन्समा जति सदस्य जोडिन्छन् औसतमा त्यति नै सदस्यहरु बाहिरिन्छन पनि ।

लायन्सका राम्रा पक्ष धेरै छन् । यसका अवसर पनि छन् । चुनौती पनि । लायन्सको आफ्नै संस्कृति छ । संस्कृतिसंगै विकृति हुनु स्वभाविक पनि हो । यसबारे आवश्यकता र समयअनुसार आगामी लेखमा चर्चा गर्नेछु । त्यसमा छलफल बहस गर्न सक्नेछौ ।

लिडर योग्य बन्न जरुरी छ । स्वयंमा क्षमताको विकास गर्न जरुरी छ । कुरा भन्दा व्यवहारमा असल संस्कार देखाउन जरुरी छ । तब मात्र पूर्वप्रधानमन्त्रीले स्थापना गरेको नेपाल लायन्सले उचाई पाउनेछ । ५३ औं स्थापना दिवसको अवसरमा शुभकामना ।

(लेखक लुम्बिनी प्रेस क्लबका सदस्य हुन् ।)