२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

डिजिटल बैंकिङ्ग सेवा विस्तार गर्दै साइन रेसुङ्गा बैंक

बुधवार , फाल्गुण १९, २०७७

बुटवल, १९ फागुन । 
बुटवलमा केन्द्रीय कार्यालय रहेको साइन रेसुङ्गा डेभलपेण्ट बैंक लिमिटेडले डिजिटल बैंकिङ्ग सेवा विस्तार अभियानलाई तीव्रता दिएको छ । बढ्दो प्रविधिको प्रयोगसँगै बैंकले डिजिटल बैंकिङ्ग सेवा बिस्तार गरेको हो । प्रविधिमैत्री बैंकिङ्ग सेवा विस्तार गर्ने उद्देश्यले बैंकहरुले क्यूआर कोडको माध्यमबाट डिजिटल भुक्तानी प्रणालीलाई अगाडी बढाएका हुन् ।

यसै क्रममा साइन रेसुङ्गा डेभलपेण्ट बैंकले आज रुपन्देहीको तिलोत्तमा नगरपालिकाको ड्राइभरटोलका हाटबजार व्यवसायी तथा अटो रिक्सा चालकहरुलाई डिजिटल बैंकिङ्ग सेवाका लागि क्युआर कोड वितरण गरेको छ ।

बैंकले मंगलबार ड्राइभरटोलमा एक कार्यक्रमकाबीच ५० हाटबजार व्यवसायी र ११ जना अटो रिक्सा चालकलाई क्यूआर कोड वितरण गरेको हो ।

क्यूआर कोड वितरण गर्दै बैंकका नायव प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङले विश्वमा बढ्दो प्रविधिको प्रयोगसँगै बैंकले राष्ट्र बैंकसँगको सहकार्यमा विद्युतीय भुक्तानी प्रणाली सेवा विस्तार गरेको बताउँदै यो सेवा अन्य सेवा भन्दा सूरक्षित रहेको बताए ।
एटीएम सेवा हुँदै विश्वमा मोवाइल बैंकिङ्ग सेवाको विकास भएको भन्दै उनले ढिलो चाडो सबै यो सेवा मा जोडिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बैंकका ड्राइभरटोल शाखा प्रबन्धक पवित्रा खनाल, हाटबजार व्यवसायी अर्जुन पाण्डे, रिक्सा व्यवसायी संघ शंकरनगरका अध्यक्ष रोमनाथ भण्डारी लगायतले डिजिटल भुक्तानी प्रणालीको उपयोगिता र महत्वबारे आ– आफ्नो भनाइ राखेका थिए ।

केही दिनअघि रुपन्देहीको भैरहवाबाट सुरु गरेको डिजिटल भुक्तानी प्रणाली अन्तर्गत मंगलबार मात्रै ६० बढी व्यवसायीलाई क्यूआर कोड वितरण गरिएको बैंकका वरिष्ठ प्रबन्धक लालमणी पन्थीले जानकारी दिए ।

बजार गर्न जाँदा अब पराम्परागत तरिकाले पैसा नै बोकेर हिड्नुपर्ने बाध्यता विस्तारै हट्दैछ । कुनै पनि बैंकमा खाता हुनेले डिजिटल माध्यमबाट नै भुक्तानी हुने गरी अहिले बजार क्षेत्रमा प्राय पसलमा क्यूआर कोड राखिएको छ । नगद नभएको अवस्थामा पनि मोबाइलकै माध्यमबाट सजिलै तिर्न मिलेपछि विस्तारै यो अभियान गाउँतिर पनि केन्द्रित हुँदैछ ।

भैरहवाका पसल मात्र होइन यँहाका ई–रिक्सा, अटो, भाडाका कारमा समेत अहिले डिजिटल भुक्तानी प्रभावकारी भएको छ । नगद नबोकेपछि चोरी हुने तथा हराउने समस्या हुन्न भने डिजिटल भुक्तानी गर्दा नगद भुक्तानीबाट हुने जोखिम पनि नरहेको सरोकारवालाको भनाइ छ ।

नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका सहायक निर्देशक रमेशकुमार न्यौपानेले डिजिटल भुक्तानी प्रणालीलाई गाउँगाउँसम्म पुर्याउन नेपाल राष्ट्र बैंकले अभियान थालेको बताए । उनले यो प्रविधि सुरक्षित, सजिलो र सर्वसाधारणको पहुँचसम्म पुर्याउन कम खर्चिलो भएकोले क्यूआर कोडबाट भुक्तानी गर्न सर्वसाधारण अभिप्रेरित गर्नुपर्ने उल्लेख गर्दै यसलाई अझ विश्वासिलो बनाउन बैंक तथा वित्तीय संस्थाको ठुलो भूमिका हुने बताए ।

यही प्रयास स्वरुप नै नेपाल राष्ट्र बैंकको सहकार्यमा भैरहवाका रिक्सा व्यवसायी र अन्तर्राष्ट्रिय उडान सञ्चालनको तयारीमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चल्ने भाडाका ट्याक्सीहरुमा पनि क्युआर कोडबाट भुक्तानी प्रणालीको सुरु भएको छ ।

सनराइज बैंक लिमिटेडद्धारा प्रदान गरिएको क्यूआर कोडको नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका निर्देशक सुदिप फुयालले सुरु गरेका हुन । निर्देशक फुयालले नेपालमा डिजिटल बैंकिंग प्रणालीको आवश्यकता बारे चर्चा गर्दै लुम्बिनी प्रदेशमा क्यूआर कोड विस्तार अभियानमा नेपाल राष्ट्र बैंक लागेकोले यसलाई सफल बनाउन सबैलाई आग्रह गरे ।

शुभारम्भ कार्यक्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख प्रवेश अधिकारी, सनराइज बैंक लुम्बिनी प्रदेश प्रबन्धक सुनिल मण्डल, नेपाल राष्ट्र बैक सिद्धार्थनगर कार्यालयका सहायक निर्देशक रमेशकुमार न्यौपाने लगायत ट्याक्सी व्यवसायीहरु र सनराइज बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो । त्यस्तै पाल्पा जिल्लामा पनि डिजिटल प्रविधिमार्फत बैंकिंङ्ग सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले क्युआर कोडको माध्यमबाट भुक्तानी प्रणालीलाई सुरुवात गरिएको छ । तानसेन नगरपालिकाका प्रमुख अशोक शाही र नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका सहायक निर्देशक रमेश कुमार न्यौपानेले पाल्पा जिल्ला भित्रका ढाका कपडा व्यवसायी, कृषक, कानुनीसेवा व्यवसायी, सहकारी संस्था, विद्यालय, मोटरसाइकल मर्मत पसल, होटल रेष्टुरेन्ट लगायत विविध क्षेत्रका व्यवसायीहरु गरी १ सय १८ जनालाई क्यूआर वितरण गरेका थिए ।

पाल्पामा नेपाल बैंक लिमिटेड पाल्पा शाखाले क्यूआर कोड प्रदान गरेको छ । तानसेन नगरपालिकाका प्रमुख अशोक शाहीले विज्ञान प्रविधिको विकास भएकासंगै बैकिंङ्ग प्रविधीलाई सबैले अवलम्वन गर्दै जानुपर्ने बताए । नेपाल बैंक लिमिटेड पाल्पा शाखाका शाखा प्रबन्धक सुरज घिमिरेको अध्यक्षता रहेको उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेड, लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख पासाङ् दोर्जी शेर्पा, मुख्य प्रबन्धक लेखनाथ भुसाल, उद्योग वाणिज्य संघ, पाल्पाका अध्यक्ष राजु महर्जन, पाल्पा व्यापार संघका सदस्य नारायण बस्याल लगायतले नगदरहित कारोबारमा जोड दिनुपर्ने बताए ।